प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदैछ । चुनाव आउन केही सातामात्र बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता बजारमा भन्छन्, रवि र बालेनसहितका उम्मेदवारलाई जसरी भएपनि चुनाव जिताउनुपर्छ । त्यस्तै, मजदुर किसान पार्टीबाट भक्तपुर क्षेत्र नम्बर १, का उम्मेदवार प्रेम सुवाललाई पनि जिताउन कार्यकर्ता कसिएका छन् ।
त्यसका निम्ति पानीजसरी पैसा खर्च गर्नेदेखि मतदातालाई विभिन्न आश्वासन कार्यकर्ता बाँडिरहेका छन् । भक्तपुर १, मा २०४८ सालदेखि मजदुर किसान पार्टीले चुनाव जित्दै आएको छ । पहिले सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्ँछे उठ्थे । तर, वृद्धावस्थाका कारण उनकै समर्थनमा सुवाललाई केही समययता उम्मेदवार बनाइरहेको छ ।
भक्तपुरमा मजदुर किसान पार्टीले चुनाव जित्नुको कारण अलग्गै छ । यहाँका सबै स्थानीय तहमा मजदुरकै प्रतिनिधि चुनिएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति मजदुर किसान पार्टीका नेता हुन् । भक्तपुर, १ मा ०४८ सालदेखि मजदुरले कसरी चुनाव जित्दै आएको छ त ? अहिले पर्दाफास हुन थालेको छ ।
घरबहाल, व्यापार व्यवसायलगायत कर छुट दिने, पानी, फोहोरको शुल्क नलिने, आफ्ना कार्यकर्तालाई ठेक्कापट्टा वा जागिर दिलाउने, मापदण्डविपरीत बनेका घरलगायत संरचनालाई सम्पन्नता प्रमाणपत्र दिने, सरकारी, गुठी, ऐलानी, राजपरिवारलगायतको जग्गा आफ्ना कार्यकर्तालाई बाँड्नेजस्ता काम गरेर मजदुरले चुनाव जितिआएको बताइन्छ ।
भक्तपुरमा मापदण्डविपरीत इट्टाभट्टा सञ्चालन भएका छन् । इट्टाभट्टाका कारण हिउँदमा बसिटिक्नु हुँदैन । त्यसबाट निस्कने प्रदूषणका कारण धेरै दीर्घरोगको शिकार बनेका छन् । तर, यहाँका अधिकांश इट्टाभट्टामा प्रेम सुवाल र नारायणमान बिजुक्ँछेकै लगानी रहेको स्थानीय बताउँछन् । उनीहरुले जग्गा प्लटिङसमेत गर्ने गरेको आरोप छ ।
भक्तपुरमा थुप्रा मठमन्दिर छन् । विश्व सम्पदा सूचीमा सूचीकृत पाँच तलेदेखि पञ्पन्न झयालेलगायत मन्दिर यहाँ छन् । तर, यी सम्पदा ०४८ सालअगावै बनेको छ । यी सम्पदा हेर्न स्वदेशीदेखि विदेशी पर्यटकसम्म आउने गरेका छन् । नगरपालिकाले उनीहरुसँग यसबापत शुल्क असुल्दै आएको छ । पर्यटकबाट मात्र नगरपालिकाले मासिक लाखौं रकम आम्दानी गर्छ ।
