आजबाट सुरु गरिएको जेनजीहरुको आन्दोलन बानेश्वरमा पुग्दा हिंसात्मक हुन पुगेपछि आन्दोलनकारी संविधानसभा हलभित्र पसेर आगजानी गर्न लागेपछि प्रहरीले प्रदर्शनकारीमाथि अन्धाधुन्न गोली चलाउँदा हालसम्म १८ जनाको मृत्यु र तीन सय भन्दा बढी घाइते भएको समाचार बाहिर आएका छन् । जेनजीका आन्दोलनकारी सुरुमा ७, ८ जनामा गोली लागेर ढले पनि अरु बाँकी १० जना उपचारकै क्रममा मृत्यु भएका छन् । अझैं कयौं प्रदर्शनकारी गम्भीर घाइते भएको बुझिएको छ । अझै मर्नेको संख्या बढ्न सक्छ । त्यतिकै मात्रामा घाइतेहरुको उपचार भइरहेको छ काठमाडौका विभिन्न अस्पतालमा । प्राप्त समचार अनुसार प्रहरीले संसदभवन भित्रबाट कम्तीमा ५ सय जति राउण्ड गोली चलाएको अनुमान गरिएको छ । तर के कति चलायो भन्ने एकिन भने छैन । प्रहरीले पनि आत्मरक्षाका लागि गोली चलाएको हुनसक्छ । आत्मरक्षाकै लागि भनेर यसरी साना–साना बिद्यार्थीको भिडमा गोली भने नचलाउनु पर्ने हो । जेनजीका प्रदर्शनकारी पनि आन्दोलनकै क्रममा संसदभवन भित्र छिर्न र तोडफोड जस्ता कार्य नगर्नु पर्ने हो । आजको यस प्रकारको आन्दोलन र प्रहरीको नरसंहार हस्तक्षेप दुबै कदापी सैय छैनन् ।
सरकारले पनि आन्दोलनलाई दमनका नाममा जनताका छोराछारीलाई जथाभावि गोली हान भन्न पनि नहुने हो । आजको यस प्रकारको घटनालाई भोलिका दिनमा अझैं ठूलो दुर्घटना नहोला भन्न सकिन्न । सरकारले कलिला केटाकेटीको छातीमा ड्यामड्याम गोली हान्न लगाएर आफ्नो सरकारको आयु आफै समाप्त गर्न खोजिरहेको होकी भन्न सकिन्छ । यो सम्पादकीय तयार पार्दा सम्म अझै आन्दोलन चर्काउने जेनजीले बताएको छ भने अर्कोतर्फ १८ जनाको रगतको राप र घाइतेहरुको छटपटाहटको स्थितिले आन्दोलनकारीहरु झनै आक्रोसित भएको बुझिएको छ । यस खालको परिस्थितिबाट उत्पन्न भएको घटनालाई निहाल्दै विपक्षी राजनीतिक दलले सरकारको राजीनामाका साथै अर्ली चुनावको माग गरेका छन् । आजको यस परिस्थितिमा भोलिका दिनमाा कस्तो परिस्थिति आउला त्यो भने भोलिका दिनमै थाहा हुनेछ ।

