सूर्य र चन्द्र ग्रहणले करोडौं वर्षअघिदेखि पृथ्वीमा रहेका जनावरहरूको ध्यान खिचेको छ। दिउँसो घाम लागिरहेको बेलामा सूर्यग्रहण लाग्दा होस् वा पूर्णिमाको उज्यालो रातमा चन्द्र ग्रहणका कारण एकैचोटि अँध्यारो हुँदा, पृथ्वीमा रहेका जनावरहरू अचम्ममा पर्छन्।
बुद्धि भएको जनावर भएकाले मान्छेको कौतूहल पनि अरूका तुलनामा धेरै हुन्छ। संसारका प्राय: सबै मानव सभ्यताले ग्रहणलाई नकारात्मक रूपमा लिन्थे। आकाशमा देखिने यी चम्किला पिण्डलाई कतिले त देवता मानेर पुज्थे, अझै पुज्छन्। यस्ता चम्किला पिण्ड एकैचोटि छोपिँदा केही अनिष्ट पो हुन आँट्यो कि भनेर डराउँथे। धेरैले यसलाई आसुरी शक्तिको काम भन्थे भने कतिले कुनै जनावरले निल्न खोजेको ठान्थे।
द इकोनोमिस्टका अनुसार ग्रहणको सबभन्दा पुरानो अभिलेख अहिले सिरियामा पर्ने उगारितमा भेटिएको माटोको पाटीमा (क्ले ट्याबलेट) सुरक्षित छ। यो घटीमा इसापूर्व १२०० वर्षभन्दा अघिको ग्रहणबारे भएको मानिन्छ।
ग्रहणले अनिष्ट हुन सक्ने भएकाले राजाहरूले पूजा गराउँथे भने कतिपय युद्धहरू पनि रोकिन्थे।
द न्युयोर्करका अनुसार झण्डै इसापूर्व ७०० वर्षअघिका मेसोपोटामियाका शासकले सूर्यग्रहणको अशुभ बेलाका लागि अस्थायी राजा-रानी घोषणा गर्थे, जो ग्रहणपछि मारिन्थे। एक पटक असली राजा मरेपछि ग्रहणको बेला अस्थायी राजा घोषणा गरिएका माली दशकौंसम्म गद्दीमा बसेका थिए।
विज्ञानमा प्रगति भएपछि पछिल्ला केही शताब्दीमा ग्रहण लाग्नुका कारण थाहा भयो र वैज्ञानिकले दुरविन लिएर ग्रहणको अध्ययन गर्न थाले। १९१९ मे २९ मा लागेको सूर्यग्रहणका बेला सूर्यको छेउमा पुग्दा मोडिएको अरू ताराको प्रकाश नापेर वैज्ञानिकले अल्बर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्तको पुष्टि गरेका थिए।
केही घण्टापछि उत्तर अमेरिकामा देखिने सूर्यग्रहणका बेला पनि धेरै वैज्ञानिकले सूर्यका बारेमा अध्ययन गर्ने छन्। यो सूर्यग्रहणका बेला चिडियाघरमा र अन्त रहेका विभिन्न जनावरले कसरी प्रतिक्रिया दिन्छन् भनेर हेर्न पनि वैज्ञानिक तयारी गरेर बसेका छन्।
खासमा ग्रहण ब्रह्माण्डमा सामान्य घटना हो। कुनै पनि प्रणालीमा तारा, त्यसको वरिपरि घुम्ने ग्रह र ग्रहको वरिपरि घुम्ने उपग्रह एउटै रेखामा परे भने ग्रहण लाग्छ। हाम्रो परिप्रेक्ष्यमा भन्दा सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा परे भने ग्रहण लाग्छ। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आयो भने पृथ्वीमा सूर्य छेकिन्छ र सूर्यग्रहण लाग्छ भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आयो भने चन्द्रग्रहण लाग्छ।
