पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवाद थाल्न आग्रह गरेकी छन्।
नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील हुन पनि पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन्।
‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचारको विरोध तथा सुशासनको मागसहित ‘जेन जी’ पुस्ताले काठमाडौंसहित देशका विभिन्न भागमा हिजो आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ठूलो संख्यामा युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट म मर्माहत भएको छु।हिजो भएको दुःखद् घटनामा परी असामयिक रूपमा जीवन गुमाएका देशका होनहार युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्ना प्रिय सन्तान गुमाउनु भएका माता– पिता तथा प्रियजन गुमाएका आफन्तसहित शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क एवं गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ भण्डारीले भनेकी छन्।
भण्डारीले नवपुस्ताको भावना र मर्मलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्न आवश्यक छ भन्ने आफ्नो दृढ विश्वास रहेको बताएकी हुन्।


