-अनुसा थापा
जनता भूपू र बहालवाला राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई सोध्छन्,‘२७ खर्ब विदेशी ऋण खोइ ? विदेशबाट जनताका छोराछोरीले पठाएको रेमिट्यान्स खोइ ? जनताले तिरेको कर खोइ ? २०४६ सालअघि नेपालको रहेको भूभाग चीन र भारतलाई बेचेको पैसा खोइ ? देशैभरि सरकारी, गुठी, सार्वजनिक जग्गा बेचेको आएको पैसा खोइ ? निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब, कोरोना बीमाको १६ अर्ब कहाँ गयो ?’
भूपू राष्ट्रपति रामवरण यादव, विद्यादेवी भण्डारी, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, खिलराज रेग्मीले यसको हिसाबकिताब जनतालाई देखाउनुपर्यो ।
दुई करोड ९१ लाख ६४ हजार ५७८ जनतालाई यिनीहरुले जवाफ दिनैपर्छ । नेपाल सबै नेपालीको साझा हो । तर, राज्य सञ्चालकहरुले देशलाई आफ्नो निजी पेवा बनाए । व्यक्तिगत सम्पत्तिझैं मनोमानी रुपमा विदेशीलाई बेचे । अब कि यिनीहरुले भ्रष्टाचार गरेर विदेशमा राखेको पैसा ल्याउनुपर्यो कि देश छोडेर भाग्नुपर्यो । योबाहेक अन्य केही विकल्प नै देखिँदैन् । अहिले पनि जनताहरु खान नपाएर आत्महत्या गरिरहेका छन् । खानकै लागि मठमन्दिर र सडक किनारा छ्याप्छ्याप्ती मागेर बसेका छन् । उपचार नपाएर छटपटिरहेका छन् । तर, नेताहरुले जनताको नाम लिएर पदको दुरुपयोग गरे । देश बर्बाद बनाए ।
नेताहरुको पोल जनतासामुन्ने खुलिसकेको छ । त्यसैले त जनतादेखि उनीहरु डराउँछन् । जनताको बीचमा जाने आँट उनीहरुसँग छैन् । डराउनु पनि पर्छ, काम नै त्यस्तो गरेपछि । भूपू होस् या बहालवाला जनतासमक्ष जानुपर्यो भने थरथरर्ती काप्छन् । नेताहरुको पृष्ठभूमि केलाउने हो भने यिनीहरुलाई दुई छाक खान पनि धौंधौं थियो । बिहान खाए, बेलुका के खाऊँ ? भन्नेहरु आज खर्बौंको मालिक छन् । के यो भ्रष्टाचार होइन् ? भ्रष्टाचारीहरुले कतिञ्जेल जनताको आँखामा छारो हालिरहन्छन् ? कुनै न कुनै दिन त यिनीहरुको असली रुप बाहिर आउनै थियो । अहिले जनताले थाहा पाएपछि यिनीहरुको सातो गएको छ ।
नेपाल यत्तिकै नेपाल भएको होइन् । पृथ्वीनारायण शाहले टुक्राटुक्रामा रहेको नेपाल एकीकरण गरे । २४० वर्ष चलाएको सत्ता पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले त्यागिदिए । तिमीहरु खाऊँ भनेर उनी श्रीपेच खोलेर नागार्जुनको जंगलमा गएर बसे । अहिले उनकै पक्षमा हजारौं जनता सडकमा ओइरिएका छन्, किन ? किन कि जनता नेताहरुको हर्कतबाट वाक्कदिक्क भइसकेका छन् । देश विकासका लागि एउटा राजा हटाएको, यहाँ च्याऊ उम्रिएझैं राजाहरु उम्रिए । यत्रो राजा पाल्नुभन्दा त एउटै पाल्न बेस भन्ने जनताको मनमा परेको छ । जसका कारण हिजो काठमाडौंको सडकमा राजाको पक्षमा त्यत्रा जनता देखिए ।
जसले राजनीतिक दलको होसहवास् उडाएको छ । राजनीतिक दलले जनतालाई आफ्नो कार्यकर्ता बनाएर राज्यको ढुकुटी लुटे । जनताको बल्ल आँखा खुलेको छ । नेताहरुले देश बेचेको थाहा पाएपछि पार्टीका कार्यकर्ताहरु पनि सडकमा ओइरिए । कार्यकर्ता बन्नुको साटो जनता बनेर खबरदार गरिदिएको भए आज सायदै देश यो अवस्थामा हुन्थ्यो होला ।
सञ्चारकर्मीले पनि बल्ल आफ्नो दायित्व पुरा गर्यो । उनीहरुले् अहिले देशको यथार्थ अवस्था देखाइरहेका छन् । देश धरापमा परिसकेको छ भन्ने कुरा जनताले बुझिसकेका छन् । देशमा आम्दानीको स्रोत छैन्, खर्च कति हो कति । भनिन्छ नि,‘घाँटी हेरेर हाड निल्नुपर्छ ।’ तर, कमिशन खानका लागि नेताहरुले कुनै कुराको ख्याल गरेनन् ।
