Breaking News

इजरायलमै बिलाए जसका सपना

तीन दिनदेखि संसारको ध्यान इजरायल र हमासको युद्धमा छ। धेरै टाढाको भूमिमा भइरहेको युद्धबारे नेपालमा पनि चासो र चिन्ता छ। गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

गाजा नजिकै प्रशिक्षणमा रहेका १७  नेपालीमध्ये एक जना बेपत्ता छन् भने चार जना घाइतेको उपचार भइरहेको छ। अरू दुई जना भने सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट एक महिनाअघि ११ महिनाका लागि इजरायल पुगेका विद्यार्थीको मृत्यु भएपछि सुनसरीदेखि दार्चुलासम्म शोक परेको छ।

हमासको आक्रमणमा परी मारिएकाहरूका आफन्तलाई मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ। हमासको आक्रमणले एकातिर भर्खरै इजरायली भूमि टेकेका युवाहरूको सपना बिलाएको छ भने अर्कातिर उनीहरूका परिवारको आशा निभेको छ। सेतोपाटी टिमले इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीबारे परिवार, आफन्त र जनप्रतिनिधिसँग कुराकानी गरेको छ।

गणेशकुमार नेपाली

जयपृथ्वी नगरपालिका-११, बझाङ

बझाङको जयपृथ्वी नगरपालिका-११ डाँडागाउँका गणेशकुमार पढाइमा सानैदेखि जेहेन्दार थिए। पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रूचि राख्थे। नृत्य, गायन, कविता लेखनमा पनि उनी कुशल प्रतिभा थिए।

वडाध्यक्ष सर्जनबहादुर थापाका अनुसार एसएलसीपछि उनी पढ्न चितवन गए। २०७३ मा प्रेरणा साइन्स कलेजबाट उनले प्लस टु पास गरेका थिए। त्यसपछि उनी सुदूरपश्चिम विश्वविद्यालयमा कृषि तथा विज्ञान संकायमा अध्ययन गर्थे। कृषिमा असाध्यै रूचि भएकाले उनी त्यता लागेका हुन्। उनी अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका सचिव पनि थिए। सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान संकायका आठौं सेमेष्टरका विद्यार्थी हुन्।

उनका दाजु विकास निजामती सेवामा छन्। परिवारमा बुवा, आमा, दाजु, भाउजू र भाइ पनि छन्।

गणेशकुमार एक महिनाअघि मात्रै इजरायल गएका थिए।

‘पछिल्लो समय मेरो सम्पर्क भएको थिएन। हिजो पो जयपृथ्वी-६ का गणेशकुमार नेपाली भनेर आयो। सुदूरपश्चिम विश्वविद्यालयबाट गएका हुन् भनेपछि मेरा साथी नै हुन् भन्ने निधो भयो। रातभर निदाउन सकिनँ। अहिले म उनका बाबुआमालाई भेट्न जाँदै छु,’ वडाध्यक्ष थापाले भने।

लोकेन्द्रसिंह धामी

मालिकार्जुन-४ दार्चुला

प्रयोगात्मक अध्ययनका लागि इजरायल पुगेका दार्चुलाका लोकेन्द्रसिंह धामीको पनि हमासको आक्रमणमा परी मृत्यु भएको छ।

मालिकार्जुन गाउँपालिका-४ का वडाध्यक्ष धनसिंह धामीका अनुसार लोकेन्द्रले १२ कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका हुन्।

उनले टीकापुरबाट बिएस्सी एजीसम्मको पढाइ पुरा भएपछि थप अध्ययनका लागि सुदूरपश्चिम विश्वविद्यालय गएका थिए।

त्यहीँबाट एक महिनाअघि इजरायल गएका हुन्।

लोकेन्द्रका दाजु नेपाली सेनामा छन्। उनी परिवारका कान्छा छोरा हुन्। निम्न आर्थिक अवस्थाका उनले केही समय गाउँकै विद्यालयमा पढाएका थिए। उनका श्रीमती र छोराछोरी छन्।

