म सानो हुँदा देखेको तिम्रो आकृती,
आज सम्म देख्छु उस्तै ,
तर तिमीबाट टाढा भएपछी,
मेरो आकृती फेरीयो,
मस्तिष्कको भाव फेरीयो,
दुख र सुखबाट मिलेका
प्रहरहरुबाट सोच फेरीयो तर
तिम्रो आभा कहिले फेरिएन ।।
मलाई लाग्थ्यो,
हिमाल ठूलो कि मान्छे,
अनि मनले भन्थ्यो,
म जता पनि कुद्न सक्छु,
छुन, हेर्न अनि सास फेर्न सक्छु
त्यसैले मानिस हिमाल भन्दा
धेरै ठुलो रहेछ जस्तो लागिरहन्थ्यो !!
तर आज वर्सौं पछिको तिम्रो
आकृतिले मलाई अर्कै सोच दिई
राखेको छ,
मानिस जन्मे देखि हिमालकै
अघिल्तिर बाट,
हुर्कन्छ पाइला टेक्छ,
दौडिरहन्छ,
खेल्छ, नाच्छ,
रुन्छ, हाँस्छ ।।
तर हिमाल अटल छ,
निर्जीव भएर पनि
सजिव सौन्दर्यको रंग देखाईरहन्छ ।।
तर,
आज सबै जिवितहरु पनि
हिमालको अगाडी निरीह छन,
किनकी,
श्याम श्वेत हिमालको
आवरण झैं यो
निश्चल र अटल छ !!
हिमाल कै अघिल्तिर जन्मेर
उसैको छाँयामा बढेर
संसार आफ्नो हो भन्ने
भ्रममा रहेर सारा कर्म गरि
एक्दिन उसकै अगाडी
माटो बनिदिन्छन,
हरेक प्राणिहरु, एबम् सम्पुर्ण
जिवित अस्तित्व सबै ।।
प्रीय हिमाल,
जलवायु परीवर्तनले आफ्नो
हिम च्यादर हटेर आफ्नो शरीर
उदाँगो हुँदा पनि,
मानवीय मर्म र अस्तित्वहरु
पृथ्वीबाट लोप हुन लाग्दा पनि
तिमी उहीँ र उसैगरी अटल अनि
दिब्य स्वरुपमा बिराजमान छौ,
समस्त प्राणी लोकलाई
धैर्य, त्याग, तपस्या र सद्कर्मको
बिगुल फुकि संसारभरी
नेपाली समेतको पहिचान दिएर
उभिनै रहेको छौ ।।
माता पार्वती र शिबको स्वरुपमा
बिराजमान,
प्रिय हिमाल गौरीशंकर
तिम्रो आशीर्वादले
दोलखा लगाएत नेपाल सहित
समग्र ब्रह्माण्ड
शान्ती र बिकासको गतिमा
लम्किरहोस ।।