कविता
गरुङ्गो अस्थिपन्जर
दौडिन्छ लठ्ठी बोकेर
डोकोलाई नजिकको
सहेली सम्झिदै हिड्छ हरेक क्षण
एउटा तस्वीर जहिले
अर्को आइ रहन्छ
हवाईजहाज चढेर
छिट्टै फर्किन्छ बुढो कथाको कुम्लो भर्दै
र भन्छ अब चाडैं नै
पठाउने छु एउटा सवार
पुगाउने पनि छु अग्लो भिरमा
खुसिको फराकिलो सन्देश
फेरि दौडिन छैन
गरुङ्गो अस्थिपन्जरलाई
बोक्नु छैन हलुङ्गो डोको
सुनाउनु छैन बुढो कथा
भन्नू छैन दयाको भक्तिगान
अझ केहि वर्ष
जीवनको अँध्यारो निभाउन
बनाउनु छ ठुलो चन्द्रमा
बसाल्नु पर्ने छ वरिपरि कयौं ताराहरु
प्रिय बनाउनु छ नवजात घामहरु
पठाउन बाकी राख्दैन
उषाको पहेँलो किरण
गहिरा छिमेकीलाई
सुकेको रोटी चपाउन
बनाइ दिनुछ धारिलो आरन
यात्राको घनघोर गन्तव्य पुग्न
डराउनु छैन जवान लौरो संग
खन्नु छ अग्लो क्षितिज
फलाउनु छ थोरै कनिका
बाड्नु छ अलिकति
गहिरा छिमेकीलाई पुग्ने गरि
लेकबेसी हेर्नू छ दुरबिन बाट
खिच्नु छ हिमालको गोरो शिरमा
उभिएको उज्यालो तस्वीर
कालो बादलले कहिल्यै
नपग्लिने जस्तै सजाउन छ भित्तामा
पुराना याद नदोहोर्याउने गरि
टिप्नु पनि छ बुकिफुल
यत्ती भएपछि
प्रिय अस्थिपन्जर
तिम्रो नजिकको सहेली डोकोलाई
हुलाकी मार्फत बेलाबखत
अलिकति रैबार पठाउला।।
-डोक्काघरे

