पछिल्लो समय हरेक क्षेत्र राजनीतिको दलदलमा फसेको छ । कुनैपनि क्षेत्र राजनीतिबाट मुक्त छैन् । चाहे त्यो निजामती कर्मचारी होस्, चाहे सुरक्षा संयन्त्र । स्कुल, कलेज, सरकारी कार्यालय, न्यायपालिका, व्यापार–व्यवसाय सर्वत्र राजनीति घुसेको छ । यतिसम्म की मिडिया पनि त्यो र त्यो पार्टीको भन्न थालिएको छ । राजनीतिक दलले आफ्नो पार्टीको संगठन खोल्न कहीँ–कतै बाँकी राखेका छैनन् । मिडिया राज्यको चौंथो अंग हो । मिडिया स्वतन्त्र हुनुपर्ने मान्यता छ । नेपाल पत्रकार महासंघको चुनाव हुँदैछ । आगामी मंसिर २८ गते भइरहेको चुनावमा पत्रकारहरु पार्टीगत हिसाबमा उठेका
छन् ।
कुनै पार्टीले गठबन्धन गरेको छ त कुनै एक्लै मैदानमा भिड्दैछ । जबकी पत्रकार त स्वतन्त्र हुनुपर्ने हो । पार्टीबाट निर्वाचित भएकाहरुले पार्टीगत रुपमा काम गर्छन् । पार्टीको निर्देशनअनुसार उनीहरु चल्छ । अनि कसरी पत्रकारिता क्षेत्रको विकास हुन्छ ? पीडित पत्रकारले कसरी न्याय पाउँछन् ? महासंघ पत्रकारको हकहितका लागि खोलिएको एउटा संस्था हो । तर, त्यहाँका पदाधिकारीहरु जम्मै पार्टीगत रुपमा निर्वाचित भएका हुन्छन् । कोही एमाले भनेका छन् त कोही काँग्रेस । उनीहरुले आफ्नो पार्टीविरुद्ध बोल्नै सक्दैनन् । त्यसैले त पछिल्लो समय महासंघ बेकामको बन्दै गएको हो ।
आफ्नो पार्टीअन्तर्गतको मिडियाले श्रमजीवीमाथि अन्याय गरेपनि महासंघले ‘एक्सन’ लिनै सक्दैन् । सञ्चार कर्मप्रति हिजोआज सर्वसाधारणको व्यापक गुनासो छ । यसको प्रमुख कारण हो, पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुन सक्नु । सरकारी मिडिया सरकारको विरुद्ध चुइक्क बोल्न सक्दैन् ।
सरकारमा बस्नेहरुले जे–जे बोले, त्यही–त्यही मात्र कभरेज हुन्छ । सरकारी पत्रकारले जनताले तिरेको करबाट तलब खान्छन् । तर, जनताको पक्षमा कलम चलाउन उनीहरु डराउँछन् । उनीहरु सरकारको मुखपत्र बनेका छन् । प्राइभेट मिडियाहरु आ–आफ्ना पार्टीको गुनगान गाउँछन्, बस्छन् । जुन पार्टीले आफ्नो मिडियामा लगानी गरेको छ, उसैको पक्षमा मात्र कलम चल्छ । चाहे ऊ गलत नै किन नहोस् । देश र जनताको आवाज बन्नुपर्ने सञ्चारमाध्यम केही व्यक्तिगत स्वार्थ बोकेकाहरुको मुखपत्र बन्नु लज्जास्पद छ । यस्तो पत्रकारिताले न देश सुधार हुन्छ न जनताले न्याय नै पाउँछन् ।
सर्वसाधारणको मानास्पटलमा एउटै कुरा बोकेको छ,‘पत्रकारहरु पैसा र विज्ञापनमा बिक्छन् ।’ पैसा पाए भने पत्रकारहरु जति भ्रष्टाचार भएपनि मुखमा बुझो लगाएर बस्ने सर्वसाधारण बताउँछन् । हुन त यो कुरा केही समयअघि सभामुख देवराज घिमिरेले पनि उठाएका थिए । पत्रकारहरु पैसामा बिक्छन् भनेर उनले खुलेआम बोलेका थिए ।
विगतमा पत्रकार पैदल हिँडेर समाचार संकलन गर्थें । जनताको समस्या के छ ? राज्यले के गरिरहेको छ ? उनीहरु खोज्थें र बाहिर ल्याउथें । तर, अहिले समाचार संकलन गर्नै छोडिएको छ । कुन विषयमा समाचार बन्न सक्छ ? अहिलेका पत्रकारलाई थाहा नै हुँदैन् । किन ? उत्तर सहज छ । किन कि पत्रकारले पत्रकारिता भनेकै के हो भन्ने बिर्सिए । पत्रकारको कर्म के हो भन्ने नै उनीहरुलाई थाहा छ । राजनीतिक पार्टीको झोले बनेर हिँडेका छन् । कार्ड भिड्दैमा कोही पत्रकार हुँदैन् । पत्रकार बन्नका लागि धेरै क्षमता चाहिन्छ । जुन अहिलेका अधिकांश पत्रकारसँग छैन् ।
