अचेल
खासै उल्लासका
प्रार्थनाहरु लाग्दैनन्
कहिले कसो
आस्थाको दिव्य धरोहर पनि
जिन्दगी चलाउने कठिन सुरुवात जस्तै लाग्छ
हैसियत हेरेर नजर नपुगाउनु
मैले पुज्ने मानसरोवर
बलियो पाखुरा देख्दैमा
तेतै सहमतिका अञ्जुली पनि नफैलाउनु
रिस उठेकै भरमा
होचो भुइँ मान्छे प्रति
अपमानका गुच्छाहरु नबर्साउनु
यस्तै अरुअरु धेरै कुरा आफै बुझ्नु
त्यो साच्चिकै भुइँ मान्छे हो
उ लडेको छ
कराउँछ
भन्छ
र लेख्छ
लडेको पनि नदेखी दिनु
भनेको पनि नमानी दिनु
कराएको पनि नसुनी दिनु
लेखेको त झन हेर्दै नहेरी बसि दिनु
हुलाक मार्फत पठायो भनेपनि
हुलाक हरिन्छ
ठुलो पाखुरा धेरै दौलत
बलिया अस्थिपन्जर मात्रै
अरु नपुग्ने अग्ला मानसरोवर हुन त
अब भन्नू छ
मानसरोवरको अग्लो नाइके पनि
कहिल्यै चौडा भएन
आफै मुखिया बनेको
गाउँको आफू सम्झिने
त्यो पाखुरे अलिकति पनि ननिहुरी
कदापि भुइँ मान्छे चिन्दैन
त्यसैले वर्षौ बुढो उखान
धन देखेपछि महादेवका पनि तीन नेत्र हुन्छन्
भन्ने
बुढो उखान
साच्चिकै साचो अर्थमा
चरितार्थ भएको हुनुपर्छ
लडेको भुइँ मान्छे हो
मौन सालिक जस्तै नठान्नु
शिशिरको अध्यारो रातमा
आँखा खोलेर बसेको लाटोकोसेरोले पनि
अग्लो मानसरोवर पुग्न
अध्यारो उडान भर्दै अनगिन्ती खुसिका
चाक्लो थैलो भरेर उड्छ
तेति सम्म त
त्यो भुइँ मान्छे पटक्कै होइन।।।
-दीर्घ बहादुर शाही (डोक्काघरे)

