Breaking News

इरान र अमेरिकाले दुई साता सैन्य कारबाही नगर्ने घोषणा

एजेन्सी/ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई साता सैन्य कारबाही नगर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ ।

उनले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको पुष्टि गर्न इरानको विदेशमन्त्री अब्बास अरघचीको वक्तव्य समेत ट्रुथ सोसलमा साझा गरेका छन् ।

सो वक्तव्यमा अरघचीले भनेका छन्, ‘यदि इरानविरुद्धका आक्रमण रोकिए भने, हाम्रो शक्तिशाली सशस्त्र बलले आफ्ना रक्षात्मक कारबाहीहरू रोक्नेछ । साथै, आगामी दुई हप्तासम्म स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत इरानको सैन्य समन्वयमा सम्भव हुनेछ ।’

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो वक्तव्य पनि सार्वजनिक गरेका छन् । सो वक्तव्यमा इरानमाथि दुई हप्ताका लागि आक्रमण स्थगित गरिएको उल्लेख छ । उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए ।

ट्रम्पले लेखेका छन्, ‘प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानका फील्ड मार्शल असिम मुनिरसँग भएको संवादमा, उहाँहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गर्नुभएको थियो । साथै, इरानले स्ट्रेट अफ होर्मुजलाई पूर्ण, तत्काल र सुरक्षित रूपमा खुला गर्न सहमत हुने सर्तमा, म इरानमाथि हुने बमबारी र आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु । यो दुवै पक्षबाट हुने युद्धविराम हुनेछ ।’

दीर्घकालीन समस्याको समाधान नजिक

ट्रम्पले थप लेखेका छन्, ‘यस निर्णयको कारण के हो भने, हामीले सैन्य उद्देश्यहरू पहिले नै पूरा गरिसकेका छौँ र धेरै हदसम्म दीर्घकालीन शान्ति सम्बन्धी स्पष्ट सहमतितर्फ अघि बढिसकेका छौँ । हामीलाई इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ, जसलाई वार्ताका लागि व्यवहारिक आधारका रूपमा लिइएको छ ।’ उनले अमेरिका र इरानबीच विगतका अधिकांश विवादका विषयहरूमा सहमति भइसकेको र दुई हप्ताको समयले अन्तिम सहमति तयार गर्न र कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘अमेरिकाको राष्ट्रपतिको हैसियतमा, साथै मध्यपूर्वका देशहरूको प्रतिनिधित्व गर्दै, यो दीर्घकालीन समस्याको समाधान नजिक पुगेको देख्दा मलाई गर्व लागेको छ ।’

ट्रम्पको यो घोषणा उनले सम्झौताका लागि दिएको अन्तिम समयसीमा सकिनुअघि आएको हो । यसअघि उनले इरानविरुद्ध कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त’ पार्ने धम्की दिएका थिए, जसलाई परमाणु आक्रमणको धम्कीका रूपमा समेत व्याख्या गरिएको थियो । उक्त अभिव्यक्तिको अमेरिकाभित्रै आलोचना भएको थियो ।

ह्वाइट हाउसको प्रतिक्रिया

युद्धविराम घोषणापछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वार्ता प्रक्रिया जारी रहने बताएकी छन् । उनका अनुसार आगामी दिशा राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले निर्धारण गर्नेछ ।

लेविटले अमेरिकी प्रशासनले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न सहमत गराएको दाबी गर्दै अब थप कूटनीतिक संवाद अघि बढ्ने बताएकी
छन् ।

आगामी वार्ता शुक्रबार पाकिस्तानमा हुने बताइएको छ । यद्यपि, पाकिस्तानमा हुने भनिएको वार्ताले ठोस परिणाम दिन्छ कि दिँदैन भन्नेमा अन्तर्राष्ट्रिय समुदायको चासो छ ।

एजेन्सी