माफ गर्नुहोस् आमा !!
म यो जुनिमा
अर्कि नारीको आफ्नो बन्न सकिन !!
एउटा उस्तै पहिचान बोकेर पनि
आफ्नो बनाउन नसकिने,
एउटा उग्र आकृती,
बरु पुरुष पात्रलाई बुझाउन सकिन्छ,
कहिले सम्झाउन नसकिने,
त्रास र डरका ज्वारभाटाहरु अत्यन्त ठूलो
हुन्डरी लिएर उडाउन खोज्छन मेरा पखेटा,
तत्काल अगाडि हुन्छन् प्राय: आफ्नै आकृतीको
अर्को नारी त म कहाँ खोजौ सघाउने र
बुझ्ने पुरुष ???
म देख्छु गोरेटो, कान्ला अनि मझेरी तिर,
रातो वस्त्र लगाएका टीका लगाएका
पराइ हुन वा चिनेका अनुहार
खोज्छु खुला हृदयले आमाको
ममता सम्झेर ,
तर चिरिन्छ कोमल मुटु जब
अर्कि नारीबाट आउँछ उत्तर,
तिमी मेरो रगत होइन,
तिमी मेरो बिगत आगत र
भविष्य केही नै होइनौ,
तिमी फगतको आगन्तुक हौ,
जाउ आफ्नासँग गुहार माग,
म आफ्नो होइन,
तिमी मेरो कोहि नै होइन,
न मन्को न तनको साइनो छैन।
म अवाक हुन्छु,
विक्षिप्त बेलामा पनि ती मलाई
आफ्नो नसोच्ने हर पराई स्त्री पात्रलाई
एक पल पीडा बुझिदिन आग्रह गर्छु,
केही नभए पनि
यो सानो चिचिला अनि म निरिहको
अगाडि दयाको आँखा र
नम्र बोली मात्र भिख माग्दछु!!
त्यसपछी त झन उस्को उग्रताले
सिमा नाग्दछ,
भन्न थाल्छ,
तिम्रो सन्तान तिम्रो दुख
मेरो कर्तव्य हैन,
कोमलता प्रदर्शन गर्ने,
मेरो रहर छैन,
यो मेरो परीवेशमा,
तिमी मेरो कोहि होइन,
तिम्रो कोहि छँदा पनि छैन,
यो सारा आकाश धर्ती मेरो हो,
यो सबै मेरो मात्र हो,
मेरो सृष्टिमा तिम्रो केही चल्दैन,
सक्छौ त देखाउ बाँचेर देखाउ,
मेरो अहंकार छोएर देखाउ,
सन्तानसँग बामे सरेर पुनः
पाइला टेकेर देखाउ,
आफ्नै रगतका साइनालाई
यहाँ मेरो वरपर ल्याउन सकेर
देखाउ !!
किनकी यो सब मेरो हो,
यहीँ मेरो अहंकारको विश पनि
तिमिलाई सेवाको नाममा
सजिलै पिलाउन सक्छु,
कोहि तिम्रो आफ्नो छ त,
संस्कारको ज्वाला नाघेर
आएको देखाउ,
आर्जन गतिलो नहुँदा गर्जन
पनि सहन पर्छ ,
जिम्मेवारीको बोझ माथी बोझ
बोकेर देखाउ,
बोझैको भारीमा मलाई
र सारा मेरा सबैलाई कर्तव्य
नामको दासत्व
भरेर देखाउ,
अनि बल्ल मेरो छाला चाउरी पर्न
आँटेपछी म अर्को माखे जालोमा
तिमिलाई हाल्छु,
त्यो हो उमेर र अनुशासनको ?
सक्छौ त मलाई आफ्नो उमेर दिएर
देखाउ,
पल पल आफू मरेर मलाई
सास भरेर देखाउ,
फेरि यो सडक छेउमा एक्पल्ट
मान्छे भएर देखाउ,
रात दिन रोएको बच्चा बोकेर
मलाई खाना नाना र छाना दिएर देखाउ,
र पनि मेरो अहंकारले
तिमिलाई हरदम एक्लो
र निरीह पार्न सफल हुनेछ,
किनकी म दुस्कर्मको
र पापको ज्वाला हुँ,
जसलाई गलत भएपनी
तिम्रो समाजको अन्धो
आँखाले प्रश्न गर्ने सामर्थ्य राख्दैन !!
