झण्डै चार वर्षअघि हिन्दु नारीहरुको महान चाड तीज लाग्नासाथ बजारमा एकदमै चहलपहल हुन्थ्यो । यो वर्षको तीज सकि सकेको छ । अहिले सोह्र श्राद्ध समेत सकिन लागेर दशैँ शुरु हुन थालिसकेको छ । तैपनि बजार सुनसान छ । नेपालीहरुको महान् चाड दशैँ घर आँगनमै आइसक्दा समेत बजारमा चहलपहल वा रौनक छैन । कपडा पसलदेखि हरेक पसलमा ग्राहक देखिदैँनन् । सुन पसलमा भने मानिसहरुको लर्को छ । तर, सुन किन्न नभई बेच्न । आफुसँग भएको सुन बेच्न लागिपरेका छन्, सर्वसाधारण । यद्यपि, सुन व्यापारीहरु अहिले सुन किनिरहेका छैनन् । सर्वसाधारणमा दशैँ कसरी मनाउने ? गाउँघर कसरी जाने ? भन्ने चिन्ता छ । घरधनीहरु भन्छन्, ‘भाडामा बस्नेहरु महिनौं भइसक्यो भाडा नतिरेको । कोठा, सटर र फ्ल्याट भाडामा भएर मात्र के गर्नु, जब भाडा नै आउँदैन ।’ यता, भाडामा बस्नेहरु भने कोठा, सटर, फ्ल्याट नै छोडेर गाउँ जाने बताउँछन् । कतिपय भने बेरोजगारी, महँगी अनि काम गरेको ठाउँबाट तलब नपाएपछि विदेशी जाने सोचमा रहेको भन्छन् ।
दशैँपछि काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शहरमा अधिकांश कोठा, सटर र फ्ल्याट खाली हुने बताइन्छ । बजारमा पुरै मन्दी छ । काम गरेको ठाउँमा तलब दिइएको छैन । सहकारी, लघुवित्त, फाइनान्सले भएको पैसा पनि खाइदिई हाल्यो । बैंकमा बचत गरेको रकम पनि सुरक्षित छैन ।
किनकि बैंकले कर्मचारीले बचतकर्ताको खाताबाटै रकम गायब बनाएको खबर बाहिरिएका छन् । निर्माण व्यवसायीहरु सरकारले आफुहरुले काम गरेको ४५ अर्ब भुक्तानी नदिएको बताउँछन् । दुग्ध किसानहरु सात अर्ब र कोरोना महामारीको समयमा बीमा गराएका अस्पतालहरु ११ अर्ब भुक्तानी सरकारले नदिएको भन्छन् । अहिले बजारमा एउटा कुराको खुब चर्चा छ, त्यो हो सरकारले दशैँमा कर्मचारी, जनप्रतिनिधिलाई विदेशीसँग ऋण लिएर तलबभत्ता वा पेश्की दिन लागेको छ । राजस्व उठ्न छोडिसकेको छ । जनता बेरोजगार छन् । बजारमा मन्दी छ । व्यापार व्यवसाय ठप्प छ । अनि यस्तो अवस्थामा उनीहरुले कर पनि त कसरी तिरोस् ?
