पार्टीको एउटा अध्यक्षको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुनुहुन्न

अध्यक्ष , प्रचण्ड

२७ असार, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक विवादमा समझदारीको संकेत देखिएको बताएका छन् ।

आज शनिबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु सचेत रहेको बताएका छन् ।

तत्कालीन एमाले र माओवादीलेले पार्टी एकता गर्ने संकल्पका साथ साझा घोषणापत्र र उम्मेदवारका साथ जनतामा गएको र जनताले असाधारण विश्वास गरेर झण्डै दुई तिहाई मत दिएको भन्दै उनले यसलाई कसैले कमजोर पार्न नहुने बताए । उनले भने, ‘पार्टीको एउटा अध्यक्षको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धर्यतापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।

पछिल्लो समय नेकपामा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ खनालसहित स्थायी कमिटीका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पद छाड्न दबाब दिएका थिए । तर ओलीले दुबै पद नछाड्ने अडान लिएपछि नेकपा फुटको संघारमा पुगेको स्वमंय नेकपा नेताहरूले बताएका थिए ।

त्यसतर्फ संकेत गर्दै प्रचण्डले भनेका छन्, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’

साथै पार्टीमा देखिएको संकट हल गर्न सहज पनि नभएको उनले बताए । यद्यपि पछिल्ला छलफलहरूले कुनै न कुनै समझदारी वा सहमति हुने संकेत मिलेको भन्दै उनले भने, ‘जतिसुकै अप्ठ्यारो भएपनि समाधान निस्किन्छ भन्ने विश्वास लिएको छु । अर्को अध्यक्षसँग भएको वार्ताको संकेत पनि हल गर्नुपर्छ भन्नेतिरै छ ।’

सडक आन्दोलन तथा पार्टी कार्यालयमा भइरहेको धर्नातिर संकेत गर्दै उनले हतार गरेर कुनै खालको गतिविधि जरुरी नरहेको बताएका छन् । हतारमा निर्णय गरे फुर्सदमा पछाउनुपर्ने भन्दै उनले कार्यकर्तालाई भनेका छन्, ‘पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन्नुस् । पार्टीको कार्यदिशा र विधानको पक्षमा उभिनुस् ।’