Breaking News

लैंगिक अल्पसंख्यकका पहलले रोजगारी सिर्जना र समावेशी अर्थतन्त्रको सन्देश

काठमाडौँ – ११ वर्षको उमेरमा मकवानपुरबाट काठमाडौँ प्रवेश गरेकी ज्ञानु लामा गलैँचा कारखानामा काम गर्थिन्। “पढेको छैन, राम्रो काम पाइएन,” उनी भन्छिन्।

त्यही काममा पनि ‘यी त केटीजस्तो रैछन्, तेस्रोलिंगी’ भनेर हेपिनुपरेको उनी विगत सुनाउँछिन्। “त्यतिखेर त तेस्रोलिंगी भन्दैनथे, छक्का–हिजडा भन्थे। छक्का, छक्का भन्ने गर्थे,” ज्ञानुका ती शब्दमा उनको पीडा झल्किन्छ।

लगातारको अपमान र विभेदपछि ज्ञानुले धेरै दुःख पाइन्। परिस्थितिले उनलाई सडकमा उभिन बाध्य बनायो। “अहिले त उमेर पनि गयो। मान्छेहरूले पनि हरेक शब्द प्रयोग गर्छन्,” उनी आफ्नो अनुभूति व्यक्त गर्छिन्।

अनेकथरी दुःख र गाली सुन्नुभन्दा केही आफ्नै गर्ने इच्छाले ज्ञानुको मन छोयो। “होटल–रेस्टुरेन्ट खोलेर काम गर्न पाए बुढेसकालमा राम्रो हुन्छ कि भनेर सोचेँ,” उनी भन्छिन्। “चल्यो, राम्रो भयो भने समुदायका साथीहरू, भाइहरूले पनि सिक्ने हो भने राम्रो हुन्छ कि भनेर रेस्टुरेन्ट खोल्यौँ,” ज्ञानुले भनिन्।

खोटाङबाट स्नातकोत्तर पढ्न काठमाडौँ आएका २३ वर्षका जेनजी बाबु दुमि राई गत वर्षसम्म युएसएआइडीको एचआइभी परियोजनामा कार्यरत थिए। अमेरिकामा डोनाल्ड ट्रम्पको शासन सुरु भएपछि फन्ड कटौती भयो। त्यसपछि करिब ७ सय जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू बेरोजगार बने।

काम गुमेपछि अवस्था झन् जटिल बन्यो। कम्फर्टेबल नहुँदा नहुँदै पनि कम्तीमा २५ देखि ३० प्रतिशत समुदायका व्यक्तिहरू अझै पनि सडकमा उभिन बाध्य छन्। एचआइभी तथा एसटिआई सेवा प्रभावित भएको छ। परियोजनाहरू बन्द भएपछि समुदायका धेरै मान्छे जागिरविहीन भए। कतिपय त योग्य हुँदाहुँदै पनि काम नपाएर सेक्सवर्कमा संलग्न हुन बाध्य भएका छन्।

ब्याचलर सकेर मास्टर गर्दै गरेका बाबु दुमिले पनि सजिलै काम पाउन सकेनन्। ब्लु डायमन्ड सोसाइटीबाट परियोजना बन्द भएपछि उनले जागिर गुमाए।

“समुदायका लागि खुलेका सङ्घसंस्थाले सबैलाई जब दिन सम्भव छैन। अब आफैँबाट केही क्रिएट गर्नुपर्छ, अरूलाई रोजगारी दिनुपर्छ,” सुनिल बाबु पन्तले भनेको कुराले बाबु दुमिलाई छोयो।

“मैले यही खोजिरहेको थिएँ, ह्वाइ नट,” उनले भने। नेपाल पर्यटन बोर्डको सहयोगमा मायाको पहिचान नेपालले दिएको उद्यमशीलता तालिमबाट थप आइडियाहरू आएको बाबु दुमि बताउँछन्।

उनका अनुसार समुदायका लागि सुरक्षित ‘सेफ स्पेस’समेत अभाव छ। साना–साना पार्टीहरू आयोजना गर्दै आएका उनी जीवन यसरी चल्दैन भन्ने निष्कर्षमा पुगे। “संस्थाहरू वायस हुँदै गए, प्रिन्सिपल मिल्न छोड्यो,” उनी भन्छन्।

सुनिल बाबु पन्तमाथि एन्टिजेन्डरको आरोप लागेको सन्दर्भमा पनि बाबु दुमि जिज्ञासु थिए। “यदि पियोर एन्टिजेन्डर नै हो भने म संलग्न हुँदिन,” भन्दै उनी पन्तलाई भेट्न गए। कुराकानीपछि उनले संस्थाहरूले चित्रण गरेजस्तो पन्त नपाएको बताए। “ओके, म पनि इन्भल्भ हुन्छु,” उनले भने।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारको इतिहास कोर्ने व्यक्ति सुनिल बाबु पन्तसँग मिलेर के गर्न सकिन्छ भनेर बाबु दुमिले सल्लाह लिए। पन्तले विभिन्न आइडिया दिए। मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँग आग्रह गरेर केही सहयोग जुटायो। अहिले समुदायका २४ जना बारिष्टा र बेकरी तालिम लिइरहेका छन्।