राजस्व नउठेपछि सरकारले कर्मचारी, जनप्रतिनिधि, बुढाबुढी, एकल महिला, अपांगहरुलाई तलब वा भत्ता खुवाउन सक्दैँन । हुन त यसअघि पनि सरकारले विदेशीसँग ऋण लिएर नै कर्मचारीलाई तलबदेखि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । तर, दशैँमा बहालवाला कर्मचारीसहित जनप्रतिनिधि, सेवा निवृत्त कर्मचारीलाई सरकारले तलबसँगै पेश्की समेत दिन्छ । अहिले तलबमा मात्र मासिक अर्बौ खचिँदा अब पेश्की दिँदा खर्बौ खर्चिने छ । अनि त्यो पनि सरकारले देश धितो राखेृर विदेशीसँग ऋण लिएर नै दिन्छ । किनकि राज्यको ढुकुटी त रित्तो भइसक्यो नि ।
नेपालको वैदेशिक ऋण अहिले नै २७ खर्ब पुगिसकेको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋणको भार छ । हालकै परिस्थितिअनुसार अबको दुई वर्षमा यो ऋण दोब्बर हुने पक्का भइसकेको छ । घरजग्गा, गाडी र सेयरको किनबेच दिनानु दिन घट्दै गएको
छ । सरकारले जतिसुकै अर्थतन्त्रमा सुधार आएको दाबी गरेपनि अर्थतन्त्र तहसनहस भइसकेको छ । यदि साँच्चिकै अर्थतन्त्रमा सुधार आएको भए किन सरकार हरेक कामका लागि विदेशीसँग हात थाप्छ ? कति मासिक अर्बौ अर्बौ विदेशी ऋण लिन्छ ? अर्थतन्त्रमा सुधार आएको भए त देशभित्र उठेकै राजस्वले कर्मचारी, जनप्रतिनिधिलाई तलब खुवाउनुपर्ने हो । तर, यहाँ त महिनैपिच्छे सरकार कर्मचारीलाई तलब खुवाउन विदेशीसँग हात जोड्न पुग्छ । कुनै पनि मुलुकको अर्थतन्त्र बजारसँग सम्बन्धित हुन्छ । बजार चलायमान भयो भने अर्थतन्त्रमा आफैं सुधार आउँछ । कोरोना महामारीपश्चात् विश्वका अधिकांश मुलुक संकटमा परे । नेपालमा पनि त्यसको प्रभाव पर्यो । कोरोनाका कारण धेरै व्यवसायीहरु पलायन हुन पुगे भने अहिले पनि त्यो क्रम जारी छ ।
सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने नीति ल्याउनुपर्नेमा वा मुलुकमा उद्योग, कलकारखाना खोल्न प्रोत्साहन गर्नुपर्नेमा घरजग्गा, गाडी र सेयरलाई मात्र राजस्वको स्रोत बनायो । जसको परिमाण अहिले देखिएको छ । घरजग्गा, गाडी र सेयरमा मन्दी छाएको झण्डै चार वर्ष हुन लागिसकेको छ । गत साउनमा पुँजी बजार ह्वात्तै बढेको थियो । बजार बढेको देखेर प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले विभिन्न दाबी गरे । तर, सेयर जुवा हो । पुँजी बजारमा ६५ लाख बढी सर्वसाधारणको लगानी रहेपनि कमाउने भनेको ठुला लगानीकर्ता ५०–५५ जना मात्रै हुन् । साउनमा कृत्रिम रुपमा सेयरको मूल्य बढाएर खेलाडीहरु उम्किए । अनि मूल्य बढेको देखेर वा दलालीको लहैलहैमा लागेर त्यो महँगोमा सेयर किन्ने सर्वसाधारण अहिले हाँस्नु कि रुनु अवस्थामा पुगेका छन् ।
