काठमाडौं । जेनजीको आज भएको प्रदर्शनपछि उत्पन्न परिस्थित पछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बैठकले सत्तारूढ एमाले–कांग्रेस गठबन्धन सरकारको बर्खास्तीको माग गरेको छ । देशव्यापी भ्रष्टाचार, कानूनी शासनको उल्लङ्घन, राजनीतिक दमन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता खोसिएको भन्दै रास्वपाले यस्तो माग अघि सारेको हो ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार जारी विज्ञप्तिमा राजधानीमा जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारद्वारा गरिएको दमनको निन्दा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निहत्था युवामाथिको दमनले सरकारको वैधता समाप्त भएको छ । जनताले कुशासन अब सहनेछैनन् ।’ रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन र गृहमन्त्री रमेश लेखकसहित दोषीमाथि कडा कारबाहीको माग गरेको छ । पार्टीले वर्तमान संसद् राष्ट्रिय मुद्दा समाधान गर्न असमर्थ भएको ठहर गर्दै ताजा जनादेशका लागि शीघ्र चुनावको माग गरेको छ ।
जेनजी आन्दोलनका क्रममा मारिएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रास्वपाले घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीको सचिवालय बैठकले आगामी आन्दोलनको रोडम्याप छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

