नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन सरकारमा अर्थमन्त्री वर्षमान पुन थिए । उनी अर्थमन्त्री रहँदा सेयरको मूल्य प्रतिकित्ता १८ सय बिन्दुमाथि पुगेन । गत असार १७ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच सरकार गठनको सहमति भयो ।
सहमतिअनुरुप एमाले–काँग्रेस सरकार बन्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन गरियो । जसमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बने । उनी अर्थमन्त्री बन्नासाथ सेयरको मूल्य एकाएक बढ्न थाल्यो । १८ सय कित्तामा झरिसकेको सेयर एक्कासी बढेर ३१ सय पुग्यो । तर, अहिले सेयरको मूल्य फेरि ओरालो लागेको छ ।
३१ सय प्रतिकित्ता पुगिसकेको सेयर अहिले २६ सयमा झरेको छ । सेयर बैंक तथा वित्तिय संस्थाहरुले एक सय रुपैयाँमा निष्काशन गरेका छन् । सेयरको मूल्य बढाउनेमा दलालीहरुको हात रहदैँ आएको छ । सेयरको मूल्य बढेको देखेर लगानी गरेका सर्वसाधारण अहिले चुलुम्मै डुबेका छन् । सेयर निष्काशन गर्ने लघुवित्त, फाइनान्स, हाइड्रोपावर कम्पनीहरु घाटामा छन् ।
सेयरको मूल्य सम्बन्धित कम्पनीको वित्तिय विवरण र नाफाका आधारमा तय हुन्छ । तर, यहाँ त कम्पनी घाटामा गएपनि सेयरको मूल्य भने एकाएक बढ्यो । किनकि दलालीहरुले अर्थमन्त्री पौडेलको इन्ट्रीको फाइदा उठाए । सेयर दलालीहरुले अर्थमन्त्रीमा विष्णु पौडेल नै चाहिन्छ भनेर भन्दै आएका थिए । त्यसबीच उनको इन्ट्रीले सेयरको मूल्य एक महिनामै कहाँबाट कता पुग्यो ।
तर, त्यो दलालीहरुको खेल थियो । आफ्नो सेयर महँगोमा बेच्ने चाल थियो । एक्कासी मूल्य बढाएर दलालीहरु आफ्नो सेयर बेचबिखन गरी उम्किएका छन् भने सेयरको मूल्य अब झन् बढ्छ भन्ने आशा वा लहैंलहैंमा लागेर किन्नेहरुको रुवाबासी भएको छ । ५०–५५ जना सेयर खेलाडीहरुले अहिले ६५ लाख लगानीकर्तालाई यता न उताको बनाइदिएका छन् । सेयरमा मात्र होइन, घरजग्गा र गाडीमा पनि दलाली, माफियाहरुको बिगबिगी छ । जग्गा दलालीहरुले खेतीयोग्य जमिनदेखि डाँडाकाँडामा समेत डोजर चलाएर खण्डीकरण गरे । रोपनीको दश हजारमा बिक्री नहुने जमिन टुक्राटुक्रा बनाई आनाकै ६०–७० लाखमा बेचे । छिमेकी मुलुक भारत र चीनमा एक लाख नपर्ने सवारीसाधन अटो शोरुमहरुले ३०–३५ लाखमा बेचेका छन् ।
घरजग्गा, गाडी र सेयरमा गरेको लगानी डुबेपश्चात् धेरै मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । कतिपयले सहन नसकेर आत्महत्या समेत गरेको पाइन्छ । अनि ऋण लिएर यो क्षेत्रमा लगानी गरेकाहरु अहिले लुकीछिपी हिँडिरहेका छन् । कतिपयले त देशै छोडेको पनि सुनिन्छ । लगानी गर्ने मात्र होइन, बचत गर्नेहरुको पनि बिल्लीबाँठ भएको छ ।
विशेष गरी बढी ब्याजको प्रलोभनमा वित्तिय संस्थामा बचत गरेका सर्वसाधारण घर न घाटको भएका छन् । सहकारी, लघुवित्त र फाइनान्स एकाएक भागेपछि उनीहरुको रुवाबासी चलेको छ । यी संस्थामा राखेको पैसाकै कारण उनीहरुको घरबार तहसनहस हुन पुगेको छ । पछिल्लो समय बजार सुनसान छ । व्यापारीहरु बजार पूरै मन्दीमा रहेको बताउँछन् ।
उनीहरु भन्छन्, ‘मानिससँग पैसा नै छैन । पैसा नभएपछि कोही केही खरिद गर्दैनन् । यसले हाम्रो व्यापार पनि ठप्पै भएको छ ।’ सरकारले सुनमा दश प्रतिशत भन्सार दर घटाएको छ । गत कात्तिक १५ गते सुन हालसम्मकै उच्च दर एक लाख ७१ ह्जार पुगेको थियो । तर, अहिले डेढ लाखमा झरेको छ । यसले यति महँगोमा सुन किनेका सर्वसाधारण पनि नराम्ररी डुब्ने देखिएको छ ।
