श्रीलंकामा आर्थिक समस्याले पैदा भएको राजनीतिक संकट यतिबेला थप गहिरिएको छ ।
विद्युत् कटौतीका कारण उखरमाउलो गर्मीमा निद्रा पुरा गर्नसमेत मुश्किल भएको छ ।
टाट पल्टिसकेको देशमा इन्धनको कमीपछि विद्युत् अवरुद्ध हुँदा मानिसहरुको दिनचर्या नराम्रोसँग प्रभावित भएको छ ।
यस्तो अवस्थामा जनताले अझै धेरै दिन बिताउनु पर्नेछ । गत महिनाको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर भएको छ ।
यस्तो माहौलमा मानिसहरु एक साता अघिको तुलनामा धेरै नै लाचार महसुस गरिरहेका छन् ।
मानिसहरुको भाग्यमा न त राम्रो खाना छ न पानी नै । मानिसहरु यस्तै अवस्थामा काम गरिरहेका छन् । घरबाट निस्कने बित्तिकै मानिसहरुलाई यातायातको साधन पाउन मुश्किल परेको छ ।
पेट्रोल र ग्यासका लागि लामो लाइन
यतिबेला श्रीलंकाका सहरहरूमा इन्धनको अभाव यस्तो छ कि यसका लागि चारैतिर लाइन फैलिरहेको हुन्छ ।
यी लाइन घट्नुको साटो दिनदिनै बढ्दो छ । यसले सडकमा अत्यधिक जाम बढाएको छ भने धेरैको दैनिकी बर्बाद भइरहेको छ ।
अटोरिक्साका ड्राइभर आफ्नो ८ लिटरको ट्याङ्कीसँग धेरै दिनसम्म लामो लाइनमा बस्न बाध्य छन् । उनीहरुले तेल पाउन ४८ घण्टासमेत कुर्नुपरेको अवस्था छ ।
त्यसैले फेरि लाइनमा बस्न नपरोस् भनेर उनीहरुले आफूसँग तकिया, कपडा र खानपिनका सामानसमेत लिएर आउने गरेका छन् ।
मध्यम वर्गीय र धनी वर्गका मानिसहरु थुप्रै स्थानमा आफ्ना छिमेकमा लाइनमा उभिएका मानिसहरुबीच खानाको प्याकेट र चिसो पानी बाँडिरहेको पनि देखिएका छन् ।
पछिल्ला केही दिनमा श्रीलङ्काली मुद्राको अवमूल्यनका कारण देशमा खाद्य पदार्थ, खाना पकाउने ग्यास, कपडा, यातायात, सरकारको तर्फबाट पाउने सिमित बिजुली, यी सबै यति महँगो भइसकेका छन् कि पैसाको महत्व घटेको छ ।
दाल पनि विलासी वस्तु
कामदारको बस्तीमा मानिसहरु मिलेर खाना बनाउन थालेका छन् ताकि बनाउन सबैभन्दा सजिलो भात र नरिवलको साम्बोल तयार पार्न सकियोस् ।
अवस्था यस्तो छ कि पूरै दक्षिण एसियाका जनताको प्रमुख खाना दाल पनि विलासिताको वस्तु बनेको छ ।
श्रीलंकामा कुनै समय ताजा माछा प्रचुर मात्रामा उपलब्ध थियो र ती सस्ता पनि थिए । तर अहिले डिजेल नहुँदा माछा मार्ने डुङ्गा समुद्रमा पुग्न मुस्किल परेको छ । र जो माझीले माछा समातिरहेका छन्, उनीहरु आफ्नो दाल महँगो दाममा होटल र रेष्टुरेन्टमा बेचिरहेका छन् । यसको मूल्य यति आकासिएको छ कि धेरैजसो मानिसका लागि माछा अब ‘आकासको फल आँखा तरी मर’ भन्ने भएको छ ।
बालबालिकाको पूरै पुस्ताले प्रोटिनयुक्त खानेकुरा पाएका छैनन्
अवस्था यस्तो छ कि श्रीलंकाका अधिकांश बालबालिका लगभग बिना प्रोटिनयुक्त खानामा बाँच्न बाध्य छन् । यो संकट यति गहिरो छ कि यसले देशको ‘म्याक्रोइकोनोमी’ देखि ‘मोलिक्युल’ सम्म सबैलाई असर गरेको छ ।
बालबालिकाको मुटु, दिमाग, मांसपेशी र हड्डीले आफुलाई चाहिने कुरा पाएका छैनन् । देशको अधिकांश दुधको धुलो आयातबाटै पूर्ति हुने गरेको छ । त्यसैले पनि दुधको धुलो बजारमा देख्न निकै मुश्किल छ ।
