सत्ता साँझेदारी सवालमा देउवा–नेम्वाङ भेटवार्ता

२१ असार, काठमाण्डौ । सत्तारुढ नेकपा भित्र विवादले चर्को रुप लिन थाले पछि पार्टी नै फुट्ने संघारमा रहेको छ । जारी पार्टीको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताहरुले नै राजीनामा मागेको भोलिपल्ट प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुटुक्क भेटेका छन् ।

असार १७ गते राति भएको त्यो गोप्य भेटको तरंग कम भएको थिएन, प्रधानमन्त्री ओलीको दूतका रुपमा संसदीय दलका उपनेता सुवास नेम्वाङ आइतबार देउवा निवास बूढानीलकण्ठ पुगे ।

यो भेटपछि ‘सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग’, ‘कांग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव’ जस्ता शीर्षकमा समाचारहरु छाउन थालेका छन् ।

साँच्चै ओलीले देउवासँग सत्ता सहकार्यको प्रस्ताव राखेका हुन् त ? कांग्रेस नेताहरुका अनुसार नेकपामा चलिरहेको ‘प्रोप्रोगाण्डा’को अर्को एउटा अध्याय मात्र हो ।

नेताहरुका अनुसार नेकपाको शक्ति संघर्षमा रहेका ओली र प्रचण्ड–माधव नेपाल दुबै समूहले कांग्रेसलाई आफू नजिक भएको सन्देश दिन खोज्नु स्वभाविक हो । किनकि भोलि साच्चिँकै नेकपामा फुट आएको अवस्थामा कांग्रेससँग मिलेर सरकार बनाउने चाँजोपाँचो मिलाएको सन्देश दिनसक्दा अर्को पक्षलाई दबाब पर्छ ।

त्यही उद्देश्यले ओलीले देउवालाई भेटेका थिए । उनले चाहेजस्तै प्रचण्ड–माधव नेपाल समूहमा देउवाले ओलीलाई साथ दिन खोजेकै हुन् त भन्ने त्रास कायम भएको देखिन्छ ।

स्रोतका अनुसार प्रचण्ड माधव समूहका एक नेताले कांग्रेसका एक नेतालाई बोलाएर ओली–देउवा भेटबारे सोधेका थिए । जतिबेला प्रचण्ड ओलीसँग भेटवार्ता गरिरहेका थिए, अर्का एक नेताले कांग्रेस नेतासँग कुराकानी गरिरहेका थिए । र, उनको मुख्य चासो ओलीले देउवासँग सहयोग मागे नमागेको थियो ।

यो भेटमा प्रधानमन्त्रीतिर अर्को त्रास सिर्जना गरेको छ, कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दैछ । त्यही कारण प्रधानमन्त्री ओलीका विशेष दूत बनेर आइतबार नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देउवालाई भेटेका छन् ।

के भयो कुराकानी ?

केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति देउवाले गरेको ब्रिफिङ अनुसार आइतबार नेम्बाङसँग भएको भेटको चाँजोपाँचो डा. मिनेन्द्र रिजालमार्फत मिलाइएको थियो । त्यसैले भेटमा रिजाल पनि सहभागी
थिए । नेम्वाङ १० बजेतिर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

स्रोतका अनुसार ‘एमसीसी पास गर्न विशेष अधिवेशन बोलाउन लाग्नु भएको हो ? भन्ने चासोसहित नेम्वाङ, देउवालाई भेट्न पुगेका थिए ।

कांग्रेस नेताहरुका अनुसार नेम्वाङको संकेत भने प्रचण्ड–माधव समूहसँग मिलेन कांग्रेसले प्रतितिधिसभाको विशेष अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको अशांकातिर थियो ।

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा भावि प्रधानमन्त्रीको नाम पनि प्रस्ताव गर्नुपर्छ । ओली समूहले आशंका गरे जस्तो अविश्वासको प्रस्ताव दर्ता गर्दै कांग्रेसले विशेष अधिवेशन माग गरेमा सत्तारुढ नेकपाका अमुक नेतालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्न मिलेन ।

त्यसैले एमसीसीबारे छलफल गर्न भनेर विशेष अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने ओली पक्षको आशंका थियो ।

भेटमा कांग्रेस सभापति देउवाले ‘कांग्रेस कसैको पक्ष विपक्षमा छैन, तपाईँहरुको कुरा चाँडै मिलाउनुस् है चाँडै’ भनेको उनी निकट स्रोतले बताएको छ ।

कुराकानीको सुरुमा नै देउवाले हतार–हतार संघीय संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका थिए । १७ गते भएको भेटमा प्रतिनिधिसभा बैठक बोलाएर एमसीसीलाई एजेण्डामा राख्न माग गरौं भन्ने र भोलिपल्ट हतारहतार संघीय संसदको धिवेशन अन्त्य गरेर आफूलाई ओलीले ढाँटेको उनले बताए ।

देउवाले यसो भनिरहँदा नेकपा संसदीय दलका उपनेता नेम्वाङ केही बोलेनन्, हाँसेर टारिदिए ।

नेम्वाङले भने संवैधानिक अंगहरुको नियुक्तिका विषयमा प्रधानमन्त्रीले तपाईलाई भेट्नुस् भनेकाले आएको बताए । जवाफमा देउवा केही पहिले अध्यादेश ल्याएर आफूलाई बाइपास गर्न खोजेको होइन भन्दै कड्किएको स्रोतको दाबी छ । यद्यपि संवैधानिक परिषद्को बैठक बसेर जान सकिने उनले बताए ।

तर देउवा र नेम्वाङबीच भएको यो भेटलाई बाहिर भने सत्ता सहकार्यको प्रस्तावका रुपम प्रचार भएको छ । ‘प्रधानमन्त्रीले देउवालाई गृह र अर्थ मन्त्रालयको प्रस्ताव गरेको खबरहरू सार्वजनिक गरिएको छ । यसबारे प्रश्न गर्दा भेटमा सहभागी नेता मिनेन्द्र रिजाल भन्छन्, ‘पार्टीको आन्तरिक विवादमा एउटा पक्षले अर्को पक्षलाई दबाव दिन कांग्रेस आफूसँग नजिक भएको देखाउन यस्तो प्रचार गरेको हुन सक्छ ।
समाचार अनलाईखबरबाट