Breaking News

युद्ध अन्त्यका लागि वार्ता चलिरहँदा अमेरिकाले आक्रमण गरेको विषयमा इरान बोल्यो

एजेन्सी/ युद्ध अन्त्यका लागि वार्ता चलिरहँदा अमेरिकाले आक्रमण गरेको विषयमा इरान बोलेको छ।

इरानको विदेश मन्त्रालयले अमेरिकी हमलाबारे मंगलबार प्रतिक्रिया दिएको हो।

इरानले यो घटनाले करिब सात सातादेखि कायम युद्धविरामलाई थप जटिल बनाएको र युद्ध अन्त्यको प्रयासमा असर पुग्ने सक्ने बताएको छ।

अमेरिकाले आक्रमण गरेर उसले युद्धविरामको गम्भीर उल्लंघन गरेको पनि इरानको भनाइ छ।

इरानी विदेश मन्त्रालयका अनुसार मंगलबार दक्षिणी होर्मोजगान प्रान्तमा अमेरिकाले आक्रमण गरेको थियो।  बिहानै उक्त क्षेत्रमा विस्फोटका आवाज सुनिएका थिए। अमेरिकाले भने आफ्ना कारबाही रक्षात्मक प्रकृतिका रहेको दाबी गर्दै मिसाइल स्थल तथा समुद्रमा बारुद बिछ्याउन खोजेका डुंगालाई निशाना बनाइएको जनाएको छ।

अमेरिकाले इरानमा हमला गरेपछि इसराइलले पनि लेबननमा थप शक्तिका साथ मंगलबार आक्रमण गरेको थियो।

लेबनानमा १२० भन्दा बढी हवाई आक्रमण गरेको लेबनानी सुरक्षा स्रोतहरूले जनाएका छन्। पछिल्ला केही सातामै यो सबैभन्दा भारी बमबारीमध्ये एक मानिएको छ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

इरानले लेबननमाथिको इसराइली आक्रमण रोक्नु कुनै पनि सम्भावित सम्झौताको शर्त हुनुपर्ने अडान राख्दै आएको छ।

Ncell

अमेरिकाले हमला गरे पनि इरानले त्यसको जबाफी हमला भने गरेको छैन। यसअघि इरानले अमेरिकी हमला भए त्यसको कडा जबाफ दिने चेतावनी दिएको थियो।

इरानको इस्लामिक रिभोलुसनरी गार्डले अमेरिकी आक्रमणको प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ। उसले खाडी क्षेत्रमा इरानी हवाई क्षेत्रमा प्रवेश गरेका अमेरिकी ड्रोन र लडाकु विमानलाई निशाना बनाइएको दाबी पनि गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रूबिओले युद्ध अन्त्यसम्बन्धी सहमति हुन अझ केही दिन लाग्न सक्ने बताएका छन्। प्रारम्भिक सहमतिबारे प्रगति भएको संकेत दुवै पक्षले दिए पनि हर्मुज जलमार्ग हुँदै पुनः जहाज आवागमन सञ्चालन गर्न र दीर्घकालीन विवाद समाधान गर्न थप वार्ता आवश्यक रहेको उनले बताएका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार हाल कतारमा अप्रत्यक्ष वार्तामार्फत प्रारम्भिक समझदारीको प्रयास भइरहेको छ।

इरानले करिब २४ अर्ब अमेरिकी डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने माग अघि सारेको छ।

इरानको सरकारी समाचार संस्था आईएसएनएले कतारमा भएका वार्तालाई समग्रमा सकारात्मक भनेको छ।

अमेरिका र इरानबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र अब केबल अन्तिम रूप दिन बाँकी रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताएका थिए।

प्रारम्भिक सम्झौताका सर्तहरू अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भएका छैनन्। तर अमेरिकी अनलाइन एक्सियसले वार्तामा सहभागी एक अमेरिकी अधिकारीको हवाला दिँदै सहमति भइसकेका बुँदाहरू खुलाएको छ।

एक्सियसका अनुसार दुवै पक्षले ६० दिनका लागि एउटा समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। जसको अवधि आपसी सहमतिमा थप्न सकिनेछ।

६० दिनको अवधिमा स्ट्रेट अफ हर्मुज बिना कुनै शुल्क लिएर खुला रहनेछ र इरानले जहाजहरूलाई स्वतन्त्र रूपमा आवतजावत गर्न दिनका लागि त्यहाँ बिछ्याएका सामुद्रिक बमहरू हटाउन सहमत हुनेछ।

यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ र इरानलाई स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिन केही प्रतिबन्धहरूमा छुट दिनेछ। सो कदमले इरानको सहित विश्वकै अर्थतन्त्रका लागि ठूलो राहत हुनेछ।

इरानीहरूले जति चाँडो हर्मुजमा राखेको बम हटाउँछन् र जहाजहरूको आवतजावत सुरू गर्न दिन्छन्, त्यति नै चाँडो अमेरिकी नाकाबन्दी हटाइनेछ।

अमेरिकाले रोक्का गरिएका रकमहरू तुरून्तै फुकुवा र स्थायी रूपमा प्रतिबन्धहरूबाट मुक्ति पाइयोस् भन्ने इरानको चाहना छ। तर ट्रम्पको ‘कार्य सम्पादनका आधारमा राहत’ दिने सिद्धान्त अनुसार अमेरिकीले भने ठोस रूपमा कामहरू पूरा भएपछि मात्र त्यसो हुन सक्ने स्पष्ट पारेको छ।

अमेरिकी अधिकारीका अनुसार समझदारी पत्रको मस्यौदामा इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो युरेनियम प्रशोधन कार्यक्रम स्थगित गर्ने तथा अत्याधिक प्रशोधन गरिएको युरेनियमको भण्डार हटाउने विषयमा वार्ता गर्ने प्रतिबद्धताहरू समावेश छन्।

इरानले प्रशोधन कार्य स्थगित गर्ने र आणविक सामग्रीहरू त्याग्ने सन्दर्भमा आफू कतिसम्म लचिलो हुन तयार रहेको भन्नेबारे मध्यस्थकर्ताहरू मार्फत अमेरिकालाई मौखिक प्रतिबद्धता दिएको भनेर अरू दुई स्रोतको हवाला दिँदै एक्सियसले लेखेको छ।

अमेरिका ६० दिनको अवधिमा प्रतिबन्धहरू हटाउने र इरानको रोक्का गरिएको रकम फुकुवा गर्ने विषयमा वार्ता गर्न सहमत हुनेछ। तर ती कदमहरू प्रमाणित गर्न सकिने गरी अन्तिम सम्झौता लागू भएपछि मात्र कार्यान्वयनमा आउनेछन्।

हालैका महिनामा अमेरिकाले मध्यपूर्वमा परिचालन गरेका सैनिक र सैन्य उपकरणहरू ६० दिनको अवधिभर सोही क्षेत्रमा रहनेछन् र अन्तिम सम्झौता भएमा मात्र त्यहाँबाट फिर्ता हुनेछन्।

समझदारी पत्रको मस्यौदाले लेबननमा इसराइल र हिजबुल्लाहबीच भइरहेको युद्ध समाप्त हुने पनि स्पष्ट पारेको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार ट्रम्पसँगको फोन वार्तामा सो सर्तप्रति चिन्ता व्यक्त गरे पनि ट्रम्पले उनलाई मनाएका छन्।

हिजबुल्लाहले पुनः हतियार जम्मा गर्ने वा इसराइलमाथि आक्रमणका प्रयास गरेमा इसराइलले त्यसो हुन नदिन कदम चाल्न सक्ने एक्सियसले जनाएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)