Breaking News

इरान वार्तामा नआए त्यहाँका सबै विद्युत् उत्पादन केन्द्र र प्रमुख पुलहरूमा आक्रमण गर्छाै – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए त्यहाँक सबै विद्युत् उत्पादन केन्द्र (पावर प्लान्ट) र प्रमुख पुलहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले ऊर्जा पूर्वाधारहरूमाथिको आक्रमणलाई  अन्तिम विकल्पका रूपमा राखिएको बताएका छन्।

‘तर अन्ततः त्यसमाथि पनि आक्रमण हुनेछ। आज राति कडा प्रहार गर्छौं, भोलि राति पनि गर्छौं। त्यसपछि अर्को साता उनीहरूका लागि अवस्था झन् खराब हुनेछ। अर्को साता पावर प्लान्ट र पुलहरू हाम्रो निशानामा हुनेछन्,’ उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्।

इरान त्यसो नहोस् भन्ने चाहन्छ भने तत्काल वार्ताको टेबलमा आउन पनि उनले चेतावनी दिएका छन्। अमेरिकी वार्ताकारहरूमार्फत सो सन्देश इरानलाई पनि दिइसकेको ट्रम्पले बताएका छन्।

ट्रम्पको चेतावनीपछि अमेरिकाले इरानका दर्जनौं सैन्य अड्डाहरूलाई लक्ष्य गरेर सात घन्टासम्म आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले मंगलबार राति सात घण्टा लामो सैन्य कारबाही सम्पन्न गरेको जनाएको छ।

सेन्टकमका अनुसार आक्रमणमा लडाकु विमान, ड्रोन र नौसैनिक जहाजमार्फत होर्मुज जलड र इरानको तटीय क्षेत्रमा रहेका दर्जनौँ सैन्य लक्ष्य मा सटीक प्रहार गरिएको हो।

सेन्टकमले आक्रमणको उद्देश्य इरानको व्यावसायिक जहाज र सर्वसाधारण जहाजका चालक दललाई धम्की दिने क्षमता थप कमजोर बनाउनु रहेको जनाएको छ।

यद्यपि कुन–कुन स्थानमा आक्रमण गरियो वा कति क्षति भयो भन्ने खुलाइएको छैन।

Ncell

जबाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको दाबी गरेको छ।

यद्यपि सन् १९४९ को जेनेभा महासन्धिअनुसार नागरिकको जीवनका लागि अत्यावश्यक मानिने पूर्वाधारमा आक्रमण गर्न निषेध गरिएको छ।

उता इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाको दुष्कर्म अन्त्य नभएसम्म होर्मुज जलडमरूमध्य बन्द रहने घोषणा गरेको छ।

तेहरानले हालै गठन गरेको पर्सियन गल्फ स्ट्रेट अथोरिटी ले पनि अमेरिकी सेनाको अवैध गतिविधि का कारण हर्मुजबाट जहाज आवतजावत गर्न नसकिने जनाएको छ। स्थिरता फर्किएपछि मात्र अनुमति दिइने उसले उल्लेख गरेको छ।

यसैबीच आईआरजीसीले बहराइनस्थित अमेरिकी नौसेनाको मध्यपूर्व हेडक्वार्टर फिफ्थ फ्लिट सम्बन्धित कमान्ड, रसद, इन्धन र सैन्य उपकरण भण्डारण केन्द्रमा मिसाइल प्रहार गरेको दाबी गरेको छ। साथै कुवेतको मिना अब्दुल्लाह क्षेत्रमा रहेको अमेरिकी सैन्य रसद तथा सहायता केन्द्रमा आगो लगाएर नष्ट गरेको पनि दाबी गरेको छ।

यस विषयमा अमेरिकी सेन्टकमले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

यद्यपि बहराइनमा हवाई हमलाको साइरन बजाइएको र कुवेती सेनाले इरानबाट आएका ड्रोनहरू रोक्न हवाई प्रतिरक्षा प्रणाली परिचालन गरेको जनाएको छ।