‘लोकेन्द्रको खबर सुनेर हामी शोकाकुल छौं। जिल्लाबाट सिडिओ, जिल्ला प्रहरी प्रमुख आउँदै हुनुहुन्छ। उहाँहरूसँगै हामी मृतकको आफन्त भेट्न जाँदै छौं,’ वडाध्यक्ष धामीले भने,‘उनका बुवाले अहिले पनि खेती किसानी गरेर घरको गुजारा चलाइराख्नु भएको छ। छोरालाई कृषि वैज्ञानिक बनाउने उहाँको धोको थियो। इजरायलमा समाप्त भयो।’

दीपेशराज बिष्ट

लेकम- ५, दार्चुला

२४ वर्षीय दीपेशराज घरका जेठा छोरा थिए। उनका बुवा शिक्षक थिए। तर दीपेशराज सानै हुँदा बुवाको निधन भयो, आमा अहिले राहत शिक्षक छन्।

गाउँपालिका अध्यक्ष रामदत्त जोशीका अनुसार दीपेशराज पढाइमा राम्रो भएकाले परिवारले पढ्न महेन्द्रनगर पठाएका थिए।

‘उनी मेरा भान्जा नाता पर्छन्। महेन्द्रनगरको रेडियन्ट एकेडेमीबाट प्लस २ पास गरेपछि टीकापुरबाट बिएस्सी एजी गरेका थिए,’ अध्यक्ष जोशीले भने,‘बाबु सानैमा बितेकाले पारिवारिक अवस्था कमजार हुने नै भयो। आमा राहत शिक्षिका हुनुहुन्छ। कान्छो भाइ धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत छन्।’

प्रवेश भण्डारी

शारदा-३, सल्यान

सल्यानको शारदा नगरपालिका- ३ साहुटोल सोमबार शोकमा डुबेको छ।

साहुटोलका २४ वर्षीय प्रवेश भण्डारीको इजरायलमा मृत्यु भएको खबर सुनेपछि साहुटोल शोकमा डुबेको हो।

शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका अनुसार प्रवेश परिवारका एक्ला छोरा हुन्।

‘प्रवेश शारदाको एक चम्किलो तारा बन्ने आशा थियो,’ मेयर भण्डारीले भने, ‘पढाइमा अब्बल थियो। मृत्युको खबर सुनेर मन खिन्न भएको छ।’

प्रवेशका ४५ वर्षीय बुवा चक्रबहादुर भण्डारीले ज्याला मजदुरी गर्दै छोरा उच्च शिक्षासम्म पढाएका थिए।

‘म आज बिहान मात्रै उहाँको घर पुगेर सान्त्वना दिन खोजें,’ मेयर भण्डारीले भने, ‘यो परिवारमाथि परेको बज्रपात मात्रै नभई गाउँ माथि नै परेको बज्रपात जस्तो अनुभूति भइरहेको छ।’

चक्रबहादुरका अनुसार प्रवेश सानैदेखि पढाइमा अब्बल भएका कारण कक्षा एकदेखि बिएस्सी एजी पढ्दासम्म उनले शूल्क तिर्नु परेन। दाङको तुलसीपुरस्थित गोरखा उच्चमाविमा पढ्दा पनि प्रवेशले छात्रवृत्तिमै पढेका थिए।

‘बुवा-आमा अब तपाईंहरूका दुःखका दिन जानेछन्। म फर्किएर आएपछि कुनै ठाउँमा काम गर्छु, हाकिमसरह बन्छु भन्थ्यो,’ चक्रबहादुरले भने, ‘तपाईंहरूका लागि नयाँ घर बनाउने छु र सुखमा राख्छु भन्थ्यो। के भयो भयो!’