यो समाज नै मै हुँ,
यो नाता कुटुम्ब सबै मै हुँ !!
जो म तिमी उपर खनिदा
अन्याया नै भएपनी बोल्दैन,
तिमी र बच्चा रोएर केही हुँदैन,
बामे सर्ने बालक सिंढीबाट झरे केही हुन्न,
बस मलाई केही हुनु भएन,
भोलि म भेट्न आउने पाहुनाले
तिमिलाई नै ठुङ्नेछन,
मलाई नहेरेको दोषमा !!
बस मेरो तरकारीमा नुन लागेको हुनु पर्छ,
बस मेरो थालमा तातो खाना हुनु पर्छ,
त्यसमा आँसु, पसिना वा दर्द
जे सुकै होस्,
यति नै दृढ कु- दृष्टि भए पछि त
जुन सुकै उमेर र नाताको भएपनी
मानिसले आँशुको झोल खुशी मानेर
पिउनु पर्छ,
अबला, टुहुरो र निरिहलाई
रुवाउने किन धेरै जसो अर्को नारीनै हुने गर्छ ??
घरको पुरुषले कुचो लगाउँदा
अर्को नारीको चर्किन्छ छाती,
शहरमा त अर्कि नारीले समेत
दुख पोख्छन् बसेर छतका माथी !!
कहाँ गइन् श्रीमती,किन लगाको कुचो??
उनी सोध्धै गइन म सुन्दै भए,
बाहिरकाले सम्म गरेको
यति ठूलो छलफल सुनेपछी त,
ज्वरोले थलिएका आँखा मेरा
आफैं भरीदै गए ।।
अर्को दिन पाहुन बनेर
पुरुषको सारै आफन्त रे,
मैले स्वयम् कमाएर,
किनेर पकाएको खाएर पनि
हेर्छिन आँखा ठूलो ठूलो पारी !!
किन भनी डराउँदै सोधे,
खानामा चित्त बुझेनकी भनी,
पोख्दै गइन सुन्दै गए,
उन्लाई त म हाँसेको नै मन पर्दैन रे !!
के दिउ मैले के गरि खुशी पारौं,
बिचित्रका अर्का नारीलाई,
गाउँका जस्तो कोशेली छैन,
भनेको जस्तो स्याहार पुगेन,
भन्दै मुर्मुरीएको हेर्दा पनि
वर्सौं पछि त
सुकि सकेछन् मेरा
कोमल हृदय अनि आँखाका पोखरी!!
अझै उकुसमुकुस भयो मन,
आमासँग डौडिएर पेटभरी रुन्छु भनेर
कुदेर जाँदा आमा कान कम सुन्ने,
बच्चा भोकाएर रुने एकै पल्ट
भएपछी म अवाक हुन्छु
आफ्नै जीवन देखेर,
सोच्छु कृपया इश्वर
मलाई अर्को पल्ट कर्तव्यको चाङ
बोक्ने नारी नबनाउनु,
बनाइहाले पनि
यो जंजिरको सिमानाबाट भित्र -बाहिर गर्न सक्ने
पखेटावाला,
कि त आँखा झिमिक्क गर्दा उदाउने अस्ताउने
बनाइदिनु तर यति
क्रुर हृदय भएकी अर्कि नारी
मेरो आफ्नो जस्तो
बनाएर नपठाइदिनु बिन्ती छ ।।
बरु, अबला,
निरीह र गरीब कै घर भएपनी
श्याम श्वेत चित्त
बोकेका दयालुहरुको
एकसरो छाना भएको
बस्तिमा नै जन्माइ दिनु,
आस्रम, मन्दिर वा अनाथालयको
द्वारभित्र नै प्रबेश गराइदिनु ।।

