शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ निकायलाई आठ बुँदे निर्देशन दिएको छ ।
शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन अनुमति पाएका संस्थाका निम्ति मन्त्रालयले विभिन्न निर्देशन गरेको हो । जसअनुसार अब ती संस्थाले मन्त्रालयबाट पाएको स्वीकृतिपत्र र आर्थिक वर्ष २०८१–०८२ का लागि कार्य सम्पादन गर्न अनुमति पाएको नवीकरणपत्र सबैले देख्ने स्थानमा राख्नुपर्ने छ ।
त्यस्तै, वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदा फ्रि भिसा, रोजगारीको ग्यारेण्टी तथा डिपेन्डेन्ट भिसा उपलब्ध गराइनेजस्ता प्रलोभनयुक्त प्रभाव नपार्नसमेत चेतावनी दिइएको छ । नवीकरणका साथ पेश भएका विदेशी शैक्षिक संस्थाले प्रतिनिधि तोकेका कागजातको आधिकारिता पुष्टि खुल्ने लिंक सार्वजनिक गरी मन्त्रालयमा पेश गर्न र सेवा प्रदान गरेका विद्यार्थीसँग भएको सम्झौतासहित अन्य अभिलेख दुरुस्त राख्न भनिएको छ ।
संस्थाको परामर्शबाट वैदेशिक अध्ययन, तालिममा जाने विद्यार्थीले प्रदान गर्नुपर्ने एनओसीमा संस्थाको नाम अनिवार्य जनाउने व्यवस्था मिलाउन, मन्त्रालयबाट अनुमति प्राप्त नगरी शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनीलगायत कार्य नगर्नसमेत मन्त्रालयको निर्देशन छ ।
मन्त्रालयको अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थामा अभिलेखीकरण प्रक्रिया पुरा नगरी विद्यार्थीलाई अध्ययनको लागि सिफारिस नगर्न र यसअघि मन्त्रालयबाट जारी भएका सूचनाहरु कार्यान्वयन गर्न पनि निर्देश गरिएको छ ।