म कार्यकर्ता

ब्याङ्ग कविता

म भक्त हुं, म भक्त हुं
भगवानको होईन राजनीतिको
मेरा आफन्त अक्सिजन नपायर तड्पिरहंदा
म भजन गाउंछु राजनीतिको अनी आरती उतार्छु बिरोधीको ।

म सेवक हुं, म सेवक हुं
देस र जनताको होइन नेतागणको
मलाई बाल छैन आफन्त अनि परिवारको
मलाई सेवा गर्नु छ, केवल पार्टी अनि नेताको ।

म पुजारी हुं, म पुजारी हुं
मन्दिरको होइन पार्टी कार्यालयको
मलाई मतलब छैन आफ्नो घर अनि समाजको
मलाई पूजा गर्नु छ, त केवल पार्टी अनी पार्टी कार्यालयको

म अन्धभक्त हुं, म अन्धभक्त हुं
भगवानको होईन आफ्नै पार्टी अनि नेताको
जतिसुकै भ्रष्टाचार गरून् नेता अनि मन्त्रीले
रतीभर बोल्नु हुंदैन मेरो अन्तरज्ञानले ।

म माली हुं , म माली हुं
बगैँचाको होइन पार्टी कार्यालयको
मेरो पार्टीको बीरोधी माथि
म अरिङ्गाल बनेर जाइलाग्छु बाघ बनेर जाइलाग्छु ।

म रक्तदाता हुं म रक्तदाता हुं
तर रक्तदान गर्ने होइन रगत बनाउने
आन्दोलन अनी जुलुसमा टाउको फुटाउने
यसैगरी रगत बनाउने अनि भविष्यमा मन्त्री पद हत्याउने

म आशीर्वाद लिन्छु, म आशीर्वाद लिन्छु
मान्यजनको होइन माननीय हरूको
यसैमा मेरो गर्जो टरेकै छ
माननीय हरूको भ्रष्टाचार गरेर बचेको पैसाले मेरो दैनिकी चलेकै छ ।

म पहरेदार हुं, म पहरेदार हुं
तर देशको होइन मात्र राजनीतिको
देशको सीमा मिचिदा म मुखमा टेप लगाउंछु
तर मेरो पार्टीको आस्था माथि आंखा जुधाउनेको आंखै निकालेर गुच्चा खेलिदिन्छु ।

यस्तै, हुं म कार्यकर्ता, यस्तै हुंम कार्यकर्ता
मलाई पार्टी माथि अत्यन्तै मोह छ
देस जनता भड्खालोमा जाउन्
यसैगरी मलाई नेताकै चाकडी गर्नुछ ।