तर, यो रकम विकास निर्माणमा खर्च नगरी मजदुर किसान पार्टीको कार्यक्रममा खर्चिने गरेकोसमेत आरोप छ । मजदुर किसान पार्टीले आफ्नो विरोधमा बोल्ने वा अन्य दलका मान्छेलाई नगरपालिकाबाट पाउने सेवासुविधाबाट वञ्चित गराउने गर्छ । त्यसैले, भक्तपुर १ मा प्रायजसो स्थानीय मजदुर किसान पार्टीमा आबद्ध छन् । ०७९ को स्थानीय तह चुनावमा मजदुरलाई भोट नदिएकै कारण भक्तपुर नगरपालिका–१ र ६ का वडाध्यक्षहरुले नागरिकता सिफारिस दिएनन् । त्यसपछि गृह मन्त्रालय गुहारेका उनीहरुले बल्ल सिफारिस पाएका थिए । भक्तपुर १, का जनतालाई मजदुर किसान पार्टीले दबाएर राखेको छ ।
सो पार्टीको विरोधमा बोलेमा मजदुरका कार्यकर्ता कुट्नै आइपुग्छन् भने नगरपालिकाले सेवासुविधाबाटै वञ्चित गराइदिन्छ । तर, भनिन्छ कि अतिले खति निम्त्याउँछ । अहिले यहाँका स्थानीयले मजदुर किसान पार्टीको खुलेआम विरोध गर्न थालेका छन् । उनीहरु भन्छन्, ‘बरु हामी सेवासुविधाबाट वञ्चित हुन्छौं, कुटाई पनि खान्छौं तर अब बोल्छौं ।’
मजदुर किसान पार्टीले भक्तपुर १ मा विकास होइन, विनाश गरेको छ । यहाँका सबै सरकारी, गुठी, ऐलानी, सार्वजनिक, मठमन्दिर, तालतलैया, राजपरिवारलगायतको जग्गा उसले आफ्नो कार्यकर्तालाई बाँडिसकेको छ । सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेश, दुवाकोट जाने ट्याम्पोपार्क, सिर्जनानगर, राधेराधेको भाटभटेनी, निर्माणाधीन पन्ध्र तले भवन, ड्राइभिङ सेन्टर, राजेश हार्डवेयरसहित आसपास घरलगायत संरचना बनेका जग्गा सरकारी, गुठी र ऐलानी भएको रैथाने स्थानीयको दाबी छ ।
यहाँ २०२१ सालमा जग्गा नापजग्गा भएको थियो । त्यतिबेला यी जग्गालाई सरकारी, गुठी र ऐलानीमा राखिएको थियो । त्यसैले, ०२९ सालसम्म यहाँ एउटै घर बनेको थिएन । ०३२ सालमा मजदुरका एक कार्यकर्ताले यहाँ छाप्रो हाले । तिनै व्यक्तिले ०३५ सालमा ढुंगा, माटोको घर बनाए । छानो टायलको राखेर । त्यसपछि मजदुरका अन्य कार्यकर्ताले पनि यी जग्गा हड्पेर घर बनाएका हुन् ।
यसरी आफ्ना कार्यकर्तालाई कब्जा गर्न लगाएको जग्गा ०४६ सालमा भएको राजनीतिक परिवर्तनपछि पदमा पुगेबित्तिकै मजदुर किसान पार्टीका प्रतिनिधिहरुले उनीहरुकै नाममा गरिदियो । अहिले उनीहरुले यो जग्गा बाहिरी जिल्लाका जनतालाई बेचेका छन् । यसले उनीहरु नराम्ररी डुब्ने देखिन्छ । ०२४ सालमा तत्कालिन राजा महेन्द्रले सल्लाघारी तीनकुनेमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा स्थानीयसँग प्रतिरोपनी एक हजार रुपैयाँमा किनेका छन् ।
०६५ सालमा राजतन्त्रको अन्त्यपश्चात् यो जग्गा नेपाल ट्रष्ट्रको संरक्षणमा गएको छ । तर, अहिले यो जग्गा बढीमा ६०–६५ रोपनीमात्र बाँकी छ । अरु जग्गा कब्जा गरेर मजदुर किसान पार्टीका कार्यकर्ताले घरलगायत संरचना ठड्याएका छन् । बाँकी रहेको जग्गामा समेत भक्तपुर नगरपालिकाको कब्जा छ । अझ भन्नुपर्दा यो जग्गामा नगरपालिकाले आँखा गाडेर बसेको छ । अहिले यो जग्गामा विभिन्न क्रियाकलाप गरेबापत नगरपालिकाले शुल्क असुल्दै आएको छ । यद्यपि, त्यो रकम नगरपालिकाको खातामा नगई मजदुरका नेता–कार्यकर्ताको गोजीमा जाने गरेको आरोप छ ।