त्यही तालिममा सहभागी पाँच जनाले समूह बनाएर संयुक्त रूपमा चिलपिल जोन खोले। रेस्टुरेन्ट सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले आर्थिक सहयोग गरेको छ। रेस्टुरेन्ट सञ्चालन गर्न करिब १० देखि १२ लाख रुपैयाँ खर्च भएको छ। “हिसाब गर्नै बाँकी छ,” चिलपिल जोनकी पाँच सञ्चालकमध्येकी एक माया गुरुङ भन्छिन्।

सोह्खुट्टे ओरालोको बायाँपट्टि, पकनाजोल प्रवेश गर्ने बित्तिकै सानो ढोकाबाट प्रवेश गर्नुपर्छ चिलपिल जोनमा। मायाको पहिचान नेपालले समुदायको जीविकोपार्जनसँग जोडिएका योजनासहित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। घरधनीसँग तीन वर्षको बहाल सम्झौता गरेर चिलपिल रेस्टुरेन्ट सञ्चालनमा आएको हो।

चिलपिल जोन समुदायका लागि मात्र नभई सबैका लागि शान्त र सुरक्षित वातावरण दिने उद्देश्यले सञ्चालन गरिएको सञ्चालकहरू बताउँछन्। पाँच सञ्चालकमध्ये माया र सुरेन्द्र पाण्डे दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडी हुन्। सबै पाँच जनाले आ–आफ्नो क्षमताअनुसार काम बाँडफाँड गरेका छन्। रेस्टुरेन्टमा कुक र हेल्परसहित तीन जनाले रोजगारी पाएका छन्।

“यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मात्रै होइन, सामान्य महिला–पुरुष पनि आएर शान्त वातावरणमा खान सक्नुहुन्छ,” मायाले भनिन्। “सबै जनालाई वेलकम छ।”

चिलपिल जोनलाई नमुनाका रूपमा सञ्चालनमा ल्याइएको बताउँदै मायाले भनिन्, “समुदायका साथीहरू जोडिन चाहनु भयो भने भविष्यमा जिल्ला–जिल्लामा यसको ब्रान्च खोल्ने तयारी पनि गरेका छौँ।”

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको संयुक्त लगानी र साझा प्रयासमा ‘चिलपिल जोन’ नामक क्याफे तथा रेस्टुरेन्ट सञ्चालनमा आएको हो।

होटल व्यवसाय सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सहयोग गरेको चिलपिल जोनका सञ्चालकमध्येका एक सुरेन्द्र पाण्डेले बताए। “यो सुरुवात हो,” उनले भने, “विभिन्न ठाउँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले यस्तो किसिमको व्यवसाय सञ्चालन गरेर रोजगारी पाउन सके भने एकदमै राम्रो हुन्छ।”

पर्यटन बोर्डसँग सुनिल बाबु पन्तले कनेक्ट गराइदिएको पाण्डेले बताए। “अवसरको बारेमा जानकारी पाएपछि हामी खाली छौँ, बेरोजगार छौँ, किन नगर्ने भन्ने भयो,” उनले भने, “गर्नुपर्छ भनेर लाग्यौँ।” पाण्डेका अनुसार चिलपिल जोनमा एकैपटक ४० जनासम्म बस्न सकिने स्पेस छ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले पर्यटन क्षेत्रमा संलग्न सरोकारवालाहरूलाई क्षमता अभिवृद्धि कार्यक्रमसँग जोड्दै आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार रोजगारीतर्फ लैजान पर्यटनसँग सम्बन्धित विभिन्न तालिमहरू प्रदान गरिएको छ।

तालिममार्फत आयआर्जनमा कसरी जोडिन सकिन्छ भन्ने उद्देश्यले क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको बोर्डका राष्ट्रिय परियोजना प्रबन्धक धर्मराज दवाडीले बताए।

उनका अनुसार तालिम दिने क्रममा महिला, युवा, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई अझ बढी प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

यसैक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका २४ जनाले बेकरी र बारिष्टा तालिम लिइरहेका छन्। “तालिम लिइरहेका मध्येबाट क्याफेको रूपमा सञ्चालन गर्न सके उद्यमतर्फ जान सक्छौँ, आयआर्जनमा जोडिन सक्छौँ,” दवाडीले भने, “सिकेकाहरूलाई नै रोजगारी दिने उद्देश्यअनुरूप चिलपिल जोन क्याफे दर्ता गरी सञ्चालन गरिएको हो।”

