बैकर योगेन्द्र श्रेष्ठ बिरुद्ध २ अर्ब ६६ करोड ६१ लाखको मुद्दा दायर

२ असार, काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दयार गरेको छ ।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दयार गरिएको हो ।

विभागले श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र दोब्बर जरिवाना माग दावी गर्दै मुद्दा दायर गरिएको छ ।

बैंकर श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीहरुबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाझीपूर्वक मिनाहा गर्ने गरेका थिए । उनले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको पाइएको छ ।

उनले कैलास विकास बैंक, एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर दुरुपयोग गरेको भेटिएको छ । काठमाडौंको नागार्जुन ४ निवासी श्रेष्ठले छलपूर्वक एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम लगेर राख्ने गरेको देखिएको छ ।

श्रेष्ठले आफ्नो बैंकमार्फत आकर्षक ब्यादर तोकेर निक्षेप आकषिर्त गर्ने र नक्कली ऋणी खडा गरेर रकम आफैंले दुरुपयोग गर्ने गरेको खुलेको छ । कर्जा फारम लगायत आवश्यक फारम नभरी र कागजी प्रक्रिया पुरा नगरी नक्कली ऋण खडा गर्न उनी माहिर देखिएका छन् ।

आफै अध्यक्ष रहेको फाइनान्समा करिब दुई अर्ब घोटाला भएको यसअघि भएको अनुसन्धानले पनि देखाएको थियो । सो फाइनान्सले ८८ जनाको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण श्रेष्ठले दुरुपयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो ।

उनलाई त्यसकै आधारमा उनीमाथि सवा दुई अर्बको बैंकिङ कसुरको मुद्दा लागेको थियो । घोटाला काण्डपछि फरार श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेको थियो । सर्वसाधारणको निक्षेपसमेत छल पूर्वाक आफ्ना खातामा पठाउने गरेको अनुसनधानबाट खुलेको छ ।