संस्मरण : आँधी बोकेर बाँचिरहँदा…

कुनै खतरालाई अंकमाल गर्नुभन्दा बढी पीडादायी हुँदो रहेछ, खतराको घण्टी सुनिरहनु र खतराको साक्षी भएर बाँचिरहनू। थाहा छ, जन्मेकै दिनबाट मान्छेले मृत्युलाई आफ्नै समयको खल्तीमा बोकेर हिँडिरहेछ । र पनि त्यस्तो लाग्दो रहेछ की त्यो मृत्यु जिन्दगीको मध्यान्हमै हिँड्दा-हिँड्दै ठेस लागेर खल्तीबाट नखसोस् ।

लाग्दोरहेछ, जिन्दगीले कहिल्यै रि–स्टार्ट गर्न नमिल्ने गरी ब्रेक नलगाओस् जहाँ अलपत्र परून सपनाहरू । आज चैत्र २८, ठीक एक महिना धकेलियो । हात काँपिरहेछन् । स्क्रिनमा उही एउटा अनुहार देख्छु । केही लेखूँ भन्ने लागेर बसेको आज यो दोस्रो दिन । हिजो त बस् आफूलाई यत्ति अनुवाद गर्न सकेथें अक्षरहरूमा ।  संसारमा यतिबेला केही कुनै चिज सबैभन्दा बढी सक्रिय छ भने, त्यो हो मृत्यु ।

त्यसो त हरेक दिन, हरेक क्षण यो अस्तित्वमा रहिरहन्छ । बस्, यसले आफ्नो गति बढाएको छ यस क्षण । मान्छेलाई आफ्नो नियन्त्रणमा ल्याउने अर्को नयाँ बाटो अपनाएको छ । यो नयाँ बाटोको नाम छ कोरोना । योसँग मान्छे युद्धरत छ । जो जित्छ यो दुनिँयामा रहन्छ । जो पराजित हुन्छ ऊ बिदा लिन्छ संसारबाट ।

म यही क्षण छु दुनियाँको एउटा कुनामा केही सोचिरहेको । केही जलिरहेको । केही फरक बाँचिरहेको । आफैं भित्रको दुनियाँमा कँहीकतै भत्किरहेको । जस्टिन गार्डरको सफिज वल्डमा कँहिनेर पढेको वाक्य झट्ट सम्झन्छु ( तिमीले जबसम्म मर्नुपर्छ भन्ने अनुभूत गर्दैनौ तबसम्म ज्युँदो रहनुको अनुभव गर्न सक्दैनौ । तर बाँच्नु क्या आनन्ददायक छ भन्ने अनुभूत नगरून्जेल तिम्ले मर्नुपर्छ भन्ने पनि अनुभूत गर्न सक्दैनौ ।)

नेपाली समाजको एउटा ठूलो दुर्भाग्य छ, युवाहरू घर-परदेश, घर–परदेश गरिरहनू । आफ्नी श्रीमतीको कोखमा बीज रोपेर परदेश निस्किएको पुरूष घर फर्कँदा बच्चा टुकुटुकु हिँड्ने हुन्छ । उचाल्नु, खेलाउनु र चुम्नुको भोक नमेटिँदै फेरि ऊ परदेश निस्कने दिन आइपुग्छ ।

परदेशमा आफ्नो बच्चालाई कपडा किन्‍ने मन हुँदा शरीरको आकार थाहा हुँदैन । जुत्ता किन्‍न मन भए थाहा हुन्‍न खुट्टाको आकार । ऊ जलिरहन्छ प्रेमले । घर-परदेश गरिरहन्छ ऊ । दुईतीन दशकसम्म आफूलाई प्रतिस्थापन गर्ने आफ्नो सन्तान नभएसम्म ।

यही नियतिमा बाँच्नुभयो मेरो बुबा पनि गएको जेठसम्म । यही नियतिमा बाँच्यौं हामीहरू । दुई वर्षअघि बुबाको मुटु अस्वस्थ्यताको आक्रमणमा पर्छ । सँगै काम गर्ने आफन्तीहरूको सहारामा अस्पताल भर्ना हुनुहुन्छ उहाँ । दुई–तीन दिनको बसाइ हुन्छ अस्पतालमा । पछि सामान्य अवस्थामा फर्किएपछि स्वास्थ्य परीक्षणकै लागि भनेर बीचमा एकपटक पञ्जाव निस्किनुहुन्छ ।

