Breaking News

कांग्रेसको संस्थापन पक्ष पार्टी भित्रको अर्को पक्षलाई समेट्न थप लचक

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टीको भित्रको अर्को पक्षलाई समेट्न थप लचक भएको छ ।

पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वका समितिमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेकालाई समेट्ने उद्देश्यले केन्द्रीय समितिमा थप्ने निर्णय लिएको छ ।

विशेष महाधिवेशनको विपक्षमा रहेकालाई केन्द्रीय आयोजक समिति सदस्यका रुपमा राख्ने निर्णय गरिएको छ ।

कार्यसम्पादन समितिको आजको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको छ ।

‘सबैलाई केन्द्रीय समितिमा बस्ने गरी आव्हान हुन्छ । केन्द्रीय समितिमा आएर महाधिवेशनको आयोजक समितिकै रुपमा रहनुहुन्छ,’ बैठकपछि एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘महाधिवेशनमा सहभागी हुन अपिल गर्दछौं । केन्द्रीय समितिमा बस्न चाहनेहरू आउनुहुन्छ । नचाहनेहरू आउनुहुन्न ।’

देउवा नेतृत्वको समिति रहेका तर विशेष महाधिवेशनको विपक्षमा रहेका सबैलाई समेट्ने विषयले कांग्रेसमा विवाद भएको थियो ।

संस्थापनइतरले विशेष महाधिवेशनमा विपक्षमा रहेका १११ जना पूर्व केन्द्रीय सदस्यलाई समायोजन गर्नुपर्ने प्रस्ताव गरेको थियो । विशेष महाधिवेशनको विरुद्धमा रहेका सबैलाई एकमुष्ट समायोजन गर्ने पक्षमा संस्थापन देखिएको थिएन ।

कार्यसम्पादनको आजको बैठकले सभापति गगन थापा नेतृत्वको समितिमा आउन इच्छुक सबैलाई भित्र्याउने निर्णय गरेको छ ।

संस्थापनइतरले राखेको अर्को माग पनि संस्थापनइतरले यसअघि नै सम्बोधन गरेको छ । अद्यावधिक नगरेका तर गत पुससम्म नवीकरण गरेका सबै सदस्यले मान्यता पाउनुपर्ने इतर पक्षको अडान थियो ।

अद्यावधिक गरेका मात्रै १५ औं महाधिवशेनका सदस्य हुने पूर्व अडानबाट संस्थापन पछि हटेको छ ।

क्रियाशील सदस्यको अद्यावधिक र गत पुससम्म नवीकरण गरेको विषय एउटा मुख्य विषयलाई सम्बोधन गरिसकिएको बताउँछन् ।

‘पार्टी एकताको लागि हामीले हाम्रो तर्फबाट देखाउनु पर्ने हार्दिक एकता लचकतामा हाम्रो तर्फबाट कमी हुँदैन । सबैलाई समेटेर जाने कुरामा हामी ठूलो छाती बनाउँछौं ।’ संस्थापनले पार्टी एकढिक्का बनाउने हरसम्भव प्रयास गर्ने आचार्यले बताए । उनी भन्छन्,‘कांग्रेसलाई टुक्रिन त दिँदैनौ नै । चोइटिन पनि नदिनेमा हामी छौं ।’

संस्थापनले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला पक्षलाई समेट्ने गरी संवाद प्रक्रिया अघि बढाएको थियो ।

पूर्वउपसभापति खड्का संस्थापन पक्षप्रति पछिल्लो समय लचक भएपनि आफू भने नजोडिने नेताहरूले बताएका छन् ।

उनी पक्षीय नेताहरू भने संस्थापनले गर्ने महाधिवेशनतर्फ ढल्किएका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वको पक्षमा गरेको फैसला पुनरावलोकनको निवेदन दिएको कारण नैतिकताका आधारमा आफू सहभागी नहुने खड्काले बताएको उनी निकट नेताहरूले जानकारी गराएका छन् ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्यले भने,‘पुनरावलोकनको मुद्धा लिएर गएको हुँदा उहाँलाई नैतिक प्रश्न उठ्ने हुँदा पूर्णबहादुर दाइ अहिले खुल्न चाहनु भएको छैन ।’

