Breaking News

प्रधानमन्त्रीको नियुक्तीसँगै दुई मन्त्री नियुक्त हुँदै

अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेसँगै नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण आजै राती ९ बजे हुने भएको छ । लगातार छलफलपछि संसद विघटन गर्ने सहमति जुटेको हो । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्नेछिन् । उनी नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य हुनेछन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य भएका हुन् ।

अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा लेखिँदै छ । कानुनविदहरूको परामर्शमा संविधान नमासिने गरी नयाँ सरकार गठनको प्रक्रिया मिलाइँदै छ ।

मन्त्रीपरिषद्मा आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने सम्भावना रहेको छ । स्रोतले दिएको जानकारीअनुसार अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको छ ।