सल्लाघारी तीनकुने चौरनजिकै यातायात कार्यालय छ, त्यसकै अगाडि एउटा ठूलो घर छ । जुन विकलाल खिउँजुको
हो । उक्त घरमा चिया पसलदेखि किराना, फलफूल, ब्यूट्री पार्लरसम्म सञ्चालन हुँदै आएको छ । खिउँजुले तीन वटा ढुंगेधारा मासेर घर बनाएको स्थानीयको आरोप छ । तर, मजदुरको कार्यकर्ता भएकै कारण उनले सम्पन्नता प्रमाणपत्रसमेत पाइसकेका छन् ।
मजदुर किसान पार्टीले भक्तपुर १ का जनतालाई यति भ्रमित बनाएका छन्, बयान गरिसाध्य छन् । मजदुरका कार्यकर्ता भन्छन्–भूमि ऐन हाम्रो पार्टीले ल्याएको हो । जबकी यो ऐन ०२१ सालमा राजा महेन्द्रले ल्याएका थिए । यतिमात्र होइन ०४८ सालदेखि राज्यले भक्तपुर १, का लागि बजेट नदिएको र बिजुक्ँछे र सुवालको गोजीबाट खर्च गरेर विकास गरिएको झुटो दाबी गर्छन् । अब संघीय सरकारले नै भन्नुपर्दा कि भक्तपुर १ लाई बजेट दिइएको छ कि छैन ?
यदि दिइएको छ भने बिजुक्ँछे र सुवालले किन आफ्नो गोजीले खर्च गर्नुपरेको छ त ? जनतालाई भ्रमित बनाउने यिनीहरुलाई अब कारबाही गरिनुपर्छ । अहिले यो आवाज चर्किन थालेपछि सुवाललाई फागुन २१ गते जिलाउन मजदुर किसान पार्टीका कार्यकर्ता लागिपरेका छन् । उनीहरु करोडौं खर्च गर्न पनि तयार देखिन्छन् । तर, यहाँका जनता अब सुवाललाई भोट नदिने बताउँछन् । योसँगै रास्वपालाई पनि जिताउन कार्यकर्ताहरु कस्सिएका छन् ।
रविमाथि अमेरिकामा मात्र दर्जनौं मुद्दा छन् । नेपालमा पनि दर्जनौं सहकारी ठगेको मुद्दा अदालतहरुमा विचाराधीन
छन् । यतिमात्र होइन, उनीमाथि आफ्नै सहकर्मी शालिकग्राम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको, पासपोर्ट दुरुपयोगजस्ता आरोप छ । सँगै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पनि रवि र बालेन दुवै मुछिएका
छन् ।
उनीहरुकै मिलीभगतमा आन्दोलनलाई त्यो हदसम्म पुर्याएर ७६ युवाको ज्यान गएको र खर्बौको निजी र सरकारी सम्पत्ति जलाएको जनताले बुझ्न थालेका छन् । अनि जनता सचेत हुन थालेसँगै चुनाव नजित्ने संकेत देखेपछि उनीहरुलाई जिताउन कार्यकर्ताहरु लागि परेका छन् । त्यसका निम्ति मतदातालाई अनेकौं प्रलोभन देखाइरहेको धेरैको आरोप छ । किनकि रवि र बालेनले चुनाव नजितेमा र फेरि पुरानै दल सत्तामा पुगे उनीहरु जेल पुग्ने निश्चित छ । यसकारण जसरी भएपनि फागुन २१ गतेको चुनाव जित्न उनीहरु लागिपरेका छन् ।

