Breaking News

पसिनाको हैकम

मरुभूमिले बालुवा फलाउन
पानी हाल्दै हाल्दै
रोपेको अग्लो रुखमा
यादका अनगिन्ती सुप्लाहरु
फुले झैँ
फुल्छन पुराना प्यालाहरु
र यादहरु भरिन्छन
दुई जोडी चन्द्रमाहरु
हरेक बिहान निन्द्रामा
बचपनका सखा जसरी
बारम्बार अध्यारो संगै पुग्छन्
यात्राका मालिक जस्तै
बैशागीहरु सहयात्री भएर
यात्री जस्तै यात्रा बन्दिन्छन्
पसिनाले हैकम गरेर
जवान जीउमा गहिरो खोला खन्दै
नुनिलो खहरे संगसंगै
समुन्द्रको चाक्लो छेउ सम्म जान्छन्
आँखाहरु नुनिला बनेर
फुल्छन फुलबुट्टा अनिदो आगनमा
जुनकीरीको अध्यारो बोकेर
जवान आसहरु
बुढो समुन्द्र संग
पलेटी खेल्न अनिदो पसिना
जुनकीरीको उज्यालो समातेर
गहिरो खोला खन्दै
फेरि पर पुग्छ
खहरे जसरी बग्दै बग्दै
हरेक उज्यालो निन्द्रामा
बैशागी बन्दै जवान जीउभरी
गहिरो खोला भएर बगि रहन्छ
हर मौसम
रहरका प्यालाहरु भर्न।।

-दीर्घ बहादुर शाही (डोक्काघरे)

-दीर्घ बहादुर शाही (डोक्काघरे)