मलाई मेरै अर्गानिक खुशी नै काफी छ

जीवन भोगाईको क्रममा उकाली, ओराली, सुख, दुःख, मिलन, बिछोड भन्ने कुरा एक चक्र
रहेछ । जुन आफ्नै गतिमा नियमित चलिरहन्छ । हो म पनि त्यसै चक्रमा रहेर जिउने एक यात्री भएको नाताले १६ वर्ष कटे पछि बुवा र मम्मीको सपना पुरा गर्ने उद्देश्य लिएर मनमा उत्साह र उमङ्ग बोकेर तराई झरेको थिए ।

त्यति बेला देशमा १० वर्षे लामो जनयुद्ध चलेको हुनाले पढाईमा राम्रो सँग ध्यान दिएर लाग्ने वातावरण पनि थिएन । घर–परिवार र अभिभावक देखि टाढा भए पश्चात् सहि बाटोमा हिड्नको लागि सल्लाह, सुझाब र आर्शिवाद लिनको लागि पनि वर्ष दिनमा आउने दशै र तिहार नै कुर्नु पर्ने अवस्था थियो । अन्य संचारका साधानहरु केहि नभएको कारण बिचमा कहिले काहिं चिठीपत्र मार्फत सुचना आदान–प्रदान हुने गर्थो । आनन्द त्यति बेलानै थियो, जति बेला बुवा र मम्मीले कमाएको सम्पति माथि खेलिन्थ्यो । समय बित्दै जाँदा आफुमा जिम्मेवारी पनि थपिदै गयो । यसै बिचमा मेरो निजि जीवनमा पनि केहि उतार–चडावहरु आए । उतार– चडाव र समस्या नभएको व्यक्ति सायदै संसारमा कोहि छैन् होला । मैले  सोचेको पनि थिएन कि अहिले आएर यसरी जीवनयापन गर्न सक्छु भनेर । जीवनदेखि हार खाएकाहरु लाई मेरो एउटै अनुरोध छ । जीवनमा केवल मृत्यु बाहेक अन्य सबैको विकल्प छ ।

सकारात्मक सोच राखेर मनले चाहने हो भने जस्तो सुकै समस्या र संकटको पनि समाधान गरेर अघि बढ्न
सकिन्छ । यसले तपाई लगायत तपाईको भलो चिताउने हरकोहिलाई खुशी बनाउछ । एक बारको जुनिमा गलत निर्णय लिने कोशिस कहिल्यै पनि नगर्नु होला । आफुलाई सम्हालेर धैर्यता गर्ने आँट गरेर अघि बढ्ने कोशिस गर्नु भयो भने बल्ल थाहाँ हुनेछ जीवनको मुल्य कति रहेछ भनेर । त्यस पछि बाँकी जीवनमा तपाईले धेरै प्रगति र उन्नती गर्नसक्नु हुनेछ । किनकी औसत व्यक्तिहरुसँग खुशी भएर जिउन सक्ने क्षमता मात्र हुन्छ भने तपाईसँग जियर पनि खुशी हुन सक्ने क्षमताको विकास भई सकेको हुन्छ । यो मेरो नितान्त व्यक्तिगत तितो पछिको मिठो यर्थात परक अनुभव हो ।

हिजो आज बिस्तारै दिन प्रतिदिन मानिसहरुमा मानवता भन्ने कुरा हराउदै गएको पाईन्छ । व्यक्तिको मनमा स्वार्थी पन हावी हुदै जानु नै यसको एउटै प्रमुख कारण हो । जबसम्म सबै जनाको मन मस्तिष्कमा मेरो भन्ने शब्द बिर्सेर हाम्रो भन्ने शब्द सोच्न सक्ने स्मरण शक्तिको विकास गर्न सकिदैन तब सम्म यस्तो अवस्था रहीरहन्छ ।