छोराको मृत्युको खबरपछि ४४ वर्षीया आमा चन्द्रिका र प्रवेशकी दिदी प्रतीक्षा भण्डारी अचेत अवस्थामा रहेको मेयर भण्डारीले बताए।

‘सुर्खेत विवाह भएकी प्रतीक्षालाई राति नै एम्बुलेन्सले ल्याएको हो,’ उनले भने, ‘आमा र छोरी अर्धचेत अवस्थामा हुनुहुन्छ सलाइन चढाउँदै आइएको छ।’

जे-जस्तो अवस्थामा भए पनि छोरा प्रवेशको शव जति हुन्छ छिटो घरसम्म ल्याइदिने वातावरण बनाइदिन बुवा चक्रबहादुरले आफूसँग अनुनय-विनय गरेको मेयर भण्डारीले बताए।

आनन्द साह

लक्ष्मिनिया-४ धनुषा

२३ वर्षीय आनन्द घरका एक्ला छोरा थिए। उनकी एक दिदी र दुई बहिनी छन्।

लक्ष्मिनिया-४ का वडाध्यक्ष रमेशकुमार साहका अनुसार गत शुक्रबार साँझ आनन्दले परिवारसँग कुरा गरेका थिए।

‘कुरा हुँदा उसले आफू सञ्चै रहेको बताएको थियो। बहिनीको खुटा दुखेको छ भनेपछि डाक्टरलाई देखाउनु भनेको थियो,’ आनन्दका छिमेकी मिथिलेश साहले भने,‘उनका बुवा घरबाहिर गएकाले कुरा भएको रहेनछ। हिजो बिहान यताबाट फोन गर्दा सम्पर्क नै भएन।’

आनन्दका बुवा सोमन साह १५ वर्षसम्म वैदेशिक रोजगारीमा गएका थिए। वडाध्यक्ष साहका अनुसार उनको आर्थिक अवस्था निकै कमजोर छ ।

‘बुढेसकाल लागेपछि विदेशबाट घर फर्केका थिए। थोरै जमिन छ त्यसमै खेतीपाती गरेर बस्छन्,’ वडाध्यक्ष साहले भने, ‘परिवार सम्हाल्नुपर्ने जिम्मेवारी पुरै आनन्दको काँधमा आइपुगेको थियो। उनी घरका पिलर थिए। तर पिलरै ढलेछ। अहिले पुरै टोल शोकमग्न छ।’

आशिष चौधरी

जोशीपुर-५ कैलाली

कैलालीको जोशीपुर-५ का आशिष चौधरीको घरा ताला लागेको छ। इजरायलमा भएको हमलामा परेर आशिषको मृत्यु भएको खबर आएको छ। भारतको बैंगलुरूमा रहेका उनका आमाबुबालाई त्यो खबर कसरी सुनाउने आफन्तहरू पीरमा छन्।

आशिषका बुबाले जोशीपुर बजारमा पसल चलाउन केही वर्षअघि १० लाख जति ऋण लिएका थिए। छोरालाई बिएस्सी एजी पढाउन खर्च लागेपछि पसलको ऋण तिर्न बुबाले सकेनन्। छोरा टीकापुरमा डेरा गरेर पढ्दै गर्दा आशिषका आमाबुबा पसल बेचेर घरमा ताला लगाई भारतको बैंग्लुरू गएका थिए।

‘ऋण तिर्न भनेर बुबाआमा भारत गएका बेला इजरायल जाने अवसर आयो भनेर भान्जा खुसी भएका थिए, कमाइ पनि होला र ऋण कर्जा तिरौंला भनेर विदेश गएका थिए, एक महिना नपुग्दै यस्तो खबर आएको छ,’ आशिषका मामा विनोद चौधरीले भने।

सोमबार बिहान जोशीपुर इलाका प्रहरी कार्यालयबाट पनि आएर आफन्तसित सोधपुछ गरेर गएका उनले बताए।

आशिषकी दिदी विवाहपछि धनगढी बस्दै आएकी छन्। आफन्तले इजरायलमा भएका अरूलाई पनि सम्पर्क गर्न खोजेका छन् तर भएको छैन।

