एक समय जब आउँछ,
डरलाग्दा ज्वारभाटा सहितको
विगतका चित्रहरु
लिएर,
यथार्थ सामु पछारी दिन्छ,
आफ्नो मन मुटु जोडिएको पात्रसँग
बिछोड गराई,
समयको निर्बाध
घनचक्करमा एक्कासी
बजारीदिन्छ,
विस्मयको पर्खाल भित्र,
बिना कसुरको कैदी बनाएर,
निमोठिन्छ,
स्वतन्त्र अस्तित्व,
पछारिन्छ स्वाभिमान,
बडारिन्छ सपना,
ढलाइदिन्छ आत्म गौरब,
उजाडिन्छ ममताका
सम्पुर्ण द्वारहरु,
र संदेश दिइन्छ
बन्दी बनाएर भोकाएका
पेटलाई,
घात पश्चात् भाव शून्य बनाइएका
मस्तिष्कलाई,
मनोमानी कु -कृत्यलाई
सेवा र कर्तव्यको नामबाट
हरेक साँझ
युद्धको विश्राम झैँ
कुन्ठित कैद बाहिरका प्राणिहरु
मार्फत प्रहार हुन्छन,
अनायासै दुष्ट आबेग र मनको द्वन्द्व शान्त पार्न
ताल्चा तोडेर आइरहेका छन,
यो निरीह कैदिलाई लाठी चार्ज गर्न,
कुटिल र तिक्त वाणी सहित,
कुनै आफ्नोको निसानी
नभएको आफ्नो बनेर,
द्वेषको दुर्गन्धित ज्वाला फ्याकिरहेछन,
उनिहरुलाई,
त्रास छ भोलि यो
कैद बाहिर पुगेर
आफ्नो भन्दा स्वच्छ आकाश नदेखोस,
शान्त प्रकृति नभेटोस,
शान्त तलाउ नहेरोस,
फेरि हेर्न पायो भने भुल्नेछ हामिलाई
र बिर्सनेछ,
दासत्वको कर्तव्यलाई,
त्यहाँ पक्कै पनि सुन्दर हुनेछन
हाम्रा आलिसान जेलका छत
भन्दा निला स्वतन्त्र आकाशहरु,
त्यहाँ पक्कै पनि मिठा हुनेछन
स्व-श्रमले आर्जेका भोजन,
हामिले कैद भित्र राखेर
ईष्र्या ओकलेर दिएका
परीकार भन्दा,
त्यहाँ पक्कै मीठो हुनेछ निद्रा,
मेहनतको आकाश अनि
पसिनाले भिजेको धर्तीको
ओछ्यानमा,
शक्तिशाली शाषकले
जेल भित्र दिएको तातो
सिरक र डस्ना भन्दा,
त्यहाँ पक्कै पाइनेछ,
प्रेमको भाषा,
जहाँ यो चिनिएको
र क्रुर अनुहार भन्दा
नव आगन्तुक वा
पुर्ण अन्जान पात्रहरु,
गुरुवर वा
पथप्रदर्शक बनेर उदाउनेछन
जिवनमा र
दिनेछन ,
जिवन्त ज्ञान जगतको
निस्वार्थ अनि
प्रेमिल मनका भाव सहितबाट !!
पक्कै पनि यसका निमित्त
बसन्तले धेरै पटक पालुवा
फेर्न पर्नेछ,
कोमल हृदयलाई समयले बनाएको
बन्धन तोडेर
बाहिर निस्कन !!
चाहे धर्ती भित्र होस,
चाहे बाहिर होस,
वा अनन्त आकाशमा
आफ्नो भौतिक शरीरको समाप्ती भएर होस,
सुविधाजनक नै
भएपनी दुष्ट नजरले
भरीएका जेलहरु कोमल
हृदयका लागि स्विकार्य हुदैनन् ।।

