Breaking News

कांग्रेस पार्टीभित्र एकता, विश्वास र सहकार्य आवश्यकता – नेता नैनसिंह महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र एकता, विश्वास र सहकार्य आवश्यकता रहेको बताएका छन्।

फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ भन्दै महरले कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएकोले पार्टीभित्र बृहत एकताका साथ १५ औं महाधिवेशनमा होमिनुपर्ने बताएका हुन्।

‘कांग्रेस केवल चुनाव जित्ने संगठन होइन, यो लोकतन्त्र बचाउन हजारौं मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत हो। यस्तो पार्टी कमजोर हुनु भनेको लोकतान्त्रिक मूल्य कमजोर हुनु हो। त्यसैले आज हामी कसलाई हराउने भन्ने होइन, कसरी सबैलाई जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ,’ धनगढीमा आज आयोजित पार्टीको कार्यक्रममा उनले भने।

पार्टीभित्र देखिएको मतभेदलाई स्वाभाविक प्रक्रिया बताउँदै उनले असहमति हुन सक्ने तर मनभेद हुन नहुने बताएका छन्।

‘जहाँ विचार हुन्छ, त्यहाँ बहस हुन्छ। जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ फरक मत हुन्छ। तर विचार फरक हुँदैमा हृदय टाढिनु हुँदैन। कांग्रेसको सुन्दरता नै विविध विचारलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने क्षमता हो,’ उनले भने।

महरले सबै नेता कार्यकर्तालाई गुट, अहंकार र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनलाई बलियो बनाउन आग्रह गरेका थिए।