संयुक्त राष्ट्र संघले अब श्रीलंकामा कुपोषण र मानवीय संकटको चेतावनी दिएको छ । यहाँ धेरै मानिसहरूका लागि, यो संकट महिनौंदेखि रहँदै आएको छ ।
यातायात व्यवस्था नराम्ररी बिग्रियो
कतै आवतजावत गरिरहेका मानिसहरुका लागि पनि उनीहरुको मुख्य सहारा बस र ट्रेन हो । र यी बस र ट्रेनको अवस्था यस्तो छ कि भीडका कारण यी थचारिने हुन् कि भन्ने चिन्ता छ ।
युवाहरू केही गरेर बाहिर झुण्डिएर थोरै हावा लिन्छन् तर भीडमा भित्र दबिएका मानिसहरु हावाका लागि आत्तिरहेका हुन्छन् ।
श्रीलंका दशकौंदेखि सार्वजनिक यातायातका साधनहरूमा पर्याप्त लगानी गर्न असफल रहेको छ । यसैबीच, बस र रिक्सा चालकको मनमानी भएको धेरैले गुनासो गरिरहेका छन् ।
अत्यावश्यक औषधिको अभावमा धेरैको मृत्यु
देशको राजनीतिक र आर्थिक जगतको सम्भ्रान्त व्यक्तिका कारण श्रीलंकाको अवस्था यस्तो भएको भन्ने कुरा मानिसहरुबीच व्यापक रुपमा फैलिरहेको छ । तर यसको सबैभन्दा नराम्रो असर तल्लो मध्यम र मजदुर वर्गमा परिरहेको छ ।
निजी अस्पतालले त कसैगरी आफ्नो काम गरिरहेका छन् तर सरकारी अस्पतालको अवस्था नाजुक छ । हालै अनुराधापुरामा सर्पको टोकाइबाट उपचार नपाउँदा १६ वर्षीय किशोरको मृत्यु भएको थियो ।
सरकारी अस्पतालमा ‘एन्टि भेनम’ इन्जेक्सन नपाएपछि उनका बुबाले धेरै औषधि पसलमा खोजी गरे तर पाउन सकेनन् ।
देशको स्वास्थ्य क्षेत्र जीवन रक्षक औषधि किन्न सक्ने अवस्थामा छैन ।
मे महिनामा जण्डिसबाट पीडित दुई दिनकी बालिकाको पनि मृत्यु भएको थियो ।
यसो हुनुको कारण शिशुलाई अस्पताल पुर्याउन उनका आमाबुवाले रिक्सा खोजिरहे तर पाउन सकेनन् ।
सन् २०१९ मा श्रीलंका सरकारले दिएको कर छुटका कारण देशको खजाना खाली भएको र देश यस्तो अवस्थामा पुगेको अर्थशास्त्रीहरुले बताएका छन् । यद्यपि, उक्त छुटको वकालत धेरै कर्पोरेट र व्यावसायिक निकायहरूले गरेका थिए ।
कालोबजारीमा अझै महँगो मूल्यमा इन्धन किन्न पाइन्छ । यही इन्धनबाट धेरै ठूला निजी सवारी साधन र जेनेरेटर चलिरहेका छन् ।
कमजोर अर्थतन्त्र भएका मानिसहरु काममा जान साइकल किन्ने प्रयास गरिरहेका छन् तर मुद्राको अवमूल्यनको असर यस्तो छ कि अब साइकल पनि मानिसहरुको पहुँच बाहिर छ ।
विद्युत् कटौती र जनताको आक्रोश
मार्चको अन्त्यमा हुने विद्युत कटौती अहिलेसम्मकै सबैभन्दा खराब समय थियो । जसका कारण कोलम्बोमा विरोध प्रदर्शन सुरु भएको थियो । वर्षकै सबैभन्दा गर्मी दिनहरुमा दैनिक १३ घण्टा लोडसेडिङले सिङ्गो देश त्रसित बनेको छ ।
त्यो डरलाग्दो अनुभवले श्रीलंकाभरि भयंकर क्रोध फैलायो, हजारौंलाई राष्ट्रपतिको निवास पूर्वी कोलम्बोको मिरिहाना क्षेत्रको सडकमा आउन बाध्य पार्यो ।
श्रीलंकामा पछिल्लो एक वर्षमा भएका सबै विरोध प्रदर्शनहरूमध्ये यो सायद सबैभन्दा भीषण प्रदर्शन थियो ।
मोटरसाइकलको हेल्मेट लगाएका एक व्यक्तिले राजनीतिक संगठन, धर्मगुरु र मिडियाको भेलामा सरकारमाथि कडा हमला गरे । उनले सरकारलाई धेरै पुस्ताको सबैभन्दा स्वार्थी र अयोग्य सरकार भनेका छन् ।
