Breaking News

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीको आकांक्षा

काठमाडौं – युवा पर्यटन व्यवसायी एंव समाजसेवी सुदामा कार्की क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएको छन् । असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका आकांक्षी कार्कीले पार्टी संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउन आफूले योगदान दिन उम्मेदवार बन्न लागेको बताएका छन् । कार्की रास्वपा काठमाडौं महानगर अधिबेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका थिए ।

लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय कार्की सफल पर्यटन व्यवसायीका रूपमा परिचित छन् । पर्यटन क्षेत्रको व्यावहारिक अनुभव, व्यवस्थापकीय क्षमता तथा निजी क्षेत्रसँगको सहकार्यलाई राजनीतिक नेतृत्वमार्फत राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यले उनले रास्वपाको केन्द्रीय सदस्य पदमा आकांक्षा व्यक्त गरेका हुन् ।

कार्की हाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रूपमा समेत सक्रिय छन् । सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ । असहाय बालबालीकाहरुको बासस्थान तथा शिक्षामा योगदान गर्दै आएका कार्कीले उनीहरुको हक र हितको लागी आवाज उठाउँदै आएका छन् ।  कार्कीले लामो समय विश्वभाषा क्याम्पसमा जर्मन भाषाको अध्यापन पनि गरे ।

उनले देशमा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा, व्यवसायी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई राजनीतिमा सहभागी गराएर सकारात्मक परिवर्तन सम्भव रहेको उनको भनाइ छ ।
कार्कीले पार्टीभित्र अनुभव, क्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई आधार बनाएर नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै रास्वपाको संगठन विस्तार तथा जनविश्वास अभिवृद्धिमा आफू निरन्तर लागि पर्ने बताएका छन् । उनले विश्वका पचासौं देशका भ्रमण गरिसकेका छन् ।
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि रास्वपाका उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण भुमिका खेलेका थिए ।
पर्यटन, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै कार्कीले रास्वपाको केन्द्रीय तहमा जिम्मेवारी पाउने विश्वास व्यक्त गरेका छन् । उनका समर्थकहरूले पनि पार्टीलाई बलियो बनाउन सक्षम, अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा कार्कीलाई केन्द्रीय सदस्यमा चयन गर्नुपर्ने धारणा राखेका छन् । उनी पार्टीमा लामो समयदेखी सक्रिय रहँदै आएका छन् ।