अन्तर्राष्ट्रिय नारी दिवस।।
बेवारिसे
बनेकी पिपलको रुख !!
यदा कदा सोध्थ्यो बरु,
छेउमा उभिएको
बरको रुखले,
मेरो हृदयमा लागेको चोटले
भरीएको आँखा देखेर,
कहाँ दुख्यो
के भयो,
किन छौ निराश,
अन्य वर नहुने जति पिपललाई बटुवाले सोध्थे,
जो एक्छिनको थकाई
मार्न आएका हुन्थे।
तर,
अपशोच, त्यही आफ्नै आकृतिका
कतिपयले किन हरदम
बढार्न खोजिरहे,
मेरो अस्तित्व ।।
कुनै अर्को ठाउँमा फलेको मेरो बिजलाई
यति नौलो ठाउँमा ल्याएर
सारीएको छ,
देख्न समेत पाउँदिन
आफू उम्रीएको आकाश,
छुन पाउँदिन
पैदा भएको धर्ती,
हरबखतको श्रमिक एबम् सेवादाता
बनेर यो परीबेश सजाइ रहँदा पनि
मेरो जरा काण्ड पात केही न केहीमा
दोष लागिरह्यो,
बेवारिसे हुनुको कारण
मेरो कोहि मेरो रहेन ।।
तर, अब विश्मय रहेन मलाई
आफ्नो अस्तित्व प्रती,
र हृदयबाट नै धन्यवाद दिन्छु इश्वरलाई
किनकी,
हरदम आफ्नो बल, तागत, दम्भको
बज्र प्रहार गर्नेहरु आज आफ्नो कर्मको
नतिजाबाट आकुलव्याकुल परेको
खबर आइरहेको छ,
मेरो चौतारो वरिपरि कानेखुसी
गरेको सुनिन्छ,
दिन दिनै शितल छहारीको खोजी
मा मेरो उपेक्षा गर्नेहरु,
मलाई खोज्दै आइरहेका छन्,
कमसे कम म ती हृदयका आँखा नभएका
निर्दोष र निरिहरुलाई न्याय गर्नसकु,
आफ्नो शितलता प्रदान गरेर ।।
चौतारी तर्फ लम्किरहेछन,
दन्केको मुटुको
राप शान्त पार्न,
म भने काटिएको हाँगोलाई
छोप्न खोज्दैछु,
सरर हावा चलाएर,
पातहरुको हल्लिखल्ली छ,
हिजो हामिलाई
काटेर आगो बाल्नेहरु त
यहीँ आउन खोजेछन,
तिनमा अति न्यून पुरुष वर्ग
थियो त ज्यादा स्त्री आकृति नै थिए,
जसले आफैले भोगेका रंग रंगका
विभेद, अपमानका ज्वाला म माथी
पोखेर आफुलाई शान्त
पारेका थिए,
जसले आफ्नै सन्तानलाई कल्पना गर्न
नसक्ने तिता रापले विभेद र कपटपूर्ण
अग्नि ज्वाला
दन्काएर मेरो हाँगाहरु आफ्नै
अगेनोमा बालेर न्यानोपन लिएका थिए !!
आज तिनैलाई मेरो वृक्षबाट बहने
शितल पवन अनि
छाँयाको साथ चाहिएको
खबर फैलिएको छ।।
सुशिला शर्मा “शिलु”