आशिषको मृत्युबारे उनका बुबालाई जानकारी गराइएको छ। आमालाई पनि शंका भएको छ तर नभन्नु भनेको बिनोदले बताए।

‘मलाई छोरासित कुरा गराइदेउ भन्दैछन्, आक्रमण भएर टावर ध्वस्त भएकाले सम्पर्क भएके छैन, भनेको छु,’ उनले भने।

बैंगलुरूबाट आशिषका आमाबुबा सोमबार बेलुकाको हवाइजहाजबाट लखनउ र त्यहाँबाट गाडीमा धनगढी आउन लागेका छन्।

जोशीपुर गाउँपालिका-५ का वडा अध्यक्ष अनरकुमार चौधरीले २५ वर्षीय आशिष पढाइमा राम्रो र मेहेनती थिए।

विदेश गएको एक महिना नबित्दै यस्तो घटना भएपछि वडामा सबैलाई दु:खित बनाएको उनले बताए।

नारायणप्रसाद न्यौपाने

घोडाघोडी-४, कैलाली

कैलालीको घोडाघोडी नगरपालिका–४ मा रहेको नारायणप्रसाद न्यौपानेको परिवारमा आइतबार बेलुकासम्म अशान्ति थिएन। इजारायलको घटनाबारे विभिन्न शंका उब्जेर छटपटाहट भने भएकै थियो। कहीँ अप्रिय खबर पो आउँछ कि भन्ने पीर पनि थियो।

राति १० बजेतिर नारायणको परिवारसामु इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउनेको नाम भनेर लेखिएको सूची आयो। त्यसमा कैलालीको घोडाघोडी–४ मा जनकपुरका नारायणप्रसाद न्यौपानेको नाम पनि थियो।

त्यसमा लेखिएको भए पनि परिवारले नारायणको मृत्यु भएको विश्वास गर्न मानेका छैनन्। नारायणकी आमा सीतादेवीले ‘छोरासँग कुरा गर्न भिडिओ कल लगाइदेऊ’ भनिरहेकी छन्।

कालिकोटको कोटबाडाबाट बसाइ सरेर आएका न्यौपाने परिवारमा तीन छोरा एक छोरी छन्। वाइफाइमा पैसा सकिएकाले एक सातादेखि नारायणसँग कुरा हुन सकेको थिएन। त्यसअगाडि छोरासँग राम्रै छ भनेर कुरा भएको र खर्चपानी नभए दुई दिनपछि पठाउने कुरा नारायणले आमालाई भनेका थिए।

नारायण परिवारमा माइला छोरा हुन्। एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय पढ्न कञ्चनपुरको महेन्द्रनगर गएका थिए। महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भएको थियो। क्याम्पसले विदेश पठाउने खबर नाराणले नै परिवारलाई  सुनाएका थिए।

२५ वर्षीय नारायणले इजरायल जानुभन्दा पहिले छ महिना दार्चुलामा इन्टर्नसिप गरेका थिए। इजरायल जाँदा दुई लाख जति खर्च भएको उनको परिवारले जनाएको छ।

पदम थापा

आदर्श-५, डोटी

डोटी आदर्श गाउँपालिका- ५ का २४ वर्षीय पदम थापा भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिनाको कोर्सका लागि इजरायल पुगेका थिए।

बिएस्सी एजी स्नातकको परीक्षा दिएर कोर्सका लागि कलेज नै उनीहरूलाई त्यहाँ पठाएको पदमका दाइ भीम थापाले जानकारी दिए।

‘परीक्षाको नतिजा आउन ११ महिना लाग्ने भएकाले त्यो अवधिमा सिक्नका लागि कलेजले पठाएको थियो,’ उनले भने, ‘पदम नेपालमै सरकारी जागिर गर्न चाहन्थ्यो।’

