Breaking News

श्रमिक कम्युनिष्ट पार्टी विगठन

नेपाली राजनीतिक इतिहास संघर्ष, बलिदान र परिवर्तनका असंख्य उत्तार–चढावले भरिएको छ । हाम्रो धर्तीमा भएका सबै जनसंघर्ष, जन–आन्दोलन, जनयुद्ध र एकीकृत जनक्रान्तीका सहिद, वेपत्ताहरुको बिशेष स्मरण सहित उच्च सम्मान साथै घाइते योद्धाको शिघ्र स्वास्थ्य लाभको शुभेच्छा व्यक्त गर्दछौं । आन्दोलनका विभिन्न चरणमा योगदान गर्ने नेतृत्व, पार्टी पंक्ति र आदरणीय जनसमुदाय प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

जनताले कम्युनिस्ट आन्दोलनलाई अभुतपुर्व प्रेम गर्दै बलिदानी समेत दिएका छन । परन्तु कम्युनिस्ट आन्दोलनमा देखापरेका बिचलनका कारण आफ्नो मुलभुत उद्देश्य पुरा गर्न सकेको छैन । सर्वहारा, श्रमजीवी, मजदुर, किसान, शोषित र उत्पीडित जनताको अग्रदस्ता बन्नुपर्ने कम्युनिस्ट पार्टी र तिनका अगुवाहरु लक्ष्य र उद्देश्य प्रती इमानदार र दृढ देखिएनन् । संसदमा रहेका कम्युनिस्ट भन्नेहरु सडकमा चर्का र सत्तामा गुलिया कुरा गर्ने गफास्ट जस्ता बनेकाछन । संसद बाहिरका क्रान्तिकारी शक्ति एकतामा आलस्य र फुटमा रमाउने जस्ता देखिएका छन् । कतिपयले त झण्डा बेचेर गुजारा चलाउने लज्जास्पद काम समेत गरिरहेका छन् ।

युवाहरूलाई विदेशमा श्रम बेच्न बाध्य पार्ने र उनीहरूलाई उपेक्षित दासको भूमिकामा सीमित गराउने परिस्थितिको मुख्य जिम्मेवार दलाल संसदीय व्यवस्था नै हो । यो व्यवस्था, जसले जनताको आवश्यकता र भविष्यलाई गौण बनाउँदै केवल सत्तामा टिक्नका लागि काम गरेको छ । देशभित्र रोजगारी र अवसर सिर्जना गर्न पुर्णतः असफल भएकोछ । यस्तो स्थितिका लागि कम्युनिस्टको नाम भजाएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरू पनि उत्तिकै जिम्मेवार छन् । जनताको आस्था, विश्वास र समर्थनलाई उपयोग गरेर समाज परिवर्तनको ठूला आश्वासन दिने तर त्यसलाई व्यवहारमा उतार्न असफल हुनेहरूले देश र जनताप्रति गम्भीर अन्याय गरेका छन् ।
विभिन्न आरोप लगाउदै पार्टी बनाउने र पुरानै धन्दा चलाउने कुरा आन्दोलन माथी कै गद्दारी हो । श्रम गर्न नचाहने अनि चौतर्फी बाटा बन्द भएपछि कम्युनिस्ट पार्टीको आर्थिक रसिद बोकेर जीवन चलाउनु अमुक ब्यक्ती या संगठनको मामिला मात्र होइन, यो बिचारको तहमा देखिएको गम्भीर बिचलन हो । यसको समाधान खोज्नु कम्युनिस्ट क्रान्तिकारीको आधारभुत दायित्व हो ।
जनताका त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धिको वास्तविक रक्षक कम्युनिस्ट बाहेक अरु हुनै सक्दैनन । कम्युनिस्ट भन्न चाहने बन्न नचाहने, क्रान्तिकारी देखिन पर्ने हुन नपर्ने जस्ता प्रवृत्तिलाई नेस्तनाबुद नगरी जनविस्वास प्राप्त हुनेछैन । जसका लागि बैचारिक, संगठनात्मक एवं संघर्षका शृङ्खलाबद्ध मोर्चा बन्दीमा तयार हुनैपर्छ । नेपाली कम्युनिस्ट आन्दोलनका थाती रहेका कार्यभारलाई दृढतापुर्वक पूरा गर्नैपर्ने हुन्छ । क्रान्तिकारी बन्न अघिल्लो पुस्तालाइ अनिवार्य गाली गर्नैपर्ने तरिकालाई खारेज गर्नैपर्दछ । वर्तमान परिस्थितिले सुम्पेको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न अघिल्लो पुस्ताले गरेका असल काम जग हुनभने सिमाकमजोरीहरु शिक्षा हुनेछन । आन्दोलनलाई नयाँ उचाईमा उठाउन मालेमाको सार्वभौमिकतालाई आत्मासाथ गर्दै नेपाली क्रान्तिको अभियानात्मक पुनर्गठनको आवस्यकता गहिरोगरी बोध गरेका छौँ ।

