Breaking News

ज्ञानेन्द्र शाहलाई घरमै सिंहासन बनाएर राख्न राजावादीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई घरमै सिंहासन बनाएर राख्न राजावादीहरूलाई सुझाव दिएका छन्।

देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको भन्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था ल्याइसकेकाले राज सिंहासनको व्यवस्था नभएको बताए।

‘देशमा जेठ १५ गते राजालाई सिंहासनमा राख्छन् रे, घरमै सिंहासन बनाएर राख,’ उनले भने, ‘देशको सिंहासन गयो। देशमा राज सिंहासनको कल्पना, कस्तो दिमाग होला भन्या।’

नेपाली जनताले राजतन्त्र उल्ट्याएर फालेको भन्दै उनले नयाँ सविधानअनुसार लोकतान्त्रिक व्यवस्था देशमा रहेको बताए।

‘नेपाली जनताले राजतन्त्र उल्ट्याएर फालिसक्यो। कहाँ हराइसक्यो। संविधान अर्को बनिसक्यो। संसद छ। राष्ट्रपति छ। न्यायालय छ। व्यवस्था छ, लोकतान्त्रिक र हामी छौं,’ उनले भने।

राजतन्त्रले जथाभावी मानिस मार्दै हिडेको उनले बताए। राजतन्त्रलाई खोरमा थुनेर निकालेर फालेर आफुहरू रहेको उनले बताए।

‘जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खादै हिडेको राजतन्त्रलाई समाएर खोरमा हालेर, खोरबाट पनि निकालेर मुन्ट्याएर फ्याकिदिएका छौं,’ उनले भने।

राजावादीले जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने उद्घोष गरेको भन्दै उनले जेठ १५ गतेपछि अर्को १५ गते मिति तोक्ने पनि उनले बताए।

‘राजतन्त्र ल्याउँछौ रे १५ गते। कस्ता सपना देख्छन् उनीहरु। जेठ १५ गते पछि अर्को १५ गते भन्छ। अस्ति बैशाख ११ गते ल्याउँछौ भने। बेशाख ११ गते युवाहरुले खुशीयाली दिवस मनाए,’ उनले भने।

राजाले घुडा टेकेको दिन काठमाडौंमा युवा संघले युवा उत्सव मनाएको भन्दै उनले जनताका लोकतान्त्रिक अधिकार पुनस्थापित भएका दिनका रुपमा बैशाख ११ गतेलाई युवाहरुले उत्सब मनाएको उनले बताए।

‘वैशाख ११ गते राजाले घुडा टेकेको दिन। जनताका बलजफ्ती खोसएका अधिकार फिर्ता दिएको दिन युवाहरूले उत्सवका रूपमा मनाए,’ उनले पूर्वराजा प्रति लक्षित गर्दै भने, ‘संविधानमा बस्छु भनेर कायलनामा गरेर संसद पुनर्थापना गरेको दिन थियो।’

राजतन्त्र फर्काउने भनेर गर्न खोजिएको आन्दोलनप्रति कोही पनि भ्रममा नपर्न उनले आह्वान गरे।