बाँकी निरन्तर स्वास्थ्य परीक्षणको जिम्मा काठमाडौं सोचेर घर फर्किएपछि गान्धीको देशसँग बिदा लिनुभयो उहाँले । त्यसपश्चात् अस्पतालहरू बने मेरो विश्वविद्यालय जहाँ मैले जीवनका फरक-फरक आयामहरूलाई नियाल्ने दुःखद अवसरहरू प्राप्त गरें ।

सामान्य अस्वस्थताको आक्रमणमा पर्नु र अस्पताल पुग्नु नेपाली समाजका लागि जीवनशैली नै बन्‍न पुगेको छ । वर्तमान समयमा सबैभन्दा केही कुनै कुराको खाँचो छ भने त्यो अस्पतालको छ । नियमित स्वास्थ्य परीक्षण सम्भव छैन । अस्पताल हिँडेर जान नसक्ने भएपछि मात्रै अस्पताल हिँड्छौं हामीहरू ।

माघे संक्रान्तिको दिन । म पुनः लखनउ या पन्जाव जाने सोच बनाउँछु । तर जेठाबाले एकपटक बुटवल जान सुझाउनुहुन्छ, हामी त्यहीं पुग्छौं । मलाई त काठमाडौं धाएर नहुनुको कारण बुटवल जाने विषय त्यति गम्भीर लागेन । डा.बिष्णु पौडेल भनेपछि मनमा एक किसिमको उत्साह चाँहि भरियो ।

‘बुवालाई अस्पताल यात्राको थप दुःख दिनुको कुनै पनि औचित्य छैन, अर्थ छैन । म तपाईको ठाउँमा भएको भए यही गर्थें ।’ यो सुनेपछि थप केही सोच्न सकिनँ ।’

परीक्षण सुरू भएपछि लाग्छ अब चाँहि ठीक हुने भयो । यो कारण पनि हुनुपर्छ कि उहाँले निकै समय लगाएर र गम्भीर रूपमा परीक्षण गर्नुभयो । जब रिपोर्ट बुझ्ने र सुन्ने समय हुन्छ, मलाई भित्र एक्लै जाने खबर आउँछ । संयोगवश त्यो समय बुवा शौचालय जानुभएको थियो । त्यसरी बिरामी बिना एक्लै भित्र बोलाउनुले मलाई केही न केही खतराको आभास हुन्छ । मुटुको गति बढ्छ । विश्वास नगरौं नै किन, एकपटक भगवान सम्झेर भित्र पस्छु ।

कुर्सी तानेर बस्ने बित्तिकै एउटा प्रश्न तेर्सिन्छ– बुबाले चुरोट, सुर्ती, जाँडरक्सी कत्तिको लिनुहुन्छ ? यो प्रश्नले आँधी चल्न थाल्छ मभित्र । लाग्यो, के यी चिजको अत्यधिक सेवन गर्ने व्यक्तिलाई हुने खतराले उहाँलाई छोइसक्यो ! तर उहाँमा यी कुनै कुराको आदत थिएन । तर अलिक पहिले धेरथोर कहिलेकाँही मदिरा पिउने गर्नुहुन्थ्यो । म त्यस्तै जवाफ फर्काउँछु ।

लामो श्वास तान्दै बोल्न थाल्नुहुन्छ उहाँ । मेरो मुटुको धड्कन बढ्छ । क्षयरोगको औषधि चलाउन सुझाउनुहुन्छ, त्यो पनि एक महिना मात्रैलाई । तर यो त दोस्रो समस्या हो । पहिलो त उही जो मैले सोचेको हुन्छु सुरूकै प्रश्नमा । सबै कुरा कन्फर्म नहुनु र कन्फर्म गर्न आवश्यक परीक्षण गर्नलाई बुवाको शरीरमा उर्जा नभएको कुरा सुनेपछि झन् ठूलो आँधी चल्न थाल्छ मभित्र ।