यसै सन्दर्भमा २०८१ वैशाख १७ गते मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीहरुबाट विद्रोह गरी नयाँ अभियानको घोषणा गरेका थियौं । गत जेठको १७–१८ गते काठमाडौंमा विशेष भेलागरी श्रमिक कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेका थियौ । जसले जनतामा जाऔं जनताको सेवा गरौं । भन्ने मूल नाराका साथ ६ महिने अभियान सहित मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियोे । अफसोच न अभियान भयो न त राष्ट्रिय सम्मेलन । त्यसपछि गत असोज (१( २) मा बसेको बिस्तारीत बैठक (१७ जना केन्द्रिय सदस्य सहभागी) ले गत पौष २२ गते केन्द्रीय समितिको बैठक र माघ १६ देखि २० गते सम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरि सर्कुलर जारी भएको थियो । तर कुनै पनि सूचना बिनै बैठक नबस्नु र सम्मेलन नै अनिश्चित हुनेगरी संयोजन को भूमिकामा रहेका कमरेड नै सम्पर्क बाहिर रहनु बिडम्बनापुर्ण रह्यो । बहुमत सदस्यले बैठकको माग गर्दा समेत बैठक नराख्नु राजनीतिक नैतिकताको बिषय हो । यसले नेतृत्व गर्नेको बुझाइ, गराइ, क्षमता र इमान मात्र होइन सिंगो कमिटी माथी नै गम्भीर प्रश्न उठ्ने स्थिति बन्यो । माक्र्सवाद, लेनिनवाद, र माओवादलाई मार्गदर्शक सिद्धान्त बनाएर कम्युनिस्ट अभियान चलाउने संकल्प गरेको पार्टीले बैठक सम्म गर्न नसक्ने स्थिति बन्नु हदै सम्मको लज्जास्पद बिषय हो । श्रमजिवी वर्गको मुक्ति र वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्य बोकेको श्रमिक कम्युनिस्ट पार्टीको बिचार एवं व्यवहारमा देखिएका यी तमाम असफलताले हामी लक्ष्यको विपरीत र उद्देश्यको उल्टो गतिमा भएको निर्मतापुर्वक स्वीकार गर्दछौ ।

