Breaking News

किन ! कोरिन्छन बिभेदका रेखा कर्णाली माथि ।

सभामुख महोदय,                                                         

हेर्नुहोस, उसको अनुहारमा
अविश्रान्त बग्छ कर्णाली
हेर्नुहोस, उसको शरीरमा
मगमग बसाउंछ मार्सिको चामल
हेर्नुहोस, उसका निधारका रेखाहरु
हो,
तिनै निधारका धमिला धर्साहरु छिचोलेर
ताक्लाकोट जाने बाटो रेखाङ्कन गरिएको हो ।

उसले लगाएको टोपीको प्वालबाट
बाहिर निस्किएको ध्वासे टुपी
टुपी होइन सभामुख महोदय
त्यो, चन्दननाथको ध्वजा हो
त्यो, भैरवनाथको पताका हो ।

ऊ जन्मिदा
सल्ली पिरलको बिछ्यौना माथि
निगालोको दीयो सल्काएर हेरेकी थिइन
उसकी सुत्केरी आमाले
पहिलो पल्ट
त्यतिबेला पनि ऊ
यसरी नै चिच्याउथ्यो गोठको कुनामा ।

उसको आवाजले
पटक–पटक भनिरहेको छ
खै ! कहाँछन् ? डोरबहादुर बिष्ट
तिनैले हो चौधबिसमा
पहिलो पटक उज्यालो रोपेको
र सीप उमारेको ।

तपाई बुझ्नु हुन्छ कि बुझ्नु हुन्न्
उसको जिब्रोको भाषा र आँखाको लय
ऊ भन्छ
म नुन माग्छु
तिमी सुन लुकाउछौ
म “बजो“ भन्छु
तिमी बजेटको उच्चाट लाग्दो ब्याख्या गर्छौ
हो, त्यसैले
मत मिल्दैन उसको र तपाईंको ।

तपाई भव्य महलको
पर्फ्युम पसलबाट निस्किदा
ऊ सिउदै थियो भेडाको लुकाल
ऊ बोक्दै थियो बाख्राको मल
जुतो पखालिएको छैन अझै
उसको आङबाट
गन्हाउन सक्छ ऊ सदनमा
उसलाई छुट्टै ब्यबस्थाहोस् बस्नलाई
तपाईंको ग्यालरी बैठकमा ।

ऊ,
जहाँ छ त्यहीँबाटै
बोल्छ बिद्रोह
खोज्छ न्याय
प्रक्षेपण गर्छ वायुसरी
तपाईंको कुर्ची हल्लाउने
शब्दबाणहरु ।

उसले बन्दुक समायो हिजो
हामीले अर्कै सम्झ्यौ
उसलाई,
हत्यारा भन्यौं
आतंककारी भन्यौं
मुर्ख, महामुर्ख भन्यौं
स्वाठ, बज्रस्वाठ भन्यौं
के–के भन्यौं–भन्यौं त्यो बेला ।

उसको बिद्रोह
उसको चेतना
उसको उद्देश्य
उसले रोजेको पथ
उसले खोजेको सामाजिक समानता
बल्ल बुझ्दैछौ हामी ।

उसले,
कल्पबृक्ष ठानेको सपनाको युद्ध
बिषबृक्ष बनेर सल्बलाउन थाल्दा
तर्सिएको छ ऊर झस्किएको छ ऊ ।

पुग्नुपर्ने ठाउँ नपुगेपछि
गर्नुपर्ने काम नगरेपछि
हिनताबोध भएको छ उसलाई ।

सभामुख महोदय,
अब अन्त्यमा
उसले,
केही मागेकै होइन तपाईंसंग
आफ्नो मताधिकार खोजेको हो
जनाधिकार खोजेको हो
अलि अग्लो भयोहोला उसको आवाज
किन ! बग्दैन कर्णाली उभो
किन ! बगाउँदैन कर्णाली कहर
किन ! कोरिन्छन बिभेदका रेखा
कर्णाली माथि
किन ! रोपिन्छ जहरको बीउ
कर्णाली वरपर
मात्र जान्न चाहेको हो
मात्र जवाफ खोजेको हो ।

लेखक : मोतिराज बम