एक महिनापछि फर्कने उहाँको सल्लाहसँगै अस्पतालबाट बाहिर निस्कन्छु । गहिरोसँग बुवाको अनुहार नियाल्छु । फिक्का मुस्कुराउँछु, आफूलाई सामान्य जस्तो देखाउने प्रयत्न गर्छु । केही औषधिहरू किन्छु । घर फर्कने समय थियो, तर आधा रात हुन सक्थ्यो । त्यति जाँगर चल्दैन । त्यहीँ कुनै होटलमा थन्काउँछौ दुई थान ज्यान । डाक्टरले सुझाए अनुरूप बुवालाई क्षयरोग भएको जानकारी दिन्छु ।

मैले एउटा सत्य लुकाउन थाल्छु आफूभित्र । झुट बोल्नु जति पीडा अरू केहीमा नहुँदो रहेछ । घर फर्किएपछि पनि म आफूलाई सामान्य नै देखाउन खोज्छु । समस्या एउटा थिएन बुवाको । मुख्य सबैजसो रोगहरू देखिन थाल्यो उहाँमा । क्षयरोगको औषधि चल्न थालेपछि म फर्किन्छु आफ्नो काममा घोराहीतिर ।

निकै अफ्ठेरो भएर चल्न थाल्यो समय । घरबाट आउने मिसकल र फोनको घण्टी बज्नुअघि नै ढ्यांग्रो ठटाउन थाल्थ्यो मुटुले । क्षयरोगको औषधि चल्न थालेपछि सुरूका केही दिनहरूमा केही सुधार देखिन्छ उहाँमा । मलाई चिन्ता कम गर्न पनि यसो भनिएको हो कि भन्ने लाग्छ । औषधि चलाउन थालेको बीस दिनपछि अथवा माघको अन्त्यतिर निरन्तर बान्ता हुन थाल्छ । पढाउँदा-पढाउँदै निस्किन्छु कक्षाबाट र ठोक्किन्छु बुटवलको यात्रामा ।

भूर्की चोक पुगेर पूर्वतिर हेर्छु, बन्द देख्छु प्राज्ञा फर्मा । यसपटक ज्वाँइ पनि हुनुहुन्थ्यो साथमा । तीन दिन अस्पताल बन्द हुने सूचना टाँस गरिएको थियो । फर्केर लुम्बिनी प्रादेशिक अस्पतालमा आउछौं हामीहरू ।बुवालाई इमर्जेन्सीमा भर्ना गर्छौं । बुबा क्षयरोगको पनि बिरामी भएका कारण ‘आइसोलेटेड रूम’मा राखेर उपचार सुरू हुन्छ । ६ दिनको अस्पताल बसाईमा त्यहाँ हुन सक्ने सम्पूर्ण परीक्षणहरू गरिन्छ । सीटी स्क्यानको रिपोर्टले पनि पहिलेको शंकालाई नै ९९ प्रतिशत कन्फर्म गर्छ ।

के गर्दा उपयुक्त हुन्छ ? त्यो कठिन घडीमा कुनै पनि निर्णय लिन निकै गाह्रो भयो । चितवन जानका लागि कार रिजर्भ गर्छु । तर अन्तिममा डा. पौडेलको सल्लाह नलिइ केही नयाँ निर्णय लिन मन भएन । उहाँबाट उही पहिलेकै कुरा दोहोरियो ।

बुवा पनि आफूलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगिसक्नुभएको थियो । सम्पूर्ण रिपोर्टहरू हेरिसकेपछि उहाँले घर लैजान र सक्दो बुवाको सेवा गर्न सुझाव दिनुभयो। ‘बुवालाई अस्पताल यात्राको थप दुःख दिनुको कुनै पनि औचित्य छैन, अर्थ छैन । म तपाईको ठाउँमा भएको भए यही गर्थें ।’

यो सुनेपछि थप केहि सोच्न सकिनँ।

बुवालाई आफ्नो समस्याको सूचना दिइनँ । त्यो भन्न सक्ने कुरा पनि भएन । डक्टरले सुझाएका केही औषधिहरू किन्न फार्मेसीमा पुग्छु । औषधि पसलेले जाँगर नै नभए जसरी एक महिना मात्रैलाई औषधि राख्दिन्छन् । म भने दुई महिनालाई औषधि राखिदिन आग्रह गर्छु । कामै छैन, किन बेकार धेरै लैजानुहुन्छ । औषधि पसलेको यस्तो प्रतिक्रियाले म झन् भत्कन्छु । आफू उभिएको जमिन भासिए झैं लाग्छ । र, फार्मेसीबाट तनावको झोला बोकेर निस्किन्छु ।

