Breaking News

कृष्णभीर खण्डको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम तीव्र

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर खण्डको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ।सडक सञ्चालनको परीक्षणस्वरूप दुवैतर्फबाट सवारीसाधन पास गराउन थालिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं–चितवनतर्फबाट परीक्षणका रूपमा एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पहिरोस्थल पार गराइएको छ। त्यस्तै, चितवन–काठमाडौंतर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको छ।

पहिरोका कारण अवरुद्ध सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक काम तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ। सडक खुलाउने क्रममा सवारीसाधनको आवागमन परीक्षण गर्दै सडकको अवस्था र सुरक्षित सञ्चालनको सम्भावना मूल्यांकन भइरहेको छ।

मन्त्रालयले सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।

गत भदौ १४ गते त्रिशूली नदीको बहावले सडकको जग बगाउँदा १०० मिटर सडक भाँसिएको थियो। जसका कारण कृष्णभिर खण्डमा सवारी आवगमन अवरुद्ध बन्न पुगेको थियो।