खुशी हुनको लागि कमाउने सम्पति भन्दा, खुशी भएर कमाएको सम्पतिले जहिले पनि जो कोहिलाई आत्मा सन्तुष्टि
दिन्छ । आफ्नो र परिवारको जीवन निर्वाहको लागि गर्ने गरेको कामले आत्मा सन्तुष्टि दिएको छकी छैन् भन्ने कुरा साँझ खाना खाएर ओछयानमा पल्टे पश्चात् आफुले दिनभरी गरेको कामको स्मरण गर्नुहोस ।

राम्रोसँग निन्द्रा लाग्छ कि भित्र–भित्रै छटपटि हुन्छ ? मलाई त राम्रो सँग निन्द्रा लाग्छ । म मेरो नियमित गर्ने काम देखि पुरै सन्तुष्ट छु । मैले सधै मेरो व्यक्तिगत र व्यावसायिक जीवनमा जोडिएका सबै मान्छेको खुशीको लागि चिन्तन मनन् गरेर काम गर्छु । म गर्भ पनि गर्छु किन कि मैले मेरो बुद्धि, बिवेक र क्षमताले भ्याएसम्मको परिश्रम गरेर आफ्नै पसिनाको फल खान पाएकोमा । आफुसँग सबै थोक हुदाँ हुँदै पनि अरुको पसिना र रगत चुसेर जीवन निर्बाह गर्नेहरु जस्तो आयात गरिएको खुशी संगालेर बाँचेको छैन् । आफ्नै अर्गानिक खुसी संगालेर जीवन निर्बाह गरेको
छु ।

आगामी दिनहरु पनि यसरी नै बिताउने सोच र लक्ष्यका साथ निरन्तर यात्रामा छु । मान्छेको जीवनमा सास ठुलो कि आस ठुलो भन्ने कुरा थाहाँ पाउन धेरै टाढा जानु पर्दैन । यहि नेपालको नारायणहिटी संग्रहालयको भित्री अवलोकन पश्चात् बाहिर निस्केर जब तपाई दरबार हत्या काण्ड भएको ठाँऊ हेर्न त्रिभुवन सदन तिर प्रस्तान गरेर भित्तामा गोलिका दागहरु देख्नु हुनेछ । त्यति बेला थाहाँ हुनेछ तपाईलाई जीवनमा सबै भन्दा ठुलो चिज के हो भनेर त्यसपछि एकै छिन भए पनि तपाईको मानसपटलमा के–कसरी हुन्छ बढी भन्दा बढी धन, सम्पति, पद र प्रतिष्ठा कमाउने सोच र बिचारले बिश्राम लिने छ । अनि मनमनै आफैलाई प्रश्न गर्न थाल्नु हुने छ ।

मैले जीवनमा आजको दिनसम्म आईपुग्दाँ धन, सम्पति, पद र प्रतिष्ठा कमाउने नाममा बिगतमा जे–जसो गरेको थिए । त्यो गलत थियो वा सहि थियो ? मेरो लागि मात्र थियो वा हाम्रा लागि थियो ? जस्ता प्रश्नहरु मनमा खेलि रहदाँ बिश्राम लिएको मस्तिष्कमा एउटै कुरा उब्जेको हुनेछ । हिजो आमाको कोखबाट धर्तिमा आउने बेला नाम बिना आएको थिए र भोलि जीवनभर कमाएका सबै थोक यहि पृथ्वीमा छोडेर नाम मात्र साथमा लिएर धर्तिबाट बिदा हुनुपर्ने रहेछ ।

वास्तवमा हुने पनि यहि हो । हामी सबैको मनमा यहि सोच र यहि बिचार सधै रहिरहने हो भने हिजोको दिनमा जे–जसो भएता पनि आज र भोलिका दिनहरुमा एउटाले बगाएका आशुका भेलहरुले अर्काको ओठमा खुशीको बाढी आएको हेर्न र सुन्न पर्ने थिएन । त्यसैले आजैदेखि सबैले मनन् गरौं । जिवन एक छिनको पाहुना हो । यसलाई सही दिशा निर्देश दिएर मानवरुपी जिवन यापन गर्नु नै सबैको हितमा सर्मपित रहनेछ ।