Breaking News

आज बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका तत्कालीन सभापति एवं राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बिहीबार देशभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

भारत निर्वासनमा बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन् । भारत निर्वासनका क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा दोस्रो ठूलो दलका रूपमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेको छ ।