पूर्व सभापति देउवा र खड्काले पुनरावलोकनका लागि फरक-फरक रिट दर्ता गराएका थिए ।

पछिल्लो समय पूर्व संस्थापनका केही नेताहरू सभापति थापा नेतृत्वले गर्ने नियमित महाधिवेशनतर्फ ढल्किएका छन् ।

दुवै पक्षलाई महाधिवेशन स्थगित गरेर संवाद गर्न आग्रह गर्ने अधिकांश नेताहरू संस्थापनले गर्ने महाधिवेशनमा सहभागी हुने एक नेताले जानकारी गराए ।

दुईदिन अघि अपील गर्ने मध्ये अधिकांश असोजमा हुने महाधिवेशनमा सहभागी हुने नेताहरुले जानकारी गराएका छन् ।

नेताहरू महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही, मीन बहादुर विश्वकर्मा, रामहरि खतिवडा, नेता नैनसिंह महर, सीता कुमारी राना, सरस्वती बझिमय, मान बहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेश जंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौडेल, ललितजंग शाही, प्रदीप कुमार सुनुवार, इन्द्र बहादुर बानिया अनिल रुंगटा लगायतले दुबै पक्षको कार्यतालिका रोकेर संवाद गरी सहमति खोज्न आग्रह गरेका थिए ।

संयुक्त अपील गर्ने मध्येकी एक सीता गुरुङ संस्थापनतिर रहेको संकेत सामाजिक सञ्जाल मार्फत गरेकी छन् । उनी भन्छिन्,‘भ्रममा नपरौं । नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र चारतारे झण्डा जहाँ, म त्यहि हुन्छु । सहमति , सहकार्य र एकता आजको आवश्यकता ।’

नेता शेखर कोइराला निकटका कतिपय नेताहरू सभापति थापाको समितिमा रहिसकेका छन् । केही भने सहभागी हुन चाहेका छैनन् । कोइराला निकटका नेताहरू बद्री पाण्डे, डा.मिनेन्द्र रिजाल, सञ्जय गौतम लगायत उनीसँगै छन् ।

कोइराला समूहमै रहेका दिपक गिरी भने सभापति थापा नेतृत्वको समितिमा आउन इच्छुक रहेको कांग्रेसका एक केन्द्रीय सदस्यले दाबी गरे । कोइराला कुनै पक्षको पनि महाधिवेशनमा सहभागी नहुने मनस्थितिमा रहेको उनी निकट नेताहरू बताउँछन् ।

पूर्वसभापति देउवाको सम्मानपूर्वक बर्हिगमन कोइरालाले चाहेको नेताहरूले बताएका छन् । नेता रामहरि खतिवडा भन्छन्,‘हामी शेरबहादुर देउवाको पनि ‘ग्रेसफुल एक्जिट’ होस् भन्ने चाहन्छौं । अबको राजनीतिमा नयाँ पुस्तालाई अगाडि लिएर हिँड्दा नै फाइदा हुन्छ भन्ने हामीले महसुस गरेका छौं ।’

कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशन गर्ने गरी मिति तोकेको छ । असोज ३ र ४ गते वडा अधिवेशनको मिति तय गरिएको
छ ।

जिल्ला र प्रदेशको अधिवेशन भने महाधिवेशन पछि गरिने भएको छ ।

अर्कोतर्फ, देउवा पक्षले पनि समानान्तर रुपमा महाधिवेशन केन्द्रित गतिविधिहरु गर्दै आएको छ । मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन हुने गरी संस्थापनइतरले कार्यतालिका बनाएको छ । संस्थापनइतरले असोज १५ गते वडा अधिवेशनको मिति तय गरेको छ ।