नेपालको सामाजिक संरचना वर्गीय, जातीय, क्षेत्रीय एवं लैङिगक असमानताले थिलोथिलो भएको छ । एकातर्फ, साम्राज्यवादी शक्तिले देशको राजनीतिक र आर्थिक स्रोतमाथि नियन्त्रण गर्दै छन् भने अर्कोतर्फ नेपाली जनता दलाल संसदिय ब्यवस्थाको भुङ्रोमा पिल्सिएका छन । माक्र्सले भनेझैं, “मानव इतिहास वर्ग संघर्षको इतिहास हो ।’’ तर, आज नेपाली समाजमा वर्ग संघर्षलाई तीव्र पार्ने, साम्राज्यवादी शक्तिहरूलाई चुनौती दिने र श्रमजिवी वर्गलाई संगठित गर्ने प्रयास कमजोर हुँदै गैरहेकोे छ । श्रमिक वर्गको नेतृत्व गर्ने पार्टीले आफ्नो वैचारिक दृढतालाई संगठनात्मक गतिविधिले राम्रोसँग पक्रिनु पर्नेहुन्छ । तर, श्रमिक कम्युनिस्ट पार्टीले यो भूमिका निर्वाह गर्न नसकेको साझा निष्कर्ष निकालेका छौ । सिंगो पार्टीलाई नै कुहिरोको काग बनाउने प्रयत्न भयो । कतिसम्म भने केन्द्रिय समितिमै फर्जी बिल र काल्पनिक हिसाबहरु प्रस्तुत हुदै
गए । राष्ट्रिय सम्मेलकै नाममा सयौं आर्थिक पत्र बाँडिने तर केन्द्रिय समितीको बैठकसम्म बस्न नसक्ने परिस्थिति बन्यो । केवल चन्दा उठाउनु मात्र मूल्यांकनको आधार बनाउन खोजियो । बिना कारण चन्दा उठाउन नहुने तर्क गर्ने ठुलो पंक्तिदेखी केही मानिसहरू आंतकित भए । यसले हाम्रो आन्दोलनमा उठ्ने गरेका आर्थिक अनुशासनको कुरालाइ थप शंकास्पद बनायो ।

यसरी राष्ट्रिय सम्मेलनको मिति दुई पटक (मंसिर र माघ १६) तोकिनु तर नगर्नु कुनै संयोगमा मात्र सिमित हुनसक्दैन । सामान्य कोरम समेत नपुगाइ बैठक राख्ने, सर्कुलर जारी गर्ने तर त्यसकै कार्यन्वयन आफैंले समेत नगर्ने कुराले संयोजनकारी भुमिकामा रहेकाको बुझाइ अनि गराइ छलकपट र संसयपुर्ण देखियो । मालेमावादी बिधीपद्धती लाग ुगर्न नसक्दा, पार्टीभित्र फर्जी बिचार र गुजारा परिचालन हावी भयो । कतिसम्म भने मालेमावादको आलोकमा बनेको पार्टीलाई नाफामुखी निजि कम्पनीकै तहमा भ्रष्टीकरण गर्न खोजियो । नेकपाका संस्थापक नेता कमरेड पुष्पलालका बारेमा बोलेको बिषयमा बैठकमै लिखित आत्माआलोचना गर्ने तर पटकपटक त्यही दोहोर्याउने काम भयो । यी र यस्ताखाले बिषयमा समेत मौनता साँध्नु न्युनतम आलोचनात्मक चेत पनि नभएका भन्ने ठहरिन्छ । विभिन्न कमिटीमा कमरेडहरुले बिचार दृष्टिकोण, राजनीति, कार्यशैली लागायत पारदर्शिताको बारेमा उठाएका प्रश्नहरुको उचित जवाफ दिनुको सट्टा अन्तर व्यक्ति विरोधाभास सिर्जना गरि गैरराजनीतिक ढंगले प्रस्तुत हुनु वैचारिक अस्पष्टता र असक्षमता प्रदर्शित भएको छ । कम्युनिस्ट आन्दोलनमा यस्तो प्रवृत्तिको कुनै स्थान
हुँदैन ।