साउनमा तीन हजार पुगेको सेयर अहिले घटेर २४ सयमा आइसकेको छ । लगानीकर्ताहरुले कित्तामै छ सय रुपैयाँ गुमाइसकेका छन् भने सेयरको ओरालो यात्रा कायमै छ । सेयरमार्फत सर्वसाधारण डुबाउनुमा सरकारको समेत हात छ । किनकि सेयर बढिरहेको बेलामा सोचविचार गरेर लगानी गर्न सचेत गराउनुको साटो अर्थमन्त्री, प्रधानमन्त्री दलालीहरुलाई झन् प्रोत्साहन दिए । प्रधानमन्त्री केपीशर्मा ओलीले त सदनमै सेयरको मूल्य ३२ सयमा पुगेमा केक काटेर खाने घोषणा गरेका थिए । अहिले तीन हजार पुगेको सेयर घटेर २४ सयमा आइसक्यो । सेयरमा लगानी गरेका लाखौं सर्वसाधारण एक महिनामै चुलुम्मै डुबेका छन् । अनि अब प्रधानमन्त्रीले के गर्नुहुन्छ ? अझै पनि सेयर दलालीलाई प्रोत्साहन कि नैतिकताको आधारमा पदबाट राजीनामा ? यता, अर्थमन्त्री विष्णु पौडेलले सेयरमा सर्वसाधारणले गरेको लगानी सरकार डुब्न दिदैँन, ढुक्क भएर लगानी गर्नुस् भनेर भनेका थिए । अनि अहिले सर्वसाधारण डुबेपछि उनी किन चुपचाप छन् । उनीमा पनि नैतिकता छ भने छिटो पदबाट राजीनामा दिइयोस् । सेयरमा मात्र होइन, घरजग्गा, गाडीमा पनि सर्वसाधारण यसरी नै डुबेका छन् ।
दलालीहरुको लहैलहैमा लागेर आम नागरिकले महँगोमा घरजग्गा किने । दलालीहरुले निमुखा किसानसँग रोपनीको २०–३० हजारमा जग्गा किनेर डोजर चलाई टुक्रा टुक्रा बनाए । त्यँही टुक्रा जग्गालाई आनाको ६०–७० लाखमा बेचे । अहिले महँगोमा घरजग्गा किन्नेहरु नराम्ररी डुबेका छन् । दलालीको विश्वासमा परेर उनीहरु बैंकबाट महँगो ब्याजमा ऋण लिएर घरजग्गामा लगानी गरे । अहिले बैंकको किस्ता तिर्न सकिएको छैन । फेरि घरजग्गा पनि बिक्री हुदैँन । हिजो त्यत्रो महँगोमा किनेको घडेरी अहिले आधा मूल्यमा दिन्छुभन्दा समेत बिक्री भइरहेको छैन । पछिल्लो समय बजारमा घरजग्गा बेच्ने थुप्रै छन् तर किन्ने शून्य बराबर । ०७२ वैशाख १२ गते मुलुकमा महाभूकम्प गयो । कयौं घर भत्किए र चर्किए । कयौं अर्पाटमेन्ट, हाउजिङहरुमा पनि भूकम्पले क्षति पुर्यायो । त्यस्ता चर्किएका घर, अर्पाटमेन्ट, हाउजिङहरुलाई घरधनीहरुले अहिले टालटुल गरेर, सिसा, मार्बल टाँसेर वा रंग लगाएर नयाँझैं बनाएका छन् । यद्यपि, ती घरहरु बिक्री भएका छैनन् । तीन करोडमा बनेको घर सस्तोमा बेच्छुभन्दा समेत नबिकेको बताइन्छ । किनकि त्यस्ता घर जोखिमपूर्ण छन् र यो कुरा आम नागरिकले बुझिसकेका छन् ।
घरधनीहरुले भत्किन लागेका घरलाई नयाँजस्तो त बनाए । तर, अहिले पनि सानो भूकम्प आउनासाथ त्यस्ता घर ढल्ने छन् । अहिले विज्ञ, अर्थविद्हरु भन्छन्, ‘अबको एक वर्षपछि घरजग्गा, गाडी र सेयर किन्ने कोही हुदैँन । न त यसको मूल्य नै हुने छ ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भन्थे, ‘माडवालीहरुलाई भगाउनुपर्छ ।’ मुलुकमा हाल सञ्चालनमा रहेका बैंकमा माडवालीहरुकै लगानी छ । अहिले बैंकमा समस्या देखिन थालिसकेको छ । त्यसैले, अबको केही वर्षमा बैंकसँगै माडवालीहरु पनि भाग्ने छन् । हामी सर्वसाधारणले पनि कस्तो ठाउँमा लगानी गरेका छौं भनेर बुझेनौं । दलालीको लहैलहैमा लागौं भने सरकार पनि अन्धो बन्यो । यदि सरकारले बेलैमा घरजग्गा, गाडी र सेयरमा लगानी नगर्नुस् र उद्योग, कलकारखाना खोल्न प्रोत्साहन गरिदिएको भए आज न सर्वसाधारणको लगानी डुब्थ्यो न त मुलुकको अर्थतन्त्रमा संकट आइलाग्थ्यो । सरकार नै दलालीको हितमा निर्णय गर्न लागेपछि जनता र देश डुब्नु स्वभाविककै हो ।