सुदुरको यात्रामा
चाक्लो सपना संगै
फराकिलो गन्तव्य बोकेर
खुसीका कोमल बिस्कुन सुकाए जसरी
अनगिन्ती रहर बोकेर
एक थान पुरानो थैलो
यात्रा गर्दै छ
सुदुरको सुन्दर गन्तव्य पुग्न
वृद्ध चेहरा
इन्द्रेणीको रङ्गिन रङ्ग भर्दै
जिन्दगीले एकसरो पलेट मार्दा
दुखको अन्तिम पलमा
तिमिलाई सम्झिन्छु
सुख आर्जनमा महिना बितेको दिन
थोरै तनखा पाउँदा
त्यही दिन पनि
तिमिलाई सम्झिन्छु
माथिल्ला घरे
राइला बाका राइला छोराले
राइली भाउजूलाई
फुलबुट्टा भरेको मखमली सारी पठाउदा
त्यस बेलामा
तिमिलाई सम्झिन्छु
पल्ला घरे काइलाले
काइली नानिलाई
रेशमी पछ्युरा दिदा
रेशमको पछ्युरा हेरेर
तिमिलाई सम्झिन्छु
हुँदा हुँदा
यात्राले सुदुर पुग्न छोडेको दिन
तिमिलाई सम्झिन्छु
बुढो कानलाई
जवान आभुषण किन्न
मुग्लान पसेको दिन
तिमिलाई सम्झिन्छु
सागुरो जिउलाई खुल्ला बस्त्र छान्दा
तिमिलाई सम्झिन्छु
सुरिलो गलामा लामो हार लगाउन
इच्छा गरेको दिन
तिमिलाई सम्झिन्छु
पर्खन भन्दा
आवेगले आवेग बोकेर हिडेको दिन
सुदुरलाई सम्झिन्छु
अप्ठ्यारोमा तिमी र सुदुर
खासै फरक भएनौ
त्यसैले
मर्छु जस्तो लागेको दिन
बेस्सरी सम्झिन्छु
किनकि
सुदुर र तिमी जहिले
बर्ता याद भएर करिब आयौं।।
–दीर्घ बहादुर शाही (डोक्काघरे)

