कहाँ पुगेर
थकाइ मेट्छन होला पसिनाहरु
जिन्दगी बोक्ने सफर बनेर
हर
दिन बोकि रहन्छन् भरिया जस्तै
दोडि रहन्छन् सफर जस्तै
बगि रहन्छन् खोला बराबर
पोखी रहन्छन् छताछुल्ल
बस्ने चौतारो हुदैन
भाग्य बनाउन दौडिरहेका
जोडी वृद्ध आँखाहरु
क्षितिज पारिको घाम फल्ने अग्लो ठाउँ छुन
बुढेसकालको ताना बुन्दै
इन्द्रेणीको रङ्गिन तुइन चढेर
सुखका झुप्पाहरु टिप्न पुग्छन्
कयौं बोरा खुसी फलाउन
माटो संग मितेरी गास्दागास्दै
आफै माटो जस्ता छन्
जुनकीरीको उज्यालो छोप्न
डोको नाम्लो र बरियो समाइ
सधैं
बिहान जुनकीरी संगै दोडिन्छन
उज्यालो खोज्न मध्य रातमा
उठेकी गृहिणी
कहिल्यै उज्यालो नबोकी
घाम डुबेपछी
आगन पुग्छिन
अध्यारा बिटा ल्याएर
अझै पनि फर्केको छैन जुनकीरीको फेरो
आएको छैन पुर्णिमाको जुन
इन्द्रेणीका रङ्गिन लहरामा
सुखका झुप्पाहरु पनि फलेनन्
तुइन बाट झरेको एक बोरा
खुसी पनि पुगेनन्
एक फाको अन्न फलाउदा फलाउदै
खुइलिएको दुब्लो जिन्दगी बिसाउने
चौतारो पनि कतै छैन
हत्केलामा उम्रेका अग्ला ढिस्काहरु खन्न
धारिलो कोदालो बनाउ भन्दा
धार तीखो पार्न नसक्ने
आजभोलि
म आफै
बूढो आरन भएको छु