पछि प्रहरीले सुदारा नादिस नाम गरेका व्यक्तिको निर्ममतापूर्वक कुटपिट गरेको थियो । केहीस् अन्य व्यक्तिसँग उनलाई पक्राउ गरियो ।
श्रीलंका २६ वर्षसम्म गृहयुद्धमा उल्झिरह्यो । तरपनि गोटाबाया राजपक्षे जति अरु कुनै पनि राष्ट्रपति सेनासँग यति नजिक भएनन् ।
दक्षिणी श्रीलङ्काका मानिसहरुलाई पछिल्लो केही महिनामा उत्तरी श्रीलङ्काका मानिसहरुको दृष्टिकोण केही भिन्न थियो भन्ने पत्ता लाग्यो ।
पछिल्ला केही महिनामा श्रीलङ्कामा भएका थुप्रै शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाए, बालबालिकाको उपस्थिति भएको भीडामा पनि अन्धाधुन्ध अश्रू ग्यासका गोला छोडिए ।
अत्यावश्यक सामान खरिद गर्नका लागि लाइनमा उभिएका मानिसहरुले थोरै मात्रै पनि असन्तुष्टि पोख्दा निर्ममतापूर्वक कुटियो ।
प्रहरीका अनुसार प्रदर्शनकारीको ढुंगा प्रहारबाट कैयौं अधिकारी घाइते भएका थिए । तर, प्रहरीको जवाफी कारबाहीका कारण धेरै प्रदर्शनकारीले ज्यान गुमाएका छन् वा उनीहरु घाइते भएका छन् । प्रहरीको कदम चाहिनेभन्दा पनि बढी कडा भएको धेरैले महसुस गरे ।
नेताहरूको मनोवृत्तिले पनि जनतालाई यति हदसम्म आक्रोशित बनाउन मद्दत गरेको छ । धेरै नेताहरुले आन्दोलनका तस्विरहरू सामाजिक सञ्जालमा राखेर जनतालाई उक्साए ।
जनताले देशव्यापी रुपमा विरोध प्रदर्शन गरेर राष्ट्रपति र उनको पार्टीलाई सत्ताबाट हटाउने माग गरे, त्यतिबेला पनि उनीहरु जिद्दी गरेरै सरकारमा बसे ।
जनताको असन्तुष्टिका बाबजुद पर्दा पछाडिबाट सम्झौता गर्ने प्रयास गरियो । धेरैले यसलाई देशको राजनीतिमा विष घोल्ने काम मान्छन् ।
श्रीलंकालाई यस्तो खाडलमा खसाल्ने यिनै नेताहरुले देशलाई फेरि उचाल्न सक्ने दाबी गरेका छन् । र त्यसपछि उनले जुन नीति बनाए, त्यसको तिखो आलोचना भइरह्यो । उदाहरणका लागि, घरेलु कामदार, चालक र मेकानिकको रूपमा काम गर्न पश्चिम एसियामा मानिसहरू पठाउने प्रयास भइरहेको छ । यस्तो गरिनुको एउटा कारण के हो भने त्यहाँबाट कमाएको पैसालाई श्रीलङ्का भित्र्याउनु हो ।
तर देशका कमजोर जनताका लागि यो घाउमा नुन छर्नु जस्तै हो, किनभने कम शिक्षित र गरिब जनतालाई देशमा रोजगारीको कुनै आशा छैन र उनीहरू आफ्नो परिवारलाई बाहिर पठाउन बाध्य छन् ।
मानवविज्ञानका एक जानकारले यो स्थितिलाई देखेर श्रीलंकालाई ‘भ्याम्पायर स्टेट’ को संज्ञा दिएको छ ।
यसरी श्रीलंकामा बिहानदेखि साँझसम्मको जीवन कुनै युद्धभन्दा कम छैन । यहाँका जनताको दुःखको अन्त्य कहिले होला, त्यो थाहा पाउन मुश्किल छ ।
शिक्षा, आम्दानी, औषधिजस्ता आधारभूत आवश्यकताहरू पनि आजको श्रीलंकामा पूरा गर्न गाह्रो छ ।
देशमा स्कूल हाल बन्द छन् किनभने बच्चालाई बसमा स्कूल ल्याउनका लागि इन्धन छैन । लगातार तेस्रो वर्ष कक्षाकोठा अनलाइनमा सिमित भएका छन् । ।
सरकारले जे जति बाचा दिएको छ, त्यो पूरा गर्न ऊ विफल भइरहेको छ । जनतामा निराशाको बादल यति मडारिएको छ कि केही दिन अघि एउटी आमा आफ्ना दुई सन्तानसहित नदीमा हाम फालेकी छिन् । यसरी श्रीलंकामा दैनिक कोही न कोहीको मुटु टुट्छ ।