-सुशिला शर्मा “शिलु”
साना पाइलाहरुले जब ममताको
आँचल छोडेर घिसृन थाले धर्तिमाथी,
तब कैले लागेन यी पाइलाहरुले
कुनै दिन हार मान्ने छन,
आफ्नै हिडाई र प्रयास सँग,
अनेक चोट, लडाई र धैर्यताको
बाबजुत धर्तिमा भित्ता समाएर लाख
कोशिस गरे पछि ठिंग उभिन सक्ने
भए पछि लाग्यो म अब संसारको
निमित्त लायक भए,
आँगनिको एक भित्ता बाट अर्को भित्ता
चहारेको दिन,
पर उभिएकि आमाको हात आफैं कुदेर
पकड्न सकेको दिन लाग्यो
अब मैले संसार जिते ।।
यस्तै दिन चर्या लिएर उभिन्छ एउटा मानव
सृष्टि चक्रमा,
किताब कलम सँगै जब पढ्न सक्ने हुन्छ
समाज,
अब उस्ले देख्छ कुरीतिका कन्दराहरु र
हुर्क्रन्छ मन भित्र छुट्टै साहसको
बिरुवा, आफू मात्र नबनेर
आफ्नो माटोको गौरवको यात्रा निर्माण,
यहि लयमा बिद्रोहको बिजारोपण हुन्छ
इतिहासबाट,
देख्छ परीवर्तनको सपना र आहुती दिन तयार हुन्छ
आफुलाई,
यहि माटोको खुशी र बिकासको निमित्त,
तर अनुत्तरित हुन्छ एउटा प्रश्न,
के शान्तीबाट बिकास,
निर्माण, परीवर्तन नहुने हो पक्कै?
नत्र खरानिमै परिणत हुन यति धेरै
आँखामा अस्रुधारा किन चाहियो?
हरेक पटक अल्झन त्यो लामो
गन्तव्य किन चाहियो?
हृदय टुक्राएर लिएको खुशी किन
चाहियो?
अर्कोलाई पीडा दिएर शान्ती किन
चाहियो??
यो सब गरेर पनि निलो आकाश देख्न र धर्तिको
पाइला चाल्न जटिल छ भने त्यो प्रथम तयारी किन चाहियो?
मुर्ती पुज्ने मानवभित्र, मानवताको
अर्थ नबुझ्ने हृदय किन चाहियो??
समग्रमा जीवन युद्ध वा भ्रान्ती,
जो हरपल आफ्नो मात्र खुशीको
लागि अन्यको मुस्कानको
बलिदान माग्दछ,
जो परीवर्तन र बिकासको नाममा
आफ्नै भुमिको आर्तनाद सुन्न चाहन्छ ।।

