Breaking News

क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

२१ असार, काठमाडौं । सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए ।

कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा पुर्‍याए । क्यानडाले मोरक्कोभन्दा बढी सर्ट प्रहार गरेपनि गोल भने गर्न सकेन । बल पोजिसनमा मोरक्को अघि रह्यो ।

सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । मोरक्को दुईपटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकन टोली हो ।