भक्तपुर, १७ पुस। चाँगुनारायण नगरपालिकाले गर्ने वागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगितामा ऐतिहासिक सहभागिता भएको छ। सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा गर्ने उक्त प्रतियोगितामा ऐतिहासिक सहभागिता भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले उक्त प्रतियोगितामा ५३ वटा टाेलीकाे सहभागिता सुनिश्चित भएको बताए । उनले भने, नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली फाँटमा गर्ने प्रतियोगितामा हालसम्मकै ऐतिहासिक सहभागिता हुने भएकाे छ ।` हाम्रो जानकारीमा आए अनुसार हालसम्मकै उच्च उपस्थिति भएको छ । अन्यत्र गरिएको प्रतियोगितामा ५० बढी समूहको सहभागिता थिएन´, उनले भने ।
चाँगुनारायण नगरपालिकामा रहेका मूर्त- अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धनमा सहयाेग पुर्याउन तथा नगरपालिकाले आगामी २०८२ मा गर्न लागेको नगरकाेट भ्रमण वर्षलाई वडा तहसम्म पुर्याउनका लागि वडा नं . ९ मा धिमय् बाजा प्रतियोगिता गर्न लागेकाे उनको भनाइ छ ।
साे प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका विभिन्न पालिकामा रहेका समूहहरूले सहभागिता जनाउने पालिकाले जनाएकाे छ । नगरकाेट भ्रमण वर्षको पूर्वसन्ध्यामा हुने याे प्रतियोगिताले नगरकाेट भ्रमणकाे प्रचारप्रसार गर्न पनि सहयोग पुग्ने अपेक्षाका साथ सम्पन्न हुने साे प्रतियोगितामा विजेता टाेलीलाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई रु. २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीयलाई रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सान्त्वनालाई रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमय् बाजा १ थान, उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्मका लागि भुछ्या १-१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएकाे नगरपालिकाले जनाएको छ ।
`हामीले पुरस्कार पनि ऐतिहासिक रूपले प्रदान गर्ने तयारी गरेका छाैं । प्रतियोगिताले धिमय् बाजाकाे प्रवर्द्धनका साथै चाँगुनारायणमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्नेछ´, नगरप्रमसख खत्रीले भने । नगर प्रमुख खत्रीले प्रतियोगिताकाे तयारी व्यापक तवरले भइरहेको समेत जानकारी दिए ।
प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आर्कषकको रुपमा रहने आयाेजकले जनाएको छ । चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जनक खत्रीले धिमय् बाजा प्रतियोगिताले समग्र नगरपालिकाकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।