धमाधम विदेशी ऋण स्वीकृत गरे, गोजी भरे । राज्य सञ्चालकहरु पनि तलब खाने, जनप्रतिनिधि नि तलब सेवासुविधा लिने, भत्ताको नाममा अर्बौं रुपैयाँ खर्च छ अनि कसरी धान्छ ? भएका उद्योग, कलकारखाना जम्मै बन्द गराइहाले । विदेशीबाट ऋण थाप्दै, आफूपनि पालिँदै, अरुलाई पनि पाल्दै । यसले देशलाई नै संकटमा पार्यो । वैदेशिक ऋणको सावाब्याजबापत वर्षेनि खर्बौं रुपैयाँ तिर्नुपर्छ । सरकारसँग आम्दानीको स्रोत के छ, त्यो ऋण तिर्नलाई ? एउटाबाट ल्यायो, अर्कोलाई तिर्यो । यस्तै पाराले अबको एकाध वर्षमा वैदेशिक ऋण दोब्बर हुन्छ । त्यसपछि त जो आएपनि गर्नसक्ने केही होइन् ।
ऋण तिर्नलाई ढुकुटीमा पैसा हुनुपर्यो नि । देशको आफ्नो उत्पादन केही छैन् । घर, बाटो, भ्युटावर, अनावश्यक एअरपोर्ट गर्दागर्दै उब्जनी हुने जमिन सकाइहाले । एकातिर ऋणमा थलिएका छौं, अर्कोतिर यहाँ केही पनि उत्पादन छैन् । बाहिरी मुलुकले खाद्यान्न र इन्धन नपठाउने हो भने भोकमरी लाग्न क्षणिक पनि लाग्दैन् । श्रम बेच्ने नाममा नेताहरुले जनता बेचे । करोडौं जनता आज विदेशमा छन् । देश पनि बेचियो, जनता पनि बेचे । यस्ता पनि नेता हुन्छन् ? जनता र देश बेचेको पैसामा यिनीहरुले मोजमस्ती गरे तर देशको हालत के भयो ? नेताहरुले देशलाई भीरमा लगेर हालिसकेका छन्, त्यहाँबाट खस्न मात्र बाँकी छ । यो हुनुमा जनता र सञ्चारकर्मी पनि उत्तिकै दोषी छन् । कार्यकर्ता नबनिदिएको भए, बेलैमा खबरदारी गरिदिएको भए, सायदै यो हालत देखिन्थ्यो होला । ग्रे लिष्टमा परेको नेपाल अबको केही समयमा ब्ल्याक लिष्टमा पर्छ । नेताहरुको मनोमानीलाई जनताले अझैं पनि हलुका रुपमा लिने हो भने नेपाल नै नरहन बेर छैन् ।
नेताहरुलाई देशको अलिकति पनि माया छैन् । यहाँ केही अप्रिय घटना भयो भने यिनीहरु श्रीलंका र बंगलादेशको नेतृत्वहरुझैं भागिहाल्छन् । विदेशीले नेपाललाई यत्तिकै ऋण दिएको छैन् । देश धितो राखेर नेताहरुले ऋण ल्याएका हुन् । भोलि ऋण तिर्न सकेन् भने सबै उनीहरुको कब्जामा जान्छ । त्यसपछि जनताले मेरो घरबारी भनेर के फाइदा ? जनताले यति पनि बुझेका छैनन् । अहिलेसम्म मेरो घर जग्गा भनिरहेका छन् । नेपालले ऋण तिर्न नसकेपछि कसको घर, कसको जग्गा ? पैसा ल्याएर नेता र सरकारी कर्मचारीले खाए, भोग्नुपर्छ जनताले । जनता सँधै आफ्नो व्यक्तिगत कुरामा अल्मलेर बसे ।
देशतिर फर्किएर हेर्न उनीहरुलाई समय नै भएन् । अहिले एक जना नेपालीको थाप्लोको ९१ हजार ऋण छ । सबै जना यहाँ ऋणी छौं, विदेशीको । भोलि यसको प्रतिफल भोग्ने सबैले सराबरी हो । त्यसैले यस्ता कुरामा जनता सचेत हुन आवश्यक
छ । विदेशीले अब नेपाललाई ऋण पनि दिँदैन्, अनुदान पनि दिँदैन् । ऋण र अनुदानले चलेको देशको हालत त्यसपछि के हुन्छ ? अर्थतन्त्र अप्ठेरोमा पर्नेबित्तिकै नेताहरु कुलेलम ठोक्न तयार भइहाल्छन् । यहाँ नेता भनाउँदाहरुको द्धैध रुप छ । राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीहरु लोकतान्त्रिक व्यवस्थाअनुसार सांसद भएका हुन् । तर, उनीहरु राजालाई स्वागत गर्न एअरपोर्टमा पुगे ।
लोकतन्त्रका संाँसद बनेर पनि खाने, राजाबाट ल्याएर पनि खाने । यिनीहरुको उद्देश्य जनताबाट पनि लुट्ने मात्र हो । कि सांसद पद त्यागेर सडकमा आऊँ कि त यो नौटंकी नदेखाऊ । राप्रपाका १४ जना सांसदले त नैतिकताको आधारमा पनि पद त्याग गर्नुपर्ने हो । राजतन्त्रको वकालत गर्नेहरु कुन आधारमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको नेता भनेर हिँडिरहेका छन् ? के यिनीहरुले जनतालाई भेँडा सोचेका छन् ? सञ्चारकर्मीलाई मुर्ख ठानेका छन् ? राजावादी होस् कि गणतन्त्रवादी, जम्मै जनतालाई भुल्याउने र देश लुट्ने मात्र हुन् ।