पदम टीकाराम थापा र कैमती थापाका कान्छा छोरा हुन्। उनका दुई दाजु र एक दिदी छन्।

जेठो दाजु दानबहादुर गाउँपालिकामा इन्जिनियर छन्।  पदमको पनि लोकसेवा पढेर स्वदेशमै काम गर्ने योजना थियो।

‘घटना भएको दिन अन्तिमपल्ट उसको एउटा म्यासेज आएको थियो। दिउँसो १ बजेर ४५ मिनेटमा ‘म मरें’ भनेर मात्र लेखिएको थियो,’ भीमले भने।

पदमले जेठी भाउजुको नम्बरमा म्यासेज गरेका थिए। त्यसपश्चात उनीसँग कुनै कुरा हुन नसकेको भीम बताउँछन्।

उनले भने, ‘११ महिनाको तालिम सकेर स्वदेशमा केही काम गर्ने योजना बनाएर गएको थियो, बाकसमा फर्किने भयो।’

उनको मृत्युबारे बुबा टीकारामलाई अझै जानकारी दिइएको छैन। अपहरणमा परेका छन् भन्ने सुनेर नै बेहोस भएकाले उनलाई जानकारी नगराइएको भीमले बताए।

आइतबारदेखि बेहोस भएका टीकारामलाई दिपायल अस्पताल पुर्‍याइएको थियो। सोमबार दिउँसो घर फर्काउने तयारी भइरहेको उनले जानकारी दिए।

राजन फुलारा

शिखर-६ डोटी

राजन फुलारा शिखर नगरपालिका–६ चुडी गाउँमा जन्मिएका हुन्। उनी यहीको सरस्वती माध्यमिक विद्यालयमा एसएलसीसम्म अध्ययन गरेका हुन्। मेधावी छात्र भएकाले कृषिमा रूची राखे। उनी टीकापुरको कृषि क्याम्पसमा अध्ययन गरिरहेका थिए।

उनी २३ वर्षका थिए।

शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरका अनुसार उनी परिवारका एक्ला छोरा हुन्। उनकी दुई दिदीको विवाह भइसकेको छ। परिवारमा एक जना बूढी हजुरआमा हुनुहुन्छ। बुवाआमा पनि वृद्ध भइसक्नु भएको छ।

‘अहिले जसरी हुन्छ शव ल्याइदेऊ भनेर छाती पिटीपिटी रोइरहनु भएको छ,’ मेयर बलायरले भने,‘हामी निरूपाय छौं। अहिले प्रमुख जिल्ला अधिकारीलगायतको टोली पनि जिल्लाबाट आउँदै हुनुहुन्छ।’

राजेशकुमार स्वर्णाकर

बराहक्षेत्र- ११ सुनसरी

राजेशकुमार स्वर्णाकर परिवारका साइँला सन्तान हुन्। २३ वर्षका उनले गाउँबाटै उच्च शिक्षा पूरा गरेका हुन्। पछिल्लो समय उनी एक वर्षे कोर्सको लागि सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा भर्ना भएका थिए।

बराहक्षेत्र नगरपालिका ११ का वडाध्यक्ष श्रीकृष्णकुमार महतोका अनुसार केही समय अघिसम्म उनले परिवारसँग कुरा गरिरहेका थिए।

‘परिवा֥रसँग पनि कुराकानी भइरहने रहेछ। अचानक हिजो बिहान त्यस्तो घटना भयो,’ वडाध्यक्ष महतोले भने,‘अहिले परिवारमा रूवाबासी छ।’

राजेशकुमारका दुई दाजु इन्जिनियर छन्। एक जना नगरपालिकामा काम गर्छन्। अर्को निजी संस्थामा कार्यरत छन्। उनका बुवा कोशी गाउँपालिकाभित्र पर्ने खानेपानी कार्यालयमा काम गर्छन्।

(काठमाडौंमा अक्षर काका र सरिशा अछामी, कैलालीमा सविता बुढा, दाङमा नारायण खड्का, धनुषामा रोहित महतो र सुनसरीमा राजु अधिकारी।)