मानिस,
अर्को मानिस्लाई वेवास्ताले कुल्चिएर ,
अरु भन्दा अलग हुन चाहन्छ,
अरुलाई नै टेकेर अरुभन्दा अग्लो हुन
रुचाउँछ,
अरुलाई रुवाएर अरु भन्दा खुशी
देखिन चाहन्छ,
अरुलाई होच्याएर अरु भन्दा
विशाल हुन चाहन्छ,
केबल एक मुठी सासका निमित्त ।।
मानिस,
जब नजर संकुचन गर्छ,
आफ्नै दैलो सम्म हिंडेर भिक्षा लिन आउनेलाई
माग्ने ठान्छ,
दैलो भित्रै पसेर सेवा गर्नेलाई
आफ्नो अनवरत सेवा प्रदाएक सम्झिन्छ,
आफ्नो बाँझो बारीमा,
खन्न लगाएर उठेका ठेलाहरु
लुकाएर खाएको अन्न उस्को विराट देन
सम्झिन्छ,
एकै छिनको जिवनको उतार चढावलाई
उस्को अजम्बरी बिरासत सम्झिन्छ,
केबल एक मुठी सासका निमित्त ।।
मानिस,
असफलताको बहुमत जम्मा गरेर,
सफल योद्धाको संघर्षरत पदचापको
खिल्ली उडाउँछ,
भोको पेटको आगो र रित्तो पैतालामा
रोपिएका काँडाहरु तिम्रै सपनाका
फल हुन भनी उपदेश दिन जुर्मुराउँछ,
तर एकै पल आत्मियता दर्साउन मन सधैं
अमिलो बनाउँछ ,
आफ्नो खुशीमा संसार नाचेको हेर्न चाहने
मानिस अर्काको खुशीमा दिन दहाडै
लुप्त भैदिन्छ,
फेरि आफ्ना लागि हजारौं पुकार गर्छ,
केबल एक मुठी सासका निमित्त ।।
मानिस,
अर्काको पद, पदवि र पैसा सँधै
आकाश वर्साबाट प्राप्त भन्ठान्छ,
कित गलत कार्यको नतिजा सोच्दछ,
आफ्नो र आफ्नाको रवैयालाई
संसारकै विशिष्ट कर्म सोच्दछ,
मानिस,
उपदेशमा सधै अब्बल छ,
सेवा गर्ने बेला दुर्लभ छ,
घाउको पिडाले कहिँ भेदभाव
गरेको छ कि भनेर भन्न समेत
न त कहिले हिच्किचाउँछ।।
फाइदा हुँदा श्मशान घाटबाट
समेत दौडेर आउँछ,
अरुको रित्तो छत चुहिँदा,
रातमा पर्दा खोली चिहाउँछ,
अरुको घरमा कोलाहल हुँदा
शान्त मानेर अवलोकन गर्न
मन पराउँछ,
पिडाले आक्रन्त भै गुहार माग्दा
जीवन दर्शन सिकाई अझै वर्सौ कुर्न
सिकाउँछ,
तब,
आफुलाई पीडा हुने छाँट मात्र पायो भने
हजारौं दुख दर्साउँछ,
अरुका,
घरका बृद्ध पात्र देखाई गिज्याउँछ,
बिरामी देखाइ पुर्व जन्मको फल
भन्न भ्याउँछ,
अपांग बालक देखाई
पाठेघरलाई दोष लगाउन भ्याउँछ
तर
जब आउँछ, उस्को धरोहर हल्लिने पालो
हालखबर सोध्न पुग्दा,
मुखबाट नै काँडेतारको घेरो लगाउँछ!!
केबल एक मुठ्ठी सासका निमित्त,
मानिस जीवन पर्यन्त माखे जालो
अरुकै लागि बुन्छ र अन्त्यमा स्वयं
अल्झिएर सास निभाउँछ ।।