सात दशकअघि सुनको मूल्य प्रतितोला ८० रुपैयाँ बताइन्छ । सुनको मूल्य बढाउने पनि दलालीहरु नै हुन् । यद्यपि, अब सुन पहिलाकै रेटमा आउने जनाइन्छ । दलालीहरुले आफ्नो स्वार्थका लागि घरजग्गा, गाडी, सेयर, सुनलगायतको मूल्य कृत्रिम रुपमा बढाए । सरकारले पनि यसको मूल्य बढेको देखेर यँही क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्यो ।
कसैले पनि सोचेन कि यति छोटो समयावधिमै कसरी घरजग्गा, गाडी, सेयर, सुनको मूल्य बढ्यो ? हुन त यस विषयमा राज्यका निकायहरुले अनुसन्धान वा छानबिन गर्नुपर्ने थियो । तर, सरकारले मूल्य बढेको मात्र देख्यो । कसरी बढ्यो भन्नेतर्फ चासो दिएन । जसको परिमाणस्वरुप आज आम सर्वसाधारणको खर्बौ रकम वा लगानी डुब्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत संकट देखा परेको छ ।
पछिल्लो समय बजारमा घरजग्गा, गाडी बेच्ने यत्तिकै भेटिन्छन् । जोकोही घरजग्गा, गाडी बेच्न चाहन्छन् । किनकि उनीहरुले बैंकबाट ऋण लिएर यहाँ लगानी गरेका थिए । अहिले बैंकको ऋण तिर्न नसकेपछि कालोसूचीमा पर्ने डरले यो बेचेर चुक्ता गर्ने उनीहरुको सोचाई छ । तर, बजारमा यो क्षेत्रमा लगानी गर्न चाहने एक जना पनि भेटिदैंनन् । किनेको आधा मूल्यमा दिन्छु भन्दा समेत लगानी गर्न कोही इच्छुक देखिदैँनन् ।
बजार झन् झन् मन्दीमा जादैँछ । एकातिर सर्वसाधारणको लगानी डुबेको छ अर्कोतिर राज्यको खर्च दिनानु दिन बढेको छ तर राजस्व उठ्न छोडेको छ । बैंकको पनि लगानी घरजग्गा, गाडी र सेयरमै छ । यसले बैंकमा पनि समस्या देखिने पक्का छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पनि प्रहरी हिरासतमा पुगेका छन् ।
उनले बैंकबाट अर्बौ ऋण लिएका छन् । अनि उनी नै जेल पुगेपछि बैंक डुब्ने यकिन हुन्छ । पछिल्लो समय भाटभटेनी, सुपरमार्केट, बिग मार्टमा आम नागरिक जान छोडेका छन् । एकतर्फ सामानको मूल्य उच्च अर्कोतर्फ गुणस्तरहीन हुने हुँदा सर्वसाधारणले जान छोडेका हुन् । फेरि भाटभटेनी, सुपरमार्केट, बिग मार्टमा पनि बैंकले लगानी गरेको पाइन्छ ।
जसले गर्दा यहाँको व्यापार व्यवसाय ठप्प हुनासाथ त्यसको सीधा असर बैंकमा पर्छ । त्यसो त अहिले बैंकबाट कर्जा लिनेको मूल्य पनि घट्दै गएको छ । कर्जा प्रवाह हुन नसकेपछि बैंकले कसरी नाफा वा आम्दानी गर्न सक्छ ? किनकि जब बैंकले बजारमा पैसा चलायमान बनाउन सक्छ, तब नै उसले आम्दानी गर्न सक्छ ? तर, कर्जा नै प्रवाह हुन छोडेपछि कसरी बैंकले आम्दानी गर्छ ?
बैंकमा संकट आइसकेको छ । यद्यपि, सरकार अझै पनि लुकाइरहेको छ । हिजो सहकारीमा संकट आउँदा पनि सरकारले यस्तै गर्दा करोडौं सर्वसाधारण डुब्नुपर्यो । अब बैंकमा बचत गर्ने नागरिकको पनि सोही हालत हुने देखिन्छ । त्यसैले, बैंकमा बचतकर्ताहरु सचेत हौं । आफुले बचत गरेको बैंकले के–कस्ता क्षेत्रमा लगानी गरेको छ ? उसको वित्तिय अवस्था कस्तो छ ? भनेर जानकारी रहौं । पाँच वर्षअघि बैंकहरुबीच निक्षेपको ब्याजदर कसले बढी दिने भनेर होडबाजी चल्थ्यो । त्यतिबेला निक्षेपको १३ प्रतिशतसम्म ब्याज दिइन्थ्यो । तर, अहिले तीन प्रतिशतमा झरेको छ । यसले नै बैंकमा संकट आइसकेको यकिन हुन्छ ।
रुषा थापा
भक्तपुर