पार्टीगत समाचारमै उनीहरु केन्द्रित छन् । पार्टीका नेताहरुले के बोल्छन्, उनीहरुलाई त्यहीँ मात्र समाचार हुन्छ । बजारमा के भइरहेको छ ? जनता कहाँ मर्कामा परेका छन् ? पत्रकारलाई मतलब नै छैन् । पत्रकारको काम राज्यलाई घच्घचाउने हो । तर, उनीहरु आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेका छन् । पत्रकारले आफ्नो–अर्काको भन्नै मिल्दैन् । जनतालाई सूचित गराउनु उनीहरुको धर्म र कर्म हो । तर, अहिलेका पत्रकारहरु बिलासी बने । मँहगा गाडी चढ्छन्, मँहगा लुगा लगाएर हिँड्छन् । मासिक २०–२५ हजार तलब थाप्ने पत्रकारले मँहगा गाडी किन्न सक्छ ? प्रश्न त गम्भीर छ ।
केही पत्रकार पैसामा बिक्दा आज पत्रकारिता क्षेत्र नै बद्नाम भएको छ । जनताले हेर्ने दृष्टिकोण बद्लिएको छ ।
सर्वसाधारण पत्रकार केही सयमा पनि बिक्छ भन्छन् । सर्वसाधारणले त्यसो भन्नु भनेको पत्रकारिताप्रति विश्वास उठ्दै जानु हो । पत्रकारले जब राजनीतिक दलको सदस्यता लिन्छ, तब उसको स्वतन्त्रता सिद्धिन्छ । उसले खुलेर कलम चलाउन सक्दैन् । आफूसम्बद्ध पार्टीले भन्नेबित्तिकै समाचार रोकिदिने गर्छन् । कतिपयले प्रकाशित भइसकेको समाचार पनि लुकाउँछन् । भ्रष्टाचार, बेतिथि, देशमा विदेशी हस्ताक्षेप, राज्यको मनोमानीमाथि पत्रकार सँधै खरो हुनुपर्छ । गलत गर्नेलाई कलम र आवाजले ठोकिहाल्नुपर्छ ।
जनतालाई सचेत गराइहाल्नुपर्छ । तर, अहिले त्यस्तो देखिँदैन् । देशमा कालोबजारीले ठाउँ पाएको छ । राजश्व छलीले देशलाई खोक्रो बनाएको छ । वैदेशिक ऋण बढेको बढ्यै छ । विदेशबाट ऋण ल्याएर राजनीतिक दलहरुले मोजमस्ती गरिरहेका छन् । देशको भूमि छिमेकीले मिचेको मिच्यै छन् । मँहगीले जनताको ढाड सेकिएको छ । बेरोजगारी बढेको छ । दैनिक दुई हजार बढी वैदेशिक रोजगारीको लािग विभिन्न मुलुक पुग्छन् । तर, यस्ता विषयमा पत्रकारको कलम चल्दैन् । उनीहरुलाई थाहा भएपनि बुझ पचाएर बसेका छन् । देशमा के भइरहेको छ मतलब छैन् । जसले विज्ञापन दिँदैन्, उसको पछाडिचाँहि हात धोएर लाग्छन् ।
पत्रकारहरुले सशक्त रुपमा राज्यलाई खबरदारी गर्न सकेको भए आज मुलुकको अवस्था अर्कै हुन्थ्यो होला । नेपाल भ्रष्टाचारको दलदलमा सायदै फस्थ्यो होला । आफ्नो पार्टीले गलत नै गरेपनि सञ्चारमाध्यमले कलम चलाउँदैनन् । गुनगान गाइरहन्छन् । तर, अर्को पार्टी आयो भने भए–नभएको रिस फोर्छन् । यस्तो पनि पत्रकारिता हुन्छ ? गलत गर्ने जम्मैलाई उही तराजुमा राखेर जोख्नुपर्छ । कसैलाई घटी र कसैलाई बढी गर्न मिल्दैन् । पत्रकारले ढाकछोप गर्नै मिल्दैन् । कसैप्रति नरम र कसैप्रति गरम हुने हक पत्रकारलाई छैन् । पत्रकारको नजरमा सबै बराबर हुनुपर्छ । विडम्बना, त्यसो हुन सकेको छैन् ।
जसका कारण अरुमाथि प्रश्न उठाउने पत्रकारमाथि नै प्रश्न उठ्न थालेको छ । सञ्चारमाध्यम चलाउन धेरै गाह्रो छ । पत्रकारलाई तलब खुवाउनुपर्छ, भाडा तिर्नुपर्छ, नेटको पैसा तिर्नुपर्छ । त्यसको लागि विज्ञापन चाहिन्छ नै । तर, विज्ञापनमा त्यति अन्धो नबनौं कि उसले गरेको गल्ती नै नदेख्ने । सञ्चारमाध्यमलाई हजारको विज्ञापन दिएर उसले अर्बौंको राजश्व छली गरिरहेको हुन्छ । पत्रकारहरु विदेशीको ‘एजेण्ट’ बनेको कुराहरु पनि चर्चा चलिरहेको हुन्छ । दिनभर म पत्रकार हो भन्ने, बेलुका राजदूतावास धाउने । अब यो राजनीतिक दलको बर्को ओढ्ने कार्य पत्रकारले रोक्नुपर्यो । यसले पत्रकारिताको छविमा दाग लगाइरहेको छ । पत्रकार राजनीतिक दलको होइन्, जनताको आवाज बन्नुपर्यो । पार्टीको मुखपत्र बनेका पत्रकारका कारण देश र जनताको आवाज उठाउँछु भनेर हिँडेका पत्रकारहरु मर्कामा परेका छन् । मंसिर २८ गते हुने निर्वाचन महासंघको नभई पार्टीको भएको जनतामा परेको छ ।