Breaking News

राती ९ बजे नयाँ प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी

काठमाडौँ । तीन दिनको लगातारको बैठक र छलफलपछि आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति भएको छ । कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको छ ।

शपथको तयारीसँगै कार्की मन्त्रिपरिषद् गठनको तयारीमा जुटेकी छन् । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई मन्त्रीहरूबारे निर्णय गरेर आउन भनेका छन् ।

‘सरकार तपाईँले चलाउने हो, सल्लाह गरेर सूची ल्याउनुहोला,’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा हिजो नै सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको
थिएन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका थिए । तर, अन्त्यमा जेनजी अभियन्ताको चेतावनी र सेना प्रमुखको सङ्कटकालको अवस्था आउन सक्ने सुझावपछि संसद् विघटन गर्ने सहमति जुटेको हो ।
यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए ।