राम्रो लाग्छ,
खुलेको निलो आकाश,
फुल्दै गरेका फुलहरु,
शून्य आकाशमा
रमाएर उडिरहेका पंछी,
पानी सँग जोडिएर मात्र
अस्तित्वमा रहेको शान्त तलाउ,
हिउँसँग प्रेमिल भएर बसेको
श्याम श्वेत हिमाल,
युद्ध मैदान मै भए पनि
एकपल आफ्नो प्रतीक्षामा
रहेकी जीवन संगिनी सम्झेर
मुस्कुराएको सिपाही,
यी यावतमा प्रेमका रंगहरु
कति राम्रा,
हेर्नेलाई सम्म मनमोहक
बनाउने ।।।
चारो बटुलेर फर्केकी चरा
भेट्दा भएको बचेराको खुशी,
लामो समय पछि
आफ्नो फुलेको कपाल!
चाउरी परेको गाला र लुकेका आँसु
लिएर दिन कटाइरहेको मायालु आमाले
चाडबाडमा छोरी भेट्दा
देखिएको मुस्कान,
बिदेशीएका सन्तान भौतिक
रुपमा देख्दाको
पल,
स्कुलबाट फर्किदा आफ्नो
आमाको काखमा लुट्पुटिएको
बालकको खुशी,
यस्ता प्रकृति पदत्त एबम् कुनै
सिमा रेखा बिनाका अलौकिक
प्रेमहरु साँच्चै कति राम्रा
लाग्छन ।।
आमाको मैलो नै भएपनी
त्यो प्रेमिल फरियाको सप्को,
वरिपरि आफ्नो प्रेमिल बाल्यकाल
बिताएको चेलिले,
समयको निर्वाध निर्मम चक्करमा
सृष्टि चलाउन भन्दै,
छुटिएर,
लुटिएर,
बिछोडको बिलाप सहेर,
कर्तव्य नामका अग्नि ज्वालामा
होमिएर,
रित्तिएर,
आफ्नो जीवनको प्रेमलाई
कुनै नयाँ आकृतिसँग
फुलाउन वर्सौं गरेका ती रक्तिम संघर्षरत
कदमबाट फर्केर
धेरै समय पछि
एक्दिन आफ्नो जन्मदाता जननिको
सामुमा पाइला राख्दा,
महसुस भएको खुशी!!
ठूलो दुर्घटनाबाट बचेर आउनु भएको
पितालाई देख्दा
सन्तानमा हुने आनन्दको पल,
ठूलो दुर्घटनाबाट बचेर महिनौ हस्पिटल
बसेपछी घर पुगेको जीवन साथी
भेट्दाको पल,
यी सबैमा अलौकिक प्रेम लुकेका छन,
र पनि यी सबै अत्यन्त छोटा
र अन्त्य निश्चित भएका गन्तव्य
भएकोले,
स्वयं प्रतिको आदर,
धर्ती प्रतिको सम्मान,
अन्य प्रतिको दया र
कर्मशिल बनी जिवनलाई
सुन्दर बनाइ बियोगान्त समयलाई झेल्न
तयार हुनु नै
वास्तविक प्रेम कौशलता हो,
तरपनी,
प्रेमिल समय साँच्चै नै
मन मोहक हुन्छन र
स्मृतिमा झनै सुन्दर हुन्छन ।।
सुशिला शर्मा “शिलु”