जनताको मुक्तिको सपना र श्रमिक वर्गको अधिकार सुनिश्चित गर्न वैज्ञानिक समाजवादी अभियानलाइ सबैखाले विचलनबाट मुक्त गर्नैपर्छ । वास्तविक नेपाली कम्युनिस्ट आन्दोलनलाइ पुनर्गठन गर्न बैचारिक स्पष्टता, संगठनात्मक सुदृढता, र संघर्षको नयाँ ऊर्जा आवश्यक रहेको छ । लेनिनले भने जस्तै सच्चा क्रान्तिकारी भनेको आफ्ना गल्ती स्वीकार गर्न, तिनको विश्लेषण गर्न र संघर्षलाई अगाडि बढाउन सक्षम व्यक्ति हो । हामीले यो उद्धरणलाई गहिरो मर्मबोध गर्दै कमजोरी प्रती निर्ममतापुर्वक समीक्षा गरेका र्छौँै । माओले भने जस्तै “यदि हामीसँग कमजोरी छन् भने, तिनको आलोचना हुनुलाई हामीले डर मान्नु हुँदैन, किनभने हामी जनताको सेवा गर्छौँ । “ यही आलोकमा हामीले भनेका तर गर्न नसकेका कुराहरु प्रती सिङ्गो पार्टीपंक्तिले नैतिक जिम्मेवारी लिन चाहन्छौं ।

माओले पार्टी विघटनको प्रमुख कारण गलत विचारधारा र कार्यदिशालाई ठाने जस्तै लामो समयसम्म कार्यदिशा बिहिनताको अवस्थामा रहनु पनि बीभत्स विघटन हुनु सरह नै हो । त्यसैले सहि विचारधाराले मात्रै आन्दोलनको स्थायित्व र विकास सम्भव छ । जहाँ जो भेट्यो त्यही ठिक र सहि भन्दै लहसिने तरिका मालेमावादको ठिक विपरीत नै हो । त्यसैले पार्टीमा जबर्जस्त हुर्काउन खोजिएको गलत प्रवृत्तिको अन्त्य र क्रान्तिकारी यात्राको सुनिश्चित गर्न पार्टी विघटन जस्तो निर्मम निर्णय लिन बाध्य भएका छौं त्यसैकारण श्रमिक कम्युनिस्ट पार्टी विघटन गरी समग्र पार्टी पंक्ति बैचारिक एकता अभियानमा होमिएको घोषणा गर्दछौं । साथै पार्टी नै विघटन गर्नुपर्ने अवस्थामा प्रती दुख व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टीको नामका सम्पुर्ण गतिविधिहरु पुर्णतः बन्द गरेको जानकारी गराउदछौं ।

अन्त्यमा संगठनात्मक संरचनाको निर्माण वा विघटन कुनै असामान्य घटना होइन; यो ऐतिहासिक आवश्यकता र द्वन्द्वात्मक प्रक्रियाको अभिव्यक्ति हो । समाज परिवर्तनको यात्रा निरन्तर संघर्ष र पुनरावलोकनको गतिशीलतामा आधारित हुन्छ । विघटनलाई पराजयको रूपमा बुझ्नु एक यान्त्रिक दृष्टिकोण हुनेछ । यसलाई क्रान्तिकारी आन्दोलनको पुनर्गठन र वैचारिक नवीकरणका लागि एक अपरिहार्य पहलकदमीको रूपमा लिएका छौं ।

विगतका कमजोरी र विकृति तथा विसंगतिहरूको निर्मम समीक्षाबाट प्राप्त शिक्षा भविष्यका संघर्षका लागि दिशा निर्देशक बन्नेछन । यस कदमले केवल पुराना बैचारिक र संरचनात्मक त्रुटिहरूलाई परिमार्जन गर्ने मात्र होइन, आन्दोलनलाई नयाँ ऊर्जाशील वैचारिक आधार र संगठनात्मक संरचना प्रदान गर्ने महत्त्वपूर्ण अवसर पनि सिर्जना गर्नेछ । क्रान्तिकारी आन्दोलनको सार नै नवीनता, लचिलोपन, र परिस्थितिअनुसार पुनर्निर्माणमा निहित हुन्छ । यो विघटन हारको प्रतीक कदापि होइन । यो बैज्ञानिक समाजवादी क्रान्तिको दीर्घकालीन उद्देश्यप्रति प्रतिबद्धता र आन्दोलनलाई सुदृढ बनाउने मार्गदर्शक कडी बन्नेछ । त्यसैले प्रिय श्रमजिवीवर्ग, देशभक्त जनसमुदाय, र आदरणीय कम्युनिस्ट क्रान्तिकारी पंक्तिमा ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।