Breaking News

कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी

६ वैशाख, काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ ।

अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने अनलाइनखबरलाई बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन हुन्छ,’ उनले भने ।

मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो ।

निर्णय कार्यान्वयनका लागि ऐनमा संशोधन आवश्यक

हाल सरकारी कर्मचारीहरुले मासिक रुपमा तलबभत्ता पाउँदै आएका छन् । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ ।

तर अब १५ दिनमै तलबभत्ता खुवाउने निर्णय कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्नुपर्ने हुन्छ । ‘साविकको ऐनमा निजामती कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउनेछ भन्ने व्यवस्था छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘१५ दिनमा तलब/भत्ता खुवाउनुअघि त्यो व्यवस्था संशोधन गर्नुपर्छ ।’

वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ । त्यसमै १५-१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी छ ।

‘संघीय निजामती सेवा ऐन पास भएपछि जतिबेला पनि निर्णय कार्यान्वयन गर्नुपर्ने हुनसक्छ । त्यसको लागि आवश्यक तयारी गरेर बस भनेको हो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।