निकै लामो दुविधामा फस्छु । ज्वाँइसँग केही प्रतिक्रिया लिन्छु । र हामी डक्टरले भने अनुरूप नै निर्णय लिनुपर्ने निष्कर्षमा पुग्छौ । चितवन जान तयार कारमा हामी प्यूठान फर्कन्छौं ।

जब कारमा बस्छौ, एक नमिठो रूवावासी सुरू हुन्छ । हामी बाबुछोरा एकअर्कालाई अंकमाल गरेर तातो आँशुले एकअर्काको छाँती भिजाउँछौ ।
यात्रा गर्दै गर्दा ट्रकको पुच्छारमा लेखेको एक वाक्यमा मेरा आँखा जान्छन्, ‘मान्छे जन्मदा श्वास हुन्छ, नाम हुँदैन । मान्छे मरेपछि नाम रहन्छ, श्वास रहँदैन ।’

मृत्यु दर्शन बोल्ने यी शब्दहरूले हृदयका तारहरू हल्लाउँछन् । कार आफ्नै गतिमा दौडिरहेको हुन्छ, मेरो भने संसार स्थिर स्थिर भएझैं लाग्छ ।

घोराही फर्किएपछि पनि मन घोराहीमा हुँदैन । उहाँकै छेउछाउमा भइरहेजस्तो । उदासपनको अँध्यारोभित्र छोपिन्छु म । घर छोड्नुपूर्व कहिल्यै सबैभन्दा भारी मन भएको थियो भने यही समयमा भयो । तर पनि निस्किनु थियो । निस्किनु बाध्यता थियो । ननिस्किउँ त झन् बढ्थ्यो घर र अस्पतालको दूरी । निस्किउँ त अर्कोपटक आउँदा श्वासले बाबुको फोक्सो छोडिसक्ने पो हो कि ?

भय र त्रासको झोला बोकेर घोराही आइपुग्छु ।

सबैभन्दा बढी प्रतिक्षाको दिन बन्छ, शुक्रबार । शुक्रबारसम्म केही नहोस्, यस्तै सोचिबस्छु । आएको चार दिन पछिको शुक्रबार घर पुग्छु । अवस्था झन् बिग्रँदो पाउँछु । बुबाको बाँच्ने अभिलाशा चाहिँ झन् बढेको पाउँछु । खुब रन्थनिन्छु । घर पछिल्तिर पुगेर बेस्सरी आँशुमा बग्छु । सबै थाहा हुँदाहुँदै पनि अर्को बिहान चितवन पुग्ने निश्चय गर्छु ।

जीवन, जगत, जन्म-मृत्यु बुझेको भन्ठान्ने, यी विषयमा साक्षर भन्ठान्ने मेरो हालत त आफूलाई सम्हालि नसक्नु छ भने यस्तो परिस्थितिमा सिर्जित आमाको मनस्थितिलाई व्याख्या गर्न शब्दहरूले खै कहाँ साथ दिनु !

जीवनमा केही चमत्कार होस्, कहिल्यै सोचिनँ । यो क्षण खुब सोचेँ केही त चमत्कार होस्, जसले बुवालाई पूर्ववत अवस्थामा फर्काओस् । न त ईश्वर हुनु, न त हुनु केही चमत्कार । चितवन पुगेपछि जिउँदा ईश्वरहरूको अघि त पुग्नुभयो उहाँ । तर, चमत्कारको सम्भावनाको ज्योति त पहिल्यै निभिसकेको थियो ।

चार दिन भेन्टिलेटरको सहारामा श्वास फेर्दाफेर्दै कतिबेला उहाँको आफ्नै फोक्सोले साथ छोडेछ, पत्तै भएन । उहाँको जीवनको ज्योति निभ्यो । जसबाट सल्किएको एक अर्को पाला थिएँ म । उहाँ होउन्जेल त निभ्नै लाग्दा पुन: काँध जोड्थ्यौं, फेरि फैलन्थ्यो चारैतिर उज्यालो ।

अब त खै र ! यो पालामा कसले थप्ला तेल ?

अनलाइनखबरबाट