सामान्यतया सुत्केरी भइसकेपछि स्तनबाट दूध आउँछ । यो नै शिशुको सम्पूर्ण आहार हो । कतिपयमा गर्भावस्थाकै बेलामा पहेंलो र सेतो तरल पदार्थ स्तनबाट निस्कन्छ भने यसलाई सामान्य मान्न सकिन्छ ।
तर कति महिलामा सुत्केरी नभई पनि दूध चुहिने हुन्छ । यसलाई सामान्य अवस्था मान्न सकिंदैन । यसलाई चलनचल्तीमा ‘निप्पल डिस्चार्ज’ भन्ने गरिन्छ ।
स्तनबाट तरल पदार्थ बग्नुमा एउटा मात्र नभई धेरै कारण हुनसक्छन् ।
के कारणले स्तनबाट स्राव हुन्छ ?
स्तन क्यान्सर
यदि महिलाको स्तनबाट रक्तमिश्रित स्राव भइरहेको छ । साथै, स्तनभित्र गाँठो छ, निप्पलमाथिको छाला बाक्लो हुँदै गएमा यी स्तन क्यान्सरका लक्षण हुनसक्छन् ।
त्यसैले कुनै महिलाको स्तनमा गाँठो अनुभव हुन्छ । र, स्तनबाट रातो रङको स्राव हुन थालेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।
पिट्युटरी ग्रन्थीमा ट्युमर
मस्तिष्कमा पिट्युटरी नामक ग्रन्थी हुन्छ । यसले नै शरीरका अन्य कैयौं ग्रन्थीलाई नियन्त्रण गर्छ । यसले हर्मोनहरू उत्पादन गर्न मद्दत गर्छ, जसले वृद्धि विकास, रक्तचाप, प्रजनन् र अन्य धेरै महत्त्वपूर्ण कार्य नियन्त्रण गर्छ ।
तर कुनै कारणवश महिलाको पिट्युटरी ग्रन्थीमा ट्युमर पलाएमा यसको एक संकेतको रुपमा ‘निप्पल डिस्चार्ज’
हुनसक्छ ।
प्रोल्याक्टिन हर्मोन असन्तुलन
शरीरमा प्रोल्याक्टिन हर्मोन बढ्दा ‘निप्पल डिस्चार्ज’ हुनसक्छ । प्रोल्याक्टिनले महिलामा डिम्ब निष्कासनमा असर गर्छ, जसले महिनावारी चक्रमा नकारात्मक प्रभाव पार्छ। यस अवस्थामा शरीरले प्रोजेस्टोरोनले हर्मोन उत्पादन गर्न सक्दैन । यसको प्रभाव स्वरूप स्तनबाट असामान्य किसिमको स्राव हुन्छ ।
केही औषधि
उच्च रक्तचाप, एन्टिडिप्रेसेन्ट, एन्टिसाइकोटिक्स र सेडेटिभजस्ता मानसिक समस्यामा प्रयोग हुने औषधिहरूले गर्भावस्था र स्तनपान बाहेकको अवस्थामा स्तन स्राव गराउन सक्छ ।
यी औषधिले शरीरमा प्रोल्याक्टिन हर्मोनको उत्पादन बढाउँछ, जसले निप्पल डिस्चार्ज हुनसक्छ ।
स्तन संक्रमण
स्तनमा संक्रमण भएमा सुन्निएर पिप भरिन्छ । यस अवस्थामा निप्पल भित्रतिर गाडिएको जस्तो देखिन्छ । संक्रमणको अवस्थामा निप्पल र स्तनहरूमा दुखाइ महसुस हुनसक्छ । साथै पिप जस्तो पहेंलो बाक्लो स्राव हुनसक्छ ।
स्तनमा मासु पलाउनु
यदि कुनै कारणवश स्तनमा ‘सिस्ट’ छ भने पनि स्तनस्राव हुनसक्छ । यो समयमा हरियो र पहेंलो रङको तरल पदार्थ स्राव हुनसक्छ । कतिपय अवस्थामा रजनोवृत्ति भइसकेपछि पनि स्तनस्राव हुनसक्छ ।
स्राव कस्तो कस्तो रङको हुन्छ ?
पहेंलो र पारदर्शी : यदि यो रङको डिस्चार्ज दुवै स्तनबाट हुन्छ भने खासै चिन्ता लिनु आवश्यक छैन । तर एउटै स्तनबाट निस्किरहेको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
सेतो : दूधे बच्चा हुँदा वा स्तनपान छाडेपछि पनि यस्तो स्राव देखा पर्न सक्छ । धेरै महिलामा स्तनपानबाट दूध छुटाएको दुईदेखि तीन वर्षपछि यस्तो स्राव देखिन्छ । जुन सामान्य मान्न सकिन्छ ।
रगतको रङ : स्तनको ट्युमर (प्यापिलोमा) को कारणले निप्पलबाट रातो रङको स्राव हुनसक्छ । यसबाहेक कतिपय अवस्थामा यस्तो स्राव स्तन क्यान्सरको संकेत पनि हुनसक्छ ।
हरियो : यो रङ स्तनको सिस्ट, हर्मोनल असन्तुलन वा असामान्य ग्रन्थीको स्रावको कारणले पनि हुनसक्छ ।
असामान्य रङको स्तनस्रावसँगै निप्पल वा स्तनमा कुनै प्रकारको गाँठो, घाउ, दाग र स्राव हुने, चिलाउने, सुन्निने र दुखाइको अनुभव भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।
रोकथाम तथा उपचार
थाइराइडको समस्या छ भने यसको उपचार गराउँदा स्राव हुने समस्या नियन्त्रणमा आउँछ । यदि शरीरमा हर्मोनको स्तर ठीक छैन भने यसको उपचार गराउनुपर्छ । यदि परीक्षणबाट स्तनमा संक्रमण भएमा पूरै शरीरमा फैलिने खतरा हुन्छ ।
यसले पनि उच्च ज्वरो आउन सक्छ । तसर्थ स्तन दुख्ने, सुन्निने वा कुनै भाग रातो भएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।
यदि परिवारमा आमा, दिदीबहिनी कसैलाई पहिले नै स्तन क्यान्सर भइसकेको छ भने अन्य सदस्यलाई पनि हुनसक्ने हुँदा अझ बढी सावधानी अपनाउनु आवश्यक छ ।
स्तनको छालामा केही परिवर्तन देखिएमा वा स्तनभित्र गाँठो देखिएमा दुख्ने समस्या भएमा तुरुन्त चिकित्सककहाँ गएर समयमै उपचार गराउनुपर्छ । र, वर्षमा एक पटक म्यामोग्राफी र स्तनको अल्ट्रासाउन्ड गराउनु उपयुक्त हुन्छ । हर्मोनको कारण निप्पलबाट डिस्चार्ज भएमा पनि उपचार गराउनुपर्छ ।
स्वयं स्तन परीक्षण
स्वयं स्तन परीक्षणसँग सम्बन्धित उचित ज्ञान हुनुपर्छ । ताकि समय-समयमा यसको मूल्यांकन गरेर स्तन क्यान्सर कोषिकाहरूको वृद्धिलाई रोक्न सकिन्छ ।
बढ्दो उमेर वा रजनोवृत्तिको आसपास स्तन सम्बन्धित समस्याको जोखिम बढ्न सक्छ । त्यसकारण सधैं चिकित्सकको निगरानीमा रहनु महत्वपूर्ण छ ।
एजेन्सीको सहयोगमा
साभार : अनलाइनखबरबाट