परियोजनाले काम गर्दा सम्भव भएसम्म महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पर्यटनको मूलधारमा कसरी ल्याउने र उनीहरूको आयआर्जन तथा रोजगारीको अवस्था कसरी सिर्जना गर्ने भन्ने कुरालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन भइरहेको दवाडीले बताए। “यस्ता कार्यक्रमबाट उहाँहरू लगायत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू अघि बढ्न सके भोलिका दिनमा हामी अझ अगाडि जान सक्छौँ,” उनले भने।

आर्थिक उपार्जनको दायरा फराकिलो बनाउँदै लैजान सकिने सम्भावनाले आफूहरू झनै प्रेरित भएको पहिलो संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यक्रम निर्देशक सुनिल बाबु पन्तले बताए। नेपालको आर्थिक अवस्थालाई मध्यनजर गर्दै लामो समयदेखि यो समुदायलाई कसरी आर्थिक रूपमा सक्षम बनाउने भन्ने विषयमा विभिन्न सोच र योजनाहरू अगाडि ल्याइँदै आएको उनले जानकारी दिए।

त्यही सिलसिलामा पर्यटनलाई कसरी प्रवर्द्धन गर्ने र विश्वभरिका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकहरूलाई नेपालमा आकर्षित गरेर त्यसबाट यो समुदायले कसरी फाइदा लिन सक्छ भन्ने विषयमा पनि धेरै योजनाहरू अगाडि आएको पन्तले सुनाए। दुई वर्षअघि नेपाल पर्यटन बोर्डसँग मिलेर अन्तर्राष्ट्रिय रेन्बो टुरिजम सम्मेलन आयोजना गरेको स्मरण गर्दै उनले छिमेकी देशहरूको तुलनामा नेपाल पर्यटन बोर्डले समावेशी पर्यटनका सवालमा निकै अगाडि बढेर काम गरिरहेको देख्दा खुशी लागेको बताए।

बरिष्टा र बेकरी तालिम लिएका २४ जनामध्ये पाँच जनाले अगाडि आएर चिलपिल जोन सञ्चालन गरेका हुन्। क्याफेमा ब्रेकफास्ट, लन्च र डिनरको सेवा उपलब्ध हुनेछ। “यो समुदायका मान्छेहरू गर्वका साथ, कुनै डर बिना खुलेर समय बिताउने र मनोरञ्जन लिन सक्ने ठाउँको अभाव थियो, त्यो अभाव आजबाट चिलपिल जोनले पूरा गरेको छ,” पन्तले बताए।

समुदायले आफ्नै लगानी गरेर अगाडि आएकोमा पन्तले हौसला प्रदान गरे। उनले पर्यटन बोर्ड र युएनडिपीबाट प्राप्त सहयोगमार्फत कफी मेसिन, फ्रिज, ओभनलगायत सामग्री खरिद गर्नुका साथै टेबल–कुर्सीको व्यवस्था गरिएको जानकारी दिए। पन्तका अनुसार तन्त्र हेरिटेज टुरलगायत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित विभिन्न पर्यटन योजनाहरू पनि अघि सारिँदैछन्। पन्त रेन्बो टुरिजम एम्बेस्डरसमेत हुन् र आगामी दिनमा पर्यटन बोर्डसँग थप सहकार्य गर्ने योजना रहेको उनले बताए।

चिलपिल जोन मात्रै नभई भविष्यमा रेस्टुरेन्ट, क्याफे, होटल, होमस्टे र गेस्टहाउस खोल्ने अवसरहरू पनि रहेको पन्तले बताए। “यो समुदाय मिलेर खोलेको पहिलो हो,” उनले भने, “प्राइभेट रूपमा खुलेका एक–दुई वटा छन्, राम्रै चलिरहेका पनि छन्। तर यो सामूहिक रूपमा आएको हो।” समुदायका सदस्यहरूले सहकारीजस्तै थोरै–थोरै लगानी गर्ने, आफैँ मेहनत गर्ने र रोजगारी पनि यही समुदायलाई दिने सोचले अरू धेरैलाई प्रेरणा दिने पन्तको भनाइ छ।

समुदायले देखेको सपना जस्तै छिट्टै नेपालभरि विभिन्न ठाउँमा यसको ब्रान्च खोल्न सफलता मिलोस् भन्दै पन्तले शुभकामना व्यक्त गरे। “यसले धेरै रोजगारी सिर्जना गरोस्। यो समुदायलाई आर्थिक बोझको रूपमा होइन, आर्थिक योगदानकर्ताका रूपमा देशले चाँडै स्वीकार गर्न सकोस्,” उनले भने, “त्यसका लागि मेरो सदैव सहयोग रहनेछ।”

समुदायभित्रै रोजगारी सिर्जना, सीप विकास र आर्थिक आत्मनिर्भरताको उद्देश्यसहित सुरु गरिएको यो पहललाई अहिले लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीविकोपार्जनका लागि उदाहरणीय आर्थिक उपार्जनको कामका रूपमा हेरिएको छ। भावी योजनाअन्तर्गत यसलाई विभिन्न जिल्लामा विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ।