जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।
अदालतले यही मुद्दामा राजेशमानकी श्रीमती र वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई समेत पक्राउ पुर्जी जारी गरेको छ।
उनीहरूलाई ७ दिनभित्र पक्राउ गरी अदालतमा पेस गर्न भनिएको छ। सात दिनभित्र पक्राउ गर्न नसकेको खण्डमा ३५ दिने पक्राउ पुर्जी तामेली गर्न पनि अदालतले भनेको छ।
अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेर नागरिकता, राहदानी बनाई विदेश पठाएको आरोप राजेशमानमाथि लागेको छ। त्यही कसुरमा राजेशमान विरूद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुर, झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा मुद्दा चलिरहेको छ। त्यसमध्ये नागरिकता लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
उक्त मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना माग दाबी गरिएको छ।

