मलद्वारमा लुकाएर लागूऔषध तस्करी गर्न लागेका युवक र युवती पक्राउ परेका छन् । इलामको चुलाचुली गाउँपालिका–१, घर भई मोरङको पथरीशनिश्वरे नगरपालिका–१, बस्ने २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागोलाई प्रहरीले समातेको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले आज बिहान भारतबाट नेपाल आउँदै गर्दा रंगेली नगरपालिका–६, पुरानो भन्सार टोलमा उनीहरुलाई रोकेको थियो ।
त्यसक्रममा उनीहरुको शरीर चेकजाँच गर्दा दुवैको मलद्धारमा कालो प्लास्टिकको पोका भेटिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सम्योकको साथबाट १५ ग्राम ४४ मिलिग्राम र भूमिकाको साथबाट ११ ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