यति सामान्य भए पनि किन केही घण्टापछि उत्तर अमेरिकामा देखिने सूर्यग्रहणबारे यति धेरै चर्चा छ त? यो संसारको सबैभन्दा विकसित र शक्तिशाली देश अमेरिकाबाट देखिने भएकाले पनि यसको यति धेरै चर्चा भएको हो। तर यसरी चर्चा हुनुका केही जायज कारण पनि छन्।
मुख्य कुरा त अमेरिकामा देखिने यो खग्रास सूर्यग्रहण हो। खग्रास सूर्यग्रहण चाहिँ अलिक विरलो हुन्छ। पृथ्वीमा खग्रास सूर्यग्रहण औसतमा १८ महिनामा एकचोटि लाग्छ भने कुनै ठाउँबाट फेरि खग्रास सूर्यग्रहण हेर्नका लागि लगभग ३७५ वर्ष पर्खिनुपर्छ। आफू बसेको ठाउँबाट आफ्नो जीवनकालमा अर्को खग्रास सूर्यग्रहण फेरि हेर्न नपाइने भएकाले पनि मान्छेले यसलाई यत्तिको महत्व दिन्छन्।
चन्द्रमाको भन्दा सूर्यको व्यास ४०० गुणा ठूलो भए पनि चन्द्रमाको तुलनामा सूर्य झण्डै ४०० गुणा टाढा भएकाले पृथ्वीबाट सूर्य र चन्द्रमा झन्डै उत्रै देखिन्छन्। यस्तोमा खग्रास सूर्यग्रहण लाग्दा चन्द्रमाले सूर्यलाई ठ्याक्कै छेक्छ र सूर्यको बाहिरको ‘कोरोना’ (प्रभामण्डल) को मधुरो प्रकाशमात्रै देखिन्छ।
खग्रास सूर्यग्रहण किन पनि विशेष हुन्छ भने पृथ्वीबाट देखिने जस्तो देखिन ग्रहण लाग्ने ग्रहबाट तारा र ताराको प्रकाश छेक्ने उपग्रहको आकार उस्तै देखिनु पर्छ। तारा धेरै ठूलो आकारको देखिन्छ भने उपग्रह बीचमा आए पनि प्रकाश दिने तारालाई पूरै छेक्न सक्दैन।
अर्कोतर्फ उपग्रह धेरै ठूलो आकारको देखिन्छ भने उपग्रहले ताराको प्रकाशलाई पूरै छेकिदिन्छ। पृथ्वीबाट देखिनेजस्तो कोरोनाको घेरा देखिँदैन।
पृथ्वीबाट खग्रास सूर्यग्रहण सधैं यस्तो भने देखिँदैन थियो।
द एटलान्टिकका अनुसार साढे चार अर्ब वर्ष पहिले पृथ्वी र मंगल ग्रहको जत्रो आकारको अर्को ग्रह ठोक्किएर चन्द्रमा बन्दा यो केवल १४ हजार माइल जतिमात्रै टाढा थियो। र अहिलेको भन्दा झण्डै १७ गुणा ठूलो देखिन्थ्यो। त्यसैले खग्रास सूर्यग्रहण लाग्दा चन्द्रमा सूर्यभन्दा धेरै ठूलो देखिने भएकाले सूर्यलाई पूरै छोपेकाले अहिलेको जस्तो सूर्यको कोरोना देखिँदैन थियो।
पृथ्वी र चन्द्रमाको एक अर्काको गुरुत्वाकर्षण र घुमाइका प्रभावले चन्द्रमा पृथ्वीबाट केही टाढा जान थाल्यो। अहिले हरेक वर्ष यो लगभग डेढ इन्च (३.८ सेन्टिमिटर) टाढा जान्छ। यसरी अहिले चन्द्रमा पृथ्वीबाट लगभग २४०,००० माइल पर पुगेको छ।
वैज्ञानिकका अनुसार लगभग १ अर्ब वर्ष जति अघि मात्रै चन्द्रमा सूर्यजत्रै देखिने गरी पृथ्वीबाट टाढा पुगेको थियो। पृथ्वी र चन्द्रमा दुवैमा अहिले अनुमान गर्न नसकिने केही ठूलो उथलपुथल नभए अबको लगभग ६० करोडदेखि १ अर्ब वर्ष जति पछि चन्द्रमा पृथ्वीबाट यति टाढा पुग्नेछ कि सूर्यभन्दा सानो देखिन थाल्नेछ। त्यतिबेला चन्द्रमाले सूर्यलाई पूरै छेक्न नसक्ने भएकाले अहिलेको जस्तो खग्रास